सुस्त अर्थतन्त्रलाई गति दिने लक्ष्यसहित शुक्रबार ४ बजे बजेट ल्याइँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १४, बिहिबार (१० घण्टा अघि)
  • ५२ पटक पढिएको
सुस्त अर्थतन्त्रलाई गति दिने लक्ष्यसहित शुक्रबार ४ बजे बजेट ल्याइँदै

वीरगञ्ज, १४ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट जेठ १५ गते शुक्रवार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने भएका छन् । संसद् सचिवालयले बजेट प्रस्तुतिको समय निर्धारण भएको जनाएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि करिब २२ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । सुस्त बन्दै गएको अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको मनोबल उकास्ने तथा पुँजीगत खर्च विस्तार गर्ने लक्ष्यसहित बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

यस वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी पनि गरिएको छ । बढ्दो महँगी र कर्मचारी वृत्तबाट आएको दबाबलाई ध्यानमा राख्दै तलब समायोजनको गृहकार्य भइरहेको स्रोतको भनाइ छ । यद्यपि तलब वृद्धि कति प्रतिशत हुने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन ।

सरकारले यस पटक कर प्रणालीमा पनि केही महत्त्वपूर्ण परिवर्तन गर्ने सङ्केत दिएको छ । उद्योगी–व्यवसायीले उत्पादन, आयात, विद्युतीय सवारीसाधन, सूचना प्रविधि तथा साना एवं मझौला व्यवसायसँग सम्बन्धित कर संरचनामा सुधारको अपेक्षा गरेका छन् ।

निजी क्षेत्रले कमजोर माग, घट्दो लगानी र उद्योग व्यवसायमा आएको मन्दीका कारण अर्थतन्त्र दबाबमा परेको उल्लेख गर्दै राहतमुखी तथा लगानी प्रोत्साहन गर्ने बजेट ल्याउन सरकारसँग माग गर्दै आएको छ ।

व्यवसायीहरूले लगानीमैत्री वातावरण निर्माण, कर प्रणालीमा स्थायित्व, अनावश्यक प्रशासनिक झन्झट हटाउने व्यवस्था तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिने कार्यक्रम बजेटमा समेटिनुपर्ने बताएका छन् ।

निर्वाचनपछि बनेको शक्तिशाली बालेन नेतृत्वको सरकारप्रति सर्वसाधारणको अपेक्षा पनि उच्च देखिएको छ । रोजगारी सिर्जना, महँगी नियन्त्रण, सुशासन, विकास निर्माणको तीव्रता तथा सार्वजनिक सेवा प्रवाह सुधारलाई नागरिकले मुख्य प्राथमिकताका रूपमा हेरेका छन् ।

आर्थिक सुस्तता, राजस्व सङ्कलनमा आएको दबाब तथा बढ्दो सार्वजनिक अपेक्षाबिच आउने यस वर्षको बजेटलाई सरकारको आर्थिक दिशानिर्देशका रूपमा चासोका साथ हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस