
पर्सा, ०३ भदौ। पर्साको सखुवा प्रसौनी गाउँपालिका–३, सखुवा प्रसौनीमा दिनदहाडै काठ ओसारपसार भइरहेको आरोपपछि वन तथा प्रहरी प्रशासनको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठेको छ।
स्थानीयका अनुसार बिहानै मुसहरपट्टीको बाटो हुँदै दुई जना व्यक्तिले काठ लिएर अहिरपट्टीस्थित सुदामा स–मिलतर्फ प्रवेश गरेका थिए। काठ ओसारपसार भइरहेको देखेपछि स्थानीयले घटनाबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए।
स्थानीयबाट सूचना पाएपछि सञ्चारकर्मीले तत्काल सब–डिभिजन वन कार्यालय रंगपुर टाडीँ र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीलाई घटनाबारे जानकारी गराएका थिए।
सूचना पाएलगत्तै वन कार्यालयको टोली घटनास्थलमा पुगे पनि खोजतलासका क्रममा काठ बरामद गर्न सकेन। वन कार्यालयका अनुसार मिल सञ्चालकले एक व्यक्तिले काठ लिएर आएको र पछि उक्त काठ फिर्ता पठाइएको जानकारी दिएका थिए।
यता, घटनाबारे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक सुमन्न्त अधिकारीलाई समेत जानकारी गराइएको थियो। जानकारी पाएपछि प्रहरीले दुई जना प्रहरी र एक जना सादा पोशाकका प्रहरीलाई घटनास्थलतर्फ परिचालन गरेको बताइएको छ।
तर प्रहरी टोली परिचालन हुँदासमेत घटनामा प्रयोग भएको भनिएको काठ बरामद हुन नसकेपछि प्रहरीको निगरानी र कार्यसम्पादनमाथि प्रश्न उठेको छ। सबैभन्दा गम्भीर प्रश्न भनेको घटनाबारे तत्काल प्रहरी र वन कार्यालयलाई जानकारी गराउँदा समेत काठ नियन्त्रणमा लिन सुरक्षा निकाय किन सफल भएन ? भन्ने हो।
काठ ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले तत्काल खोजी, निगरानी र आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। तर सूचना पाएर टोली परिचालन हुँदासमेत काठ फेला नपर्नुले घटनालाई थप शंकास्पद बनाएको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार दिनदहाडै काठ ओसारपसार भइरहेको आरोप लाग्नु र त्यसबारे सुरक्षा निकायलाई समयमै जानकारी गराउँदा समेत काठ बरामद नहुनुले घटनाको वास्तविकता थप गम्भीर ढंगले खोजिनुपर्ने देखिन्छ।
काठ कहाँबाट ल्याइएको थियो? कसले ल्याएको थियो? कहाँ लैजान लागिएको थियो? काठ वैध थियो वा अवैध? र प्रहरी तथा वन कार्यालयलाई सूचना दिइसकेपछि पनि त्यो काठ कहाँ पुग्यो?
घटनापछि स्थानीयस्तरमा प्रहरी तथा सुरक्षा निकायसँग मिलेमतो भएको आशंकासमेत व्यक्त हुन थालेको छ। यद्यपि, प्रहरी वा सुरक्षाकर्मीको मिलेमतो भएको आरोपको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।
तर सूचना पाएपछि प्रहरी र वन कार्यालयका टोली परिचालन भएको अवस्थामा समेत काठ बरामद हुन नसक्नुले वन संरक्षण र अवैध काठ ओसारपसार नियन्त्रणमा सम्बन्धित निकायको भूमिका कति प्रभावकारी छ ? भन्ने प्रश्न भने उठाएको छ।
अब सम्बन्धित निकायले टोली परिचालन गरेको विवरण मात्रै सार्वजनिक गर्ने कि काठको वास्तविक स्रोत, ओसारपसारमा संलग्न व्यक्ति र काठ कहाँ पुग्यो भन्ने तथ्य पनि सार्वजनिक गर्ने भन्ने चासो स्थानीयमा बढेको छ।
वन संरक्षणको जिम्मेवारी पाएका निकायलाई सूचना दिँदा पनि यदि काठ नियन्त्रणमा आउँदैन भने आखिर काठ तस्करी नियन्त्रण गर्ने संयन्त्र कहाँ चुकिरहेको छ ? भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।
