सूची पठाए वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा सहयोग गर्न रुस तयार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ४, बिहिबार (१ घण्टा अघि)
  • ४९ पटक पढिएको
सूची पठाए वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा सहयोग गर्न रुस तयार

वीरगञ्ज, ०४ असार। उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभबीच बुधवार भेटवार्ता भएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–रुस द्विपक्षीय सम्बन्ध तथा सहयोग विस्तारका विविध विषयमा छलफल भएको हो ।

भेटका क्रममा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन रुसी पक्षबाट निरन्तर सहयोग रहने बताएका थिए । उनले नेपाल सरकारबाट औपचारिक अनुरोधसहित प्राथमिकता सूची प्राप्त भएमा वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानालगायतका औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालन योग्य बनाउन प्राविधिक तथा अन्य आवश्यक सहयोग गर्न रुस तयार रहेको उल्लेख गरे ।

वीरगञ्ज चिनी कारखाना करिब दुई दशकदेखि बन्द अवस्थामा छ भने जनकपुर चुरोट कारखाना पनि लामो समयदेखि ठप्प नै छ ।

राजदूत सुरोभत्सेभका अनुसार रुस नेपालसँग जलविद्युत्, कृषि आधुनिकीकरण, चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा, पूर्वाधार विकास र प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक छ । उनले ऊर्जा उत्पादन र प्रसारण, कृषि प्रशोधन उद्योग तथा दक्ष जनशक्ति विकासका क्षेत्रमा सहकार्यको सम्भावना औँल्याए ।

उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र तत्कालीन सोभियत सङ्घबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबिच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम रहँदै आएकोप्रति सन्तोष व्यक्त गरे । उनले यस वर्ष दुई राष्ट्रबिच कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुन लागेको उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको आधारमा विकसित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्ने बताए ।

“पछिल्लो समयमा दुई राष्ट्रबिच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपाल प्रसन्न छ । आगामी दिनमा द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुनेछ भन्ने विश्वास लिएको छु,” उपराष्ट्रपति यादवले भने ।

उपराष्ट्रपतिले रुसी महासङ्घको राष्ट्रिय दिवसका अवसरमा मैत्रीपूर्ण रुसी जनताको सुख, शान्ति र समृद्धिको कामना समेत व्यक्त गरेका थिए ।

नेपाल र रुसबिच विगतमा औद्योगिक तथा प्राविधिक सहकार्यका विभिन्न उदाहरणहरू रहेका छन् । सोभियत सङ्घको सहयोगमा स्थापना भएका केही उद्योग र प्राविधिक परियोजनाहरूले नेपालको औद्योगिक विकासमा योगदान पुर्‍याएका थिए । त्यस्तै, नेपाली विद्यार्थीहरूका लागि रुसी विश्वविद्यालयहरूमा छात्रवृत्ति प्रदान गर्दै शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

हालका वर्षहरूमा ऊर्जा, पर्यटन, व्यापार तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुँदै आएको छ । दुवै पक्षले पारस्परिक हितका क्षेत्रमा सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटवार्तालाई नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठको पूर्व सन्ध्यामा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रयासका रूपमा हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस