११० किलो गाँजासहित सिराहामा तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १७, शनिबार (४ घण्टा अघि)
  • ३७ पटक पढिएको
११० किलो गाँजासहित सिराहामा तीन जना पक्राउ

सिराहा, १७ असोज।  सिराहाको औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा औरही गाउँपालिका-२ का ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका-५ का ३३ वर्षीय श्यामसुन्दर यादव रहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार उनीहरूले टाउकोमा बोकेर लैजाँदै गरेको अवस्थामा ६ बोरामा रहेको गाँजा बरामद गरिएको हो। उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार तस्करहरूले उदयपुर, र सिन्धुलीलगायत जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषध गाँजा खरिद गरी सिराहाका बलान, कमला, गागन र घुर्मीलगायत नदी तथा सीमावर्ती क्षेत्र हुँदै भारततर्फ तस्करी गर्ने गरेको पाइएको छ।

यसअघि दुई दिनअघि पनि सशस्त्र प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलाको पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको थियो। उक्त घटनामा ठुलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले पछिल्लो समय सिराहाका विभिन्न नदी तथा सीमावर्ती क्षेत्रलाई प्रयोग गरी भारततर्फ हुने लागूऔषध तस्करी नियन्त्रणमा निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस