
वीरगञ्ज, २६ साउन। पर्सामा प्रहरीले ५२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रदेश २-०३-००३ प७२१५ र ना५७प५१८२ नम्बरको मोटरसाइक खानतलासी गर्दा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २५ वर्षीय राहुतकुमार गुप्ता रहेका छन् ।
उनीहरुको साथबाट १००० दरका ४००५ थान, ५०० दरका २३५३, १०० दरका ६४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

