
वर्तमानकाल दैनिक
रौतहट, १४ असार ।
स्थानीय माछा उत्पादनको प्रवर्द्धन, मत्स्य किसानलाई प्रोत्साहन तथा माछाजन्य परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित स्थानीय माछा परिकार सहितको मेला, सहकार्यमा सञ्चालन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल मत्स्य सहकारी संस्था लिमिटेड चन्द्रपुर–८, रौतहटको आयोजनामा तथा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, सर्लाहीको सहयोग एवं नेपाल मत्स्य व्यवसायी संघ रौतहटको समन्वयमा चन्द्रपुरस्थित मरधर पार्कमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामअयोध्या यादव प्रमुख अतिथि, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सर्लाहीका वरिष्ठ अधिकृत डा. सुरेन्द्र यादव विशिष्ट अतिथि तथा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामअयोध्या यादवले मत्स्य व्यवसाय र स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले मत्स्य व्यवसायी संघ तथा सहकारीमार्फत आबद्ध किसानहरूको उत्पादन क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो। माछापालनका लागि आवश्यक दाना, औषधि, प्राविधिक सेवा तथा अन्य सामग्री समयमै उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
विशिष्ट अतिथि डा. सुरेन्द्र यादवले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले मत्स्य किसानको क्षमता विकासका लागि विभिन्न तालिम, प्राविधिक परामर्श तथा आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। उहाँले आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन लागत घटाउने र उत्पादन बढाउने विषयमा किसानलाई नियमित रूपमा प्रशिक्षण दिइँदै आएको बताउनुभयो।
डा. यादवले माछापालनका लागि पोखरीको आकार, पानीको व्यवस्थापन, माछाको जात छनोट तथा आवश्यक आहार (दाना) को मात्रा निर्धारण सम्बन्धी प्राविधिक जानकारी किसानलाई प्रदान गरिरहेको उल्लेख गर्नुभयो। साथै, विगतमा माछा खरिद–बिक्रीका क्रममा हुने नापतौलसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न डिजिटल तौल प्रणालीको प्रयोगलाई प्राथमिकता दिइएको बताउनुभयो। यसबाट किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने उहाँको विश्वास थियो।
त्यसैगरी चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले नगरभित्र रहेका मत्स्य किसानलाई थप प्रोत्साहन तथा सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। माछापालन व्यवसायलाई आयआर्जन र स्वरोजगारको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न स्थानीय सरकारले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो।
उहाँले स्थानीय स्तरमा उत्पादन हुने माछाबाट तयार गरिएका विभिन्न परिकारले उपभोक्तालाई आकर्षित गरेको उल्लेख गर्दै माछाको उत्पादन र बजारीकरणलाई अझ व्यवस्थित बनाउन किसानहरूलाई हौसला प्रदान गर्नुभयो। माछाजन्य परिकारको विविधीकरणले व्यवसाय विस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।
मेलामा स्थानीय किसान तथा उद्यमीहरूले उत्पादन गरेका विभिन्न जातका माछा तथा माछाबाट तयार गरिएका परिकारहरूको प्रदर्शनी गरिएको थियो। आगन्तुकहरूले स्थानीय माछाबाट बनेका विभिन्न परिकारको स्वाद लिनुका साथै माछापालन सम्बन्धी जानकारीसमेत प्राप्त गरेका थिए।
कार्यक्रममा मत्स्य व्यवसायी, सहकारीकर्मी, किसान, जनप्रतिनिधि, कृषि प्राविधिक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले माछापालन क्षेत्रको विकास, उत्पादन वृद्धि, बजारीकरण तथा किसानका समस्याबारे अन्तरक्रिया गर्दै विभिन्न सुझावसमेत प्रस्तुत गरेका थिए।
आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रमले स्थानीय उत्पादनको प्रवर्द्धन, किसानको हौसला अभिवृद्धि तथा मत्स्य क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
