१३ बुँदे माग राख्दै गरुडा नगरपालिकाका कर्मचारीले दिए ७ दिने अल्टिमेटम

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १४, बुधबार (३ हप्ता अघि)
  • १२६ पटक पढिएको
१३ बुँदे माग राख्दै गरुडा नगरपालिकाका कर्मचारीले दिए ७ दिने अल्टिमेटम

रौतहट ,१४ असोज।  गरुडा नगरपालिकामा कार्यरत स्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूको महिनौं देखि बाँकी रहेका तलब–भत्ता भुक्तानी लगायत विभिन्न माग राख्दै नगर कार्यपालिका समक्ष १३ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाए ।

कर्मचारीहरूले विगत देखि बाँकी बक्यौता तथा चालु आर्थिक वर्षको तलब–भत्ता दसैंअघि नै उपलब्ध गराउनुपर्ने माग गर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा करार कर्मचारीको म्याद यथाशीघ्र थप गरी पारिश्रमिक उपलब्ध गराउनुपर्ने, स्वीकृत दरबन्दी भित्रका करार कर्मचारीलाई घटाउन वा हटाउन नहुने तथा कर्मचारीका पोशाक, चाडपर्व र महँगी भत्ता समेत उपलब्ध गराउनुपर्ने माग अघि सार्दै ७ दिनको समय सीमा दिएका छन् ।

वडा कार्यालयमा कार्यरत वडा सचिवका लागि कार्यालय सञ्चालन खर्च उपलब्ध गराउनुपर्ने, नगरपालिकाको खर्च गर्ने अख्तियारी तथा बैंक खाता अविलम्ब सञ्चालन गर्नुपर्ने र स्वीकृत दरबन्दी अनुसार कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने माग उक्त ज्ञापन पत्रमा उल्लेख गरिएका हुन् ।
वडा तथा विषयगत शाखामा आवश्यकता अनुसार कर्मचारी व्यवस्थापन गर्नुपर्ने, ऐन, नियम तथा कार्यविधि अनुसार कार्यालयको कामकाज गर्ने वातावरण बनाउनुपर्ने र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने जोड दिइएको छ ।

कर्मचारीहरूले विगत देखिको कर्मचारी कल्याणकोष, बीमा लगायतका बाँकी रकम भुक्तानी समेत तत्काल उपलब्ध गराउनुपर्ने माग गरे । कर्मचारीहरूले आफ्ना माग सम्बोधनका लागि असोज १९ गतेसम्मको समयसीमा कार्यपालिकालाई दिएका छन् । उक्त अवधि भित्र माग सम्बोधन नभए थप शान्तिपूर्ण दबाबमूलक विरोधका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने ज्ञापनपत्र मार्फत चेतावनी दिए ।

कर्मचारीहरु आफूहरूले पटक–पटक मौखिक रूपमा समस्या र मागबारे ध्यानाकर्षण गराउँदै आए पनि ठोस पहल नभएको भन्दै ज्ञापनपत्रको माध्यमबाट लिखित रूपमा माग अघि सारेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस