१ करोड ३० लाखको कृषि बजार र चिस्यान केन्द्र दुई वर्षदेखि अलपत्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
१ करोड ३० लाखको कृषि बजार र चिस्यान केन्द्र दुई वर्षदेखि अलपत्र

वीरगञ्ज, २२ भदौ। किसानहरूका उत्पादनको सङ्कलन, बिक्री वितरण तथा भण्डारणलाई व्यवस्थित बनाउने उद्देश्यले पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रङ्गपुरमा निर्माण गरिएको अत्याधुनिक कृषि बजार तथा चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा अलपत्र परेको छ ।

मधेस प्रदेश सरकारको सहयोगमा करिब १ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको कृषि बजार तथा चिस्यान केन्द्र औपचारिक उद्घाटन भएको लामो समय बितिसक्दा पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले उक्त कृषि बजार तथा चिस्यान केन्द्रको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा मन्त्री क्षेत्रीले मधेस प्रदेशलाई कृषि बीउबिजन उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको बताएका थिए । उनले पटेर्वा सुगौली गाउँपालिकालाई आगामी वर्ष प्रदेशकै उत्कृष्ट पालिका बन्ने गरी योजना बनाउनसमेत सुझाव दिएका थिए ।

स्थानीयवासी नौसाद आलमका अनुसार २०८१ फागुन ६ गते उद्घाटन गरिएको उक्त भवन अहिले नै जीर्ण तथा अस्तव्यस्त बन्दै गएको छ । निर्माण सम्पन्न भएर उद्घाटनसमेत भइसकेको संरचना प्रयोगविहीन हुँदा स्थानीय किसानले अपेक्षित लाभ लिन नसकेको उनको भनाइ छ ।

आलमले कृषि बजारप्रति गाउँपालिकाको ध्यान पुग्न नसकेको आरोप लगाउँदै करिब दुई वर्ष हुन लाग्दा पनि सञ्चालनमा नआउनु जिम्मेवार पक्षको लापरवाही भएको बताए । उनका अनुसार लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको संरचना प्रयोगमा नआउँदा राज्यको लगानीसमेत खेर जाने अवस्था देखिएको छ ।

आधुनिक कृषि बजारमा किसानहरूले उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपजको सङ्कलन र बिक्री वितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, सार्वजनिक शौचालय तथा कम्पाउन्ड वाल निर्माण गरिएको छ ।

त्यसैगरी कृषकलाई उत्पादन भण्डारणमा सहजता प्रदान गर्ने उद्देश्यले १९ लाख १९ हजार रुपैयाँको लागतमा एक मेट्रिक टन क्षमताको मिनी कोल्ड स्टोर (चिस्यान केन्द्र) समेत निर्माण गरिएको छ । महिला किसान तथा उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै केन्द्रभित्र स्तनपान कक्षसमेत निर्माण गरिएको छ ।

तर यति धेरै पूर्वाधार निर्माण भइसक्दा पनि सञ्चालन तथा व्यवस्थापनको स्पष्ट व्यवस्था नहुँदा कृषि बजार प्रयोगविहीन बनेको स्थानीयको गुनासो छ ।

किसानको उत्पादनलाई उचित मूल्य दिलाउने, बजारसम्म सहज पहुँच पुर्‍याउने तथा कृषि उपज सुरक्षित भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको संरचना लामो समयसम्म बन्द रहँदा सरकारी लगानीको सदुपयोगमाथि प्रश्न उठेको छ । स्थानीयले कृषि बजार तत्काल सञ्चालनमा ल्याई किसानलाई प्रत्यक्ष लाभ हुने वातावरण बनाउन गाउँपालिका तथा सम्बन्धित प्रदेश मन्त्रालयसँग माग गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस