शिक्षक नियुक्तिमा ७ लाख लेनदेन भएको आरोप, जिराभवानीमा छानबिनको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
शिक्षक नियुक्तिमा ७ लाख लेनदेन भएको आरोप, जिराभवानीमा छानबिनको माग

वीरगञ्ज, ०४ असोज । पर्साको जिराभवानी गाउँपालिकास्थित श्री ने रा मा वि सेडवा विर्तामा निम्न माध्यमिक तह (नि.मा.वि.) राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक चलखेल भएको आरोप लागेको छ। शिक्षक नियुक्ति प्रक्रियामा परीक्षार्थीसँग रकम लिएको दाबी गर्दै जिराभवानी गाउँपालिकाका युवा समाजले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

विद्यालयमा शिक्षक नियुक्तिका लागि शनिबार ३ गते परीक्षा सञ्चालन गरिएको थियो। परीक्षार्थीहरूले सम्बन्धित निकायमा दिएको निवेदनमा विद्यालयका प्रधानाध्यापक खेमराज प्रसाद महतोले परीक्षा हुनुभन्दा करिब तीन महिनाअघि नै एक परीक्षार्थीसँग शिक्षक नियुक्तिका लागि ६ लाख रुपैयाँ रकम लिएको दाबी गरिएको छ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक महतोबाट समेत १ लाख रुपैयाँ रकम लिइएको जानकारी आफूहरूले पाएको जिराभवानी गाउँपालिकाका युवा समाजको दाबी छ।

शिक्षक नियुक्तिका लागि रकमको लेनदेन भएको र त्यसले नियुक्ति प्रक्रियालाई प्रभावित पार्न सक्ने भन्दै युवा समाजले घटनाको छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेको हो।

युवा समाजले दिएको निवेदनमा शिक्षक नियुक्तिका क्रममा रकम लिइएको वा नलिइएको विषयमा अनुसन्धान गर्न, सम्भावित आर्थिक कारोबारको विवरण परीक्षण गर्न तथा आरोप पुष्टि भएमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।

त्यसैगरी, शिक्षक नियुक्तिका लागि सञ्चालन गरिएको परीक्षाको प्रक्रिया, परीक्षा सञ्चालनसम्बन्धी निर्णय, उत्तरपुस्तिका तथा मूल्यांकन प्रक्रिया र नियुक्तिसँग जोडिएका आर्थिक कारोबारसमेत निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने माग गरिएको छ।

शिक्षक नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्दै योग्य उम्मेदवारको निष्पक्ष छनोट सुनिश्चित गर्न स्थानीय तह तथा सम्बन्धित शिक्षा निकायको ध्यानाकर्षण गराइएको युवा समाजले जनाएको छ।

यता, प्रधानाध्यापक खेमराज प्रसाद महतो र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक महतोमाथि लगाइएको रकम लेनदेनसम्बन्धी आरोपबारे उनीहरूको प्रतिक्रिया भने समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन।

शिक्षक नियुक्तिका क्रममा रकम लेनदेन भएको भन्ने आरोपको सत्यतथ्य भने सम्बन्धित निकायबाट हुने छानबिन तथा अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस