
सर्लाही,१५ असोज। सर्लाहीमा गोली हानी हत्या गरेर फरार रहेका एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार २०६५ फागुन १२ गते जिल्ला सर्लाही साविक नेत्रगन्ज गाविस वडा नम्बर २ बस्ने विरेन पासवानको हत्यामा संलग्न रहेको आरोपमा लालबन्दी वडा नम्बर २ बस्ने इन्दल पासवान पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार वीरेन स्थानीय चिताइन मेला हेर्न भनी घरबाट निस्किएका थिए । राति १० बजे नेत्रगन्ज गाविस–२ स्थित खाली जग्गामा छातीमा गोली लागेर मृत अवस्थामा उनी फेला परेका थिए ।
उक्त घटनामा धनुषा, कपटोल स्थायी वतन भई सर्लाहीको साविक नेत्रगन्ज – २ हाल परिवर्तित लालबन्दी नगरपालिका–२ बस्ने उनै इन्दल समेतको संलग्नता रहेको खुल्न आएको थियो । तर वारदात मितिदेखि उनी फरार रहँदै आएका थिए ।
फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरसँगको समन्वयमा जिल्ला सर्लाही लालबन्दी नगरपालिका २ बाट पक्राउ गरी इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट अनुसन्धान गरी जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि सर्लाही करागार चलान गरिएको प्रहरी प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले बताए ।
उनका अनुसार पक्राउ परेका अभियुक्त पासवान यसअघि पनि हातहतियार खरखजना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भइ ६ वर्ष कैद र ६० हजार जरिवाना भुक्तान गरिसकेका छन् । उनीमाथि महोत्तरी र धनुषामा चोरी तथा डाँका मुद्दासमेत चलेको प्रहरीले जनाएको छ ।
