सरकारी अस्पतालमा ठूलो अनियमितता, ९ करोडभन्दा बढीको एक्स्पायर औषधी फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २, शनिबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
सरकारी अस्पतालमा ठूलो अनियमितता, ९ करोडभन्दा बढीको एक्स्पायर औषधी फेला

वीरगञ्ज, ०२ जेठ। वीरगञ्जस्थित नारायणी अस्पतालसहित देशभरका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधी तथा स्वास्थ्य सामग्रीको ठुलो परिमाणमा म्याद समाप्त भएको पाइएको छ ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा औषधी खरिद, व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही भएको उजागर गरेको हो ।

प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा कुल ९ करोड १७ लाख रुपैयाँ बराबरको औषधीजन्य मालसामान तथा कीट म्याद समाप्त भई प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन् । स्वास्थ्य सेवा विभागमा मात्रै विगतमा खरिद गरिएका ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरको २८ प्रकारका औषधीहरूको म्याद समाप्त भएको छ ।

त्यस्तै, वीर अस्पतालमा १ करोड ४३ लाख ७५ हजार रुपैयाँ बराबरको ६०१ प्रकारका औषधी तथा सामग्रीको म्याद समाप्त भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरको, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ करोड २३ हजार रुपैयाँ बराबरको र राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार रुपैयाँ बराबरको औषधी तथा सामग्री म्याद नाघेर प्रयोग गर्न अयोग्य भएका छन् ।

महालेखा परीक्षकको प्रतिवेदनले आपूर्तिकर्तासँगको सम्झौतामा म्याद समाप्त भएका, टुटे फुटेका वा बढी मौज्दात रहेका औषधीहरू आपूर्तिकर्ताबाट नै प्रतिस्थापन गर्नुपर्ने प्रावधान रहेको औँल्याएको छ । तर, स्वास्थ्य संस्थाहरूले यो व्यवस्था लागू नगर्दा राज्यको ठुलो लगानी खेर गएको छ ।

“स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधीको म्याद समाप्त भएमा, टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार उक्त औषधी आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्दछ,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

घटनाले सरकारी स्वास्थ्य संस्थाहरूको औषधी व्यवस्थापन प्रणाली कमजोर रहेको देखाएको छ । म्याद सकिएका औषधीहरूले बिरामीको स्वास्थ्यमा थप जोखिम निम्त्याउन सक्ने भएकाले स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायले तत्काल सुधारका लागि कदम चाल्नुपर्ने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस