साइमेक्स इंकको स्पष्टोक्ति : कर छली नभएको, सबै प्रक्रिया कानुनसम्मत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २२, शुक्रबार (४ दिन अघि)
  • ४३ पटक पढिएको
साइमेक्स इंकको स्पष्टोक्ति : कर छली नभएको, सबै प्रक्रिया कानुनसम्मत

वीरगञ्ज, २२ जेठ। बीवाइडी गाडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले प्रचलित कानुन र भन्सार प्रक्रियाअनुसार नै विद्युतीय सवारीसाधन आयात गरेको स्पष्ट पारेको छ । बजेटअघि ठुलो सङ्ख्यामा गाडी भित्र्याएर कर छली गरेको आरोप लागेपछि कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आरोप निराधार भएको जनाएको हो ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा करका दर घटाउने सूचना पहिले नै पाएर ठुलो परिमाणमा गाडी आयात गरिएको भन्ने आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले आफू कानुनको पालना, पारदर्शिता तथा नैतिक व्यावसायिक अभ्यासप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

कम्पनीका अनुसार कोरला नाकाबाट जेठ १२ र १३ गते ६४९ वटा तथा रसुवा नाकाबाट जेठ ४ देखि १३ गतेसम्म ४७२ वटा गाडी आयात गरिएको थियो । यसबाहेक थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगे पनि हालसम्म जाँचपास प्रक्रिया सम्पन्न नभएको जनाएको छ ।

करका दर जेठ १४ गते राति तय गरिएको र करको दर कति बढ्छ भन्ने विषय पूर्वनिर्धारित नहुने कम्पनीले स्पष्ट पारेको छ । गाडी आयात प्रक्रिया तत्काल सम्भव नहुने भन्दै कम्पनीले अर्डरका आधारमा उत्पादन, एलसी खोल्ने प्रक्रिया, ढुवानी व्यवस्थापन लगायतका चरण पूरा गर्न लामो समय लाग्ने जनाएको छ ।

‘यी सम्पूर्ण आयात कार्य बीवाइडीको उत्पादन तालिका, ढुवानी उपलब्धता, नियमित व्यावसायिक योजना तथा यातायात व्यवस्थापनसम्बन्धी चुनौतीलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजिएको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः असत्य र निराधार छन् ।’

साइमेक्स इंकले कुनै पनि चरणमा विशेष सुविधा वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यसका लागि आग्रह नगरेको दाबी गरेको छ । आयातसम्बन्धी सम्पूर्ण गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा प्रचलित कानुनका आधारमा सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।

साथै कम्पनीले छानबिनलाई स्वागत गर्दै आवश्यक परे आयातसम्बन्धी रेकर्ड, भन्सार घोषणा विवरण, ढुवानी अभिलेख, सीमा प्रवेश कागजात, भुक्तानी विवरण तथा जाँचपास स्वीकृतिसम्बन्धी दस्ताबेज सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस