
वीरगञ्ज, ३२ असार। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हटाएर विदुषी राणालाई अर्थमन्त्री बनाउने प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसमक्ष राखेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री र रास्वपा सभापतिबीच भएको लामो छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, सरकारको कार्यसम्पादन तथा आर्थिक नेतृत्वका विषयमा विस्तृत संवाद भएको थियो। छलफलका क्रममा प्रधानमन्त्री शाहले अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राख्दै विदुषी राणाको नाम प्रस्ताव गरेका थिए।
यद्यपि, पार्टीभित्र तत्काल अर्थमन्त्री परिवर्तन गर्नु उपयुक्त नहुने धारणा राख्दै सभापति लामिछानेले उक्त प्रस्तावमा तत्काल सहमति नजनाएको स्रोतको दाबी छ। यस कारण मन्त्रिपरिषद् पुनर्गठनबारे अन्तिम निर्णयमा सहमति जुट्न नसकेको बताइएको छ।
यता, प्रधानमन्त्रीको सचिवालय, रास्वपा वा सम्बन्धित कुनै पनि पक्षले यस विषयमा हालसम्म औपचारिक रूपमा कुनै निर्णय वा धारणा सार्वजनिक गरेका छैनन्।
त्यसैले अर्थ मन्त्रालयको नेतृत्व परिवर्तन तथा सम्भावित मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी चर्चाहरू अहिले स्रोत-आधारित दाबीका रूपमा मात्रै रहेका छन्। यसबारे आधिकारिक निर्णय वा पुष्टि हुन अझै बाँकी छ।
