१ करोड २२ लाखको चेक दुरुपयोग आरोप, अग्रवालसहित दुई जनाविरुद्ध जाहेरी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १६, शुक्रबार (१६ घण्टा अघि)
  • ८४ पटक पढिएको
१ करोड २२ लाखको चेक दुरुपयोग आरोप, अग्रवालसहित दुई जनाविरुद्ध जाहेरी

वीरगञ्ज,१६ असोज।  वीरगञ्जस्थित स्वीट मार्ट फुड प्रालिका सञ्चालक शङ्करलाल मित्तलले आफ्ना पूर्व लेखापाल विनोदकुमार पटेल र व्यवसायी निरञ्जनकुमार अग्रवालविरुद्ध एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको चेक दुरुपयोग गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन खोजेको आरोपमा प्रहरीमा जाहेरी दिएका छन्।

मित्तलले बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिँदै उद्योगको खाताबाट जारी भएको हस्ताक्षरयुक्त खाली चेक पूर्व लेखापाल पटेलले फिर्ता नगरी अग्रवालको नाममा ठूलो रकम भरेर सिद्धार्थ बैंकमार्फत भुक्तानीका लागि प्रस्तुत गरेको र उक्त चेक अनादर भएको दाबी गरेका छन्।

मित्तलका अनुसार पटेलले आफूले विश्वासका आधारमा जिम्मा पाएका पुराना हस्ताक्षरयुक्त खाली चेक दुरुपयोग गरी अग्रवालसँगको मिलेमतोमा आर्थिक क्षति पुर्‍याउने उद्देश्यले चेक प्रयोग गरेको हुन सक्ने आशंका छ। उनले घटनाको गम्भीर अनुसन्धान गरी संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

पूर्व लेखापाललाई खाली चेक दिने गरिएको दाबी

जाहेरीमा उल्लेख भएअनुसार उद्योगबाट कामका लागि हटाइनुअघि पटेललाई मजदुरको ज्याला तथा दैनिक प्रशासनिक खर्चलगायत भुक्तानीका लागि विभिन्न बैंकका हस्ताक्षर गरिएका खाली चेकहरू विश्वासका आधारमा जिम्मा दिने गरिएको थियो।

महिला मजदुरहरूबाट पटेलको व्यवहारबारे गुनासो आएपछि २०८३ साउन २७ गते उनको पारिश्रमिक तथा हिसाब फर्छ्यौट गरी कामबाट हटाइएको मित्तलको दाबी छ। त्यस क्रममा पटेलले आफूलाई ‘तपाईंलाई देखाइदिन्छु’ भन्दै धम्की दिएकोसमेत मित्तलले जाहेरीमा उल्लेख गरेका छन्।

बैंकको सूचनापछि घटनाबारे जानकारी

मित्तलका अनुसार घटनाबारे आफूले २०८३ असोज ९ गते साँझ मोबाइलमा प्रभु बैंकबाट चेक अनादर भएको सूचना आएपछि जानकारी पाएका थिए।

त्यसपछि चेकको विवरण हेर्दा एक करोड २२ लाख ६६ हजार १२० रुपैयाँको चेक निरञ्जनकुमार अग्रवालको नाममा जारी भएको देखिएको र अग्रवालसँग पछिल्लो समय आफ्नो कुनै व्यावसायिक वा लेनदेन सम्बन्ध नरहेको मित्तलले बताएका छन्।

उनले पटेलसँग रहेका अन्य हस्ताक्षरयुक्त खाली चेकसमेत बरामद गरी घटनामा संलग्न व्यक्तिहरूको भूमिका अनुसन्धानबाट यकिन गर्न प्रहरीसँग माग गरेका छन्।

मित्तल र अग्रवालबीच यसअघि पनि कानुनी विवाद

मित्तल र अग्रवालबीच यसअघि पनि आर्थिक कारोबारसँग सम्बन्धित कानुनी विवाद भएको थियो। अग्रवालले ‘स्वीट मार्ट फुड इन्डस्ट्रिज’सँग मेशिनरी सामान खरिदका क्रममा आफूले ६० लाख ३२ हजार ५२० रुपैयाँभन्दा बढी भुक्तानी गरेको दाबी गर्दै रकम तथा ब्याज फिर्ताको मागसहित मुद्दा दायर गरेका थिए।

उक्त मुद्दामा पर्सा जिल्ला अदालतले सुरुमा अग्रवालको पक्षमा फैसला गरे पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जिल्ला अदालतको फैसला बदर गर्दै मुद्दा खारेज गरेको थियो।

त्यसविरुद्ध अग्रवाल सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गर्दै अग्रवालको पुनरावेदन दाबी नपुग्ने ठहर गरेको थियो।

सर्वोच्च अदालतको फैसलाअनुसार दुवै पक्षबीच २०७३ साउन २७ गते साझेदारी अन्त्य भई हिसाब–किताब चुक्ता भएको देखिएको थियो। त्यसपछि भएको मेशिन खरिदसम्बन्धी कारोबारलाई भने छुट्टै करारका रूपमा हेरिएको थियो।

यही पृष्ठभूमिमा अहिले मित्तलले अग्रवालको नाममा ठूलो रकमको चेक प्रस्तुत भएको विषयलाई लिएर प्रहरीमा आपराधिक अनुसन्धानको माग गर्दै जाहेरी दिएका हुन्।

मित्तलले प्रहरीले निष्पक्ष अनुसन्धान गरेमा घटनाको वास्तविकता स्पष्ट हुने बताएका छन्। उनले वर्षौंदेखि आफू र अग्रवालबीच बोलचाल, भेटघाट तथा फोन सम्पर्कसमेत नभएको दाबी गर्दै “वर्षौंदेखि बोलचाल, भेटघाट र फोन सम्पर्कसमेत नभएका निरञ्जनलाई मैले केबापत चेक दिने ?” भन्दै प्रश्न गरेका छन्।

यद्यपि, जाहेरीमा लगाइएका आरोपहरू हालसम्म प्रमाणित भएका छैनन्। चेक कसले भरेको हो, कसरी अग्रवालको नाममा पुग्यो, बैंकमा कसले प्रस्तुत गर्‍यो तथा पटेल र अग्रवालको वास्तविक भूमिका के थियो भन्ने विषय प्रहरी अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस