१८ वर्षदेखि फरार दाइजो हत्या अभियुक्त अन्ततः पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २, शनिबार (६ दिन अघि)
  • ४९ पटक पढिएको
१८ वर्षदेखि फरार दाइजो हत्या अभियुक्त अन्ततः पक्राउ

सर्लाही, ०२ साउन। दाइजोको विवादका कारण एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर लामो समयदेखि फरार रहेका एक अभियुक्तलाई सिरहा प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बरियारपट्टी गाउँपालिका – ५ निवासी ६० वर्षीय रामनाथ रायलाई शुक्रबार आफ्नै गाउँबाट पक्राउ गरिएको हो। उनी २०६५ सालमा स्थानीय २५ वर्षीया चन्द्रिकादेवी रायको हत्या घटनामा संलग्न रहेको आरोपमा फरार रहेका थिए।

प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार २०६५ साल भदौ ३ गते बिहान करिब ९ बजे दाइजोको विषयलाई लिएर चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाले उनीमाथि धारिलो हतियारले आक्रमण गरेका थिए।

आक्रमणबाट गम्भीर घाइते भएकी चन्द्रिकालाई उपचारका लागि भारतको बिहारस्थित पटनामा लगिएको थियो। त्यहाँ उपचार सफल हुन नसकेपछि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका अभियुक्तमध्ये रामनाथ रायलाई लामो समयको खोजीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका रायमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस