सभापति थापा र खड्काबीच ‘वान टु वान’ वार्ता : कांग्रेस विवाद समाधानतर्फ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २१, आईतबार (२ दिन अघि)
  • ४५ पटक पढिएको
सभापति थापा र खड्काबीच ‘वान टु वान’ वार्ता : कांग्रेस विवाद समाधानतर्फ

वीरगञ्ज, २१ भदौ। नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ ‘वान टु वान’ भेटवार्ता भएको छ।

दुवै नेताको पक्षले भेटवार्ता भएको पुष्टि गर्दै छलफल सकारात्मक दिशातर्फ अघि बढेको जनाएको छ। स्रोतका अनुसार भेटमा खड्काले राख्दै आएका मागप्रति सभापति थापा सकारात्मक देखिएका छन्।

खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका तथा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यलाई अद्यावधिक नगरिएको कारण देखाएर महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने अडान राख्दै आएका छन्। सबै क्रियाशील सदस्यले महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको माग छ।

त्यस्तै, १४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरूलाई पनि विशेष महाधिवेशनमा समेटिनुपर्ने खड्काको अर्को माग छ। यी विषयमा सभापति थापा सकारात्मक रहेको स्रोतहरूको दाबी छ।

यसैबीच, सभापति थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार बिहान ११ बजे भेटवार्ता हुने भएको छ। भेटमा डा. कोइरालाले पार्टीभित्रको एकता कायम राख्न अघि सारेका प्रस्तावबारे छलफल हुने बताइएको छ।

डा. कोइरालाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।

त्यसैगरी, १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बन्ने केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने, कार्यसम्पादन समितिमा सभापतिको बहुमत हुने गरी गठन गर्ने तथा निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायतका समिति आपसी सहमतिमा गठन गर्नुपर्ने प्रस्ताव डा. कोइरालाको छ।

यी प्रस्तावमा निवर्तमान कार्यवाहक सभापति खड्काको समेत सहमति रहेको कांग्रेस नेताहरूले बताएका छन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि विभिन्न नेतासँग भेटघाटमा रहेको जानकारी दिए। उनका अनुसार सभापतिले केही नेतासँग भेट गरिसकेका छन् भने केहीसँग भेटवार्ता जारी छ।

प्रवक्ता चालिसेले सहमतिको सम्भावना प्रबल रहेको बताए। सभापतिले नेताहरूसँग गरेका भेटघाट र छलफलमा भएका विषयबारे आइतबार दिउँसो १ बजे बस्ने कार्यसम्पादन समिति बैठकमा जानकारी गराइने उनले बताए।

‘विवाद समाधानका लागि सभापतिज्यूले केही नेताहरूलाई भेटिसक्नुभयो । केहीसँग भेट्दै हुनुहुन्छ,’ चालिसेले भने, ‘भेटमा के–के कुरा भयो भन्नेबारे आज कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ हुन्छ।’

पार्टीभित्र सहमति जुटेमा भदौ २४ गतेका लागि तय गरिएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन केही समय पछि सर्न सक्ने संकेतसमेत प्रवक्ता चालिसेले गरेका छन्। वडा अधिवेशनको मिति सार्ने वा नसार्नेबारे निर्णय कार्यसम्पादन समिति बैठकबाट हुन सक्ने बताइएको छ।

कांग्रेसभित्र पछिल्लो समय १५औँ महाधिवेशनको तयारी, क्रियाशील सदस्यता तथा विशेष महाधिवेशनपछि पार्टी संरचनाको व्यवस्थापनलगायत विषयमा मतभेद देखिँदै आएको छ। पछिल्ला भेटवार्ता र छलफलले भने विवाद समाधानका लागि सहमतिको वातावरण बन्न थालेको नेताहरूको दाबी छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस