सञ्जु साह: राष्ट्रिय गौरव संरक्षणका लागि गण्डक चेकपोस्टमा नयाँ झण्डा स्थापना

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २१, आईतबार (२ महिना अघि)
  • ७५ पटक पढिएको
सञ्जु साह: राष्ट्रिय गौरव संरक्षणका लागि गण्डक चेकपोस्टमा नयाँ झण्डा स्थापना

वीरगञ्ज, २१ असार। बारा–पर्सा जोड्ने कलैया–वीरगञ्ज सडकखण्डस्थित गण्डक चेकपोस्टमा लामो समयदेखि च्यातिएको अवस्थामा रहेको राष्ट्रिय झण्डालाई शनिबार नयाँ झण्डाले प्रतिस्थापन गरिएको छ। युवा समाजसेवी तथा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा प्रत्याशी सञ्जु साहको नेतृत्वमा स्थानीय युवाहरूले नयाँ राष्ट्रिय झण्डा स्थापना गरेका हुन्।

नयाँ झण्डा स्थापना गर्दै सञ्जु साहले भारत–नेपाल सीमावर्ती महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको गण्डक चेकपोस्टबाट दैनिक रूपमा स्वदेशी तथा भारतीय नागरिक तथा पर्यटकहरूको आवागमन हुने भएकाले यहाँ फहराइने राष्ट्रिय झण्डाले नेपालको पहिचान, राष्ट्रिय गौरव तथा शान्तिको सन्देश प्रवाह गर्ने बताए।

उनले राष्ट्रिय झण्डा नेपालीको स्वाभिमान, राष्ट्रिय एकता र सार्वभौमिकताको प्रतीक भएको उल्लेख गर्दै यसको सम्मान र संरक्षण गर्नु प्रत्येक नागरिकको साझा दायित्व रहेको बताए। लामो समयदेखि च्यातिएको झण्डा देख्दा दुःख लागेको र त्यसैले स्थानीय युवाहरूको सहकार्यमा नयाँ झण्डा स्थापना गरिएको उनको भनाइ थियो।

कार्यक्रममा परवानीपुर गाउँपालिका–५ का वडाध्यक्ष रामेश्वर साह कलवार, इलाका प्रहरी कार्यालय प्रसौनीका सुरक्षाकर्मी, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, महासचिव त्रिलोक प्रताप सिंह, वरिष्ठ सदस्य सरोजकुमार यादव, पत्रकार अनिल गुप्ता, कृष्णा साह, लालबाबु यादव, रणजित साह, पूर्व वडा अध्यक्ष बैजु गुप्ता तथा स्थानीय युवा र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित सहभागीहरूले राष्ट्रिय झण्डाको सम्मान, संरक्षण तथा यसको गरिमालाई कायम राख्न प्रत्येक नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय प्रतीकहरूको नियमित संरक्षण आवश्यक रहेको पनि बताएका थिए।

कार्यक्रममा नयाँ राष्ट्रिय झण्डा स्थापना कार्य सफल बनाउन नामोजि गुप्ताले विशेष भूमिका निर्वाह गरेको भन्दै सहभागीहरूले उनको योगदानको समेत प्रशंसा गरेका थिए। आयोजनामा सहभागी युवाहरूले आगामी दिनमा पनि राष्ट्रिय गौरवसँग जोडिएका यस्ता सामाजिक तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस