हरेक पदमा मतदान हुने, २० प्रतिशत मत कटाउनैपर्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १६, शुक्रबार (१६ घण्टा अघि)
  • ४३ पटक पढिएको
हरेक पदमा मतदान हुने, २० प्रतिशत मत कटाउनैपर्ने

काठमाडौं,१६ असोज।  जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। असोज ९ गते हुने भनिएको महाधिवेशन अविरल वर्षाका कारण स्थगित भएको थियो।

स्थगित भएको उक्त महाधिवेशन भोलिदेखि पर्साको वीरगञ्जमा हुँदैछ। महाधिवेशनबाट चयन हुने केन्द्रीय समितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ भने निर्वाचन प्रक्रिया असोज १७ गतेदेखि नै सुरु हुनेछ।

अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परेको छ भने बाँकी पदमा एकभन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन्। उपाध्यक्षका उम्मेदवार नरेन्द्र चौधरीका अनुसार अन्य पदहरूमा चुनाव हुने निश्चित भइसकेको छ। ‘महाधिवेशनमा दुई हजारभन्दा बढी मतदाता छन्, मतदाताको अन्तिम नामावलीबारे आज साँझ बस्ने कार्यकारिणी समितिको बैठकले टुङ्गो लगाउनेछ,’ उनले भने।

विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्ष पदमा डा. राउतको एक्लो उम्मेदवारी परे पनि निर्वाचन प्रक्रियाअनुसार मतदान हुनेछ। विधानअनुसार निर्वाचित हुन उनले पनि खसेको सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनैपर्नेछ।

सातजना उपाध्यक्षका लागि १४ जना र एकजना महासचिवका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, एकजना उपमहासचिवका लागि दुईजना र सातजना सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ। कार्यकारिणी समितिका सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन्।

उपाध्यक्षमा वसन्तकुमार कुशवाहा, अनिता साह, अनिता मण्डल, डा. जयकान्त राउत, नरेन्द्रप्रसाद चौधरी, माधवप्रसाद सिंह, राजकुमार यादव (त्यागी), डा. कमरुल्लाह अन्सारी, सञ्जयकुमार मिश्र, मदनेशकुमार चौधरी, परमेश्वर मुर्मु, रोशन खातुन, हरपाल सिंह सोडी र मनोहरी देवी बैठाले उम्मेदवारी दिएका छन्।

त्यस्तै, महासचिवमा चन्दन सिंह, ममता झा र सञ्जयकुमार यादवले उम्मेदवारी दिएका छन् भने उपमहासचिवमा निर्मलकुमार मण्डल र ललितचन्द्र मल्लिकले उम्मेदवारी दिएका छन्। सचिव पदमा सन्तोषकुमार सहनी, सुरेन्द्र शर्मा मधेसी, हरेन्द्र चौधरी, अञ्जनीदेवी, रोहित महतो, पारसप्रसाद साह, राधाकुमारी यादव, बालगोविन्द चौधरी, वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साहले उम्मेदवारी दिएका छन्।

निर्वाचनसम्बन्धी निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित हुनेछन्। बाँकी रहेका ५१ सिटमा समावेशी ढङ्गबाट मनोनीत गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्‍याइने बताइएको छ।

जनमत पार्टीका अनुसार महाधिवेशनबाट बढीमा १७ जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा अध्यक्ष एक, उपाध्यक्ष बढीमा सात, महासचिव एक, उपमहासचिव एक र सचिव बढीमा सातजना रहनेछन्। निर्वाचित हुन नसकेका वा रिक्त पदहरूमा पार्टी अध्यक्षले मनोनयन गर्न सक्ने निर्देशिकामा उल्लेख छ। साथै, कोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले नै मनोनीत गर्ने व्यवस्था छ।

निर्वाचनसम्बन्धी अन्य व्यवस्थाअनुसार कुनै पनि केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुन खसेको कुल मतको २० प्रतिशत मत ल्याउनैपर्नेछ। खुलातर्फ एउटा जिल्लाबाट बढीमा ५ जना मात्रै सदस्य निर्वाचित हुन सक्ने प्रावधान निर्देशिकामा छ। मतपत्रमा तोकिएको पद सङ्ख्याभन्दा बढीमा मत सङ्केत गरेमा माथिबाट क्रमशः आवश्यक उम्मेदवारको मत मात्र मान्य हुने बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस