सखुवाप्रसौनी अध्यक्ष यादव पक्राउ, एमाले नेतृत्व र जनप्रतिनिधिको मौनतामाथि प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (२ घण्टा अघि)
  • ३७ पटक पढिएको
सखुवाप्रसौनी अध्यक्ष यादव पक्राउ, एमाले नेतृत्व र जनप्रतिनिधिको मौनतामाथि प्रश्न

वीरगञ्ज, २२ भदौ। पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जशवन्त यादव पक्राउ परेको घटनालाई लिएर जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलबाट अहिलेसम्म सार्वजनिक रूपमा स्पष्ट धारणा नआएपछि पर्साको राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ ।

पर्सामा वीरगञ्ज महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिकासहित १४ वटा स्थानीय तह छन् । तीमध्ये एक गाउँपालिकाका निर्वाचित अध्यक्ष पक्राउ पर्दासमेत उनका सहकर्मी स्थानीय तहका प्रमुखहरूबाट औपचारिक प्रतिक्रिया नआउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यादव पक्राउ परेको विषयमा जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, पक्राउको आधार र आरोपबारे स्पष्ट पार्नुपर्ने वा अनुसन्धान निष्पक्ष हुनुपर्ने विषयमा समेत अहिलेसम्म सार्वजनिक रूपमा कुनै ठोस धारणा राखेका छैनन् ।

यादवका परिवारका तर्फबाट समेत घटनाबारे अहिलेसम्म औपचारिक धारणा सार्वजनिक भएको छैन । एक निर्वाचित जनप्रतिनिधि पक्राउ पर्दा परिवार, सहकर्मी जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वबाट समेत प्रतिक्रिया नआउनुले घटनालाई लिएर विभिन्न अड्कलबाजीलाई थप बल दिएको छ ।

अझ चासोको विषय, नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष यादव पक्राउ पर्दासमेत उनको आफ्नै पार्टीले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । यसले आफ्नै पार्टीका जन निर्वाचित प्रतिनिधिको पक्राउप्रति एमाले नेतृत्व किन मौन छ भन्ने प्रश्नसमेत उठाएको छ ।

सामान्यतः आफ्ना निर्वाचित जनप्रतिनिधि पक्राउ पर्दा राजनीतिक दलहरूले घटनाबारे धारणा सार्वजनिक गर्ने, आरोपको प्रकृति स्पष्ट पार्न माग गर्ने वा अनुसन्धान निष्पक्ष हुनुपर्ने बताउने गरेका छन् । तर यादवको हकमा पार्टी नेतृत्वदेखि स्थानीय तहका प्रमुखसम्म देखिएको मौनताले पर्साको राजनीतिक वृत्तमा चासो बढाएको छ ।

यद्यपि, यादवमाथि लागेको आरोप हालसम्म प्रमाणित भइसकेको छैन । पक्राउ र अनुसन्धानकै आधारमा उनलाई दोषी ठहर गर्न मिल्दैन । प्रहरीले अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाउने र अन्तिम निर्णय न्यायिक प्रक्रियाबाटै हुने भएकाले आरोपको निष्कर्ष अदालतको निर्णयपछि मात्र लाग्नेछ ।

तर घटनाले अहिले एउटा महत्त्वपूर्ण राजनीतिक प्रश्न भने खडा गरेको छ—एक जन निर्वाचित गाउँपालिका अध्यक्ष पक्राउ पर्दा पर्साका अन्य स्थानीय तहका प्रमुखहरू किन मौन छन्  ?

आफ्नै पार्टीबाट निर्वाचित अध्यक्ष पक्राउ पर्दा एमालेले किन औपचारिक धारणा सार्वजनिक गरेको छैन ? परिवार, सहकर्मी जनप्रतिनिधि र पार्टी नेतृत्वको मौनता सामान्य राजनीतिक संयोग मात्रै हो वा यसको पछाडि कुनै कारण छ भन्ने विषयमा अहिले पर्साको राजनीतिक वृत्तमा बहस सुरु भएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस