
रौतहट,१७ असोज। रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि शुक्रबार साँझ करिब ७ः ४५ बजे संयुक्त चेकिङका क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा भारतको शिवहरि जिल्ला रामपुर भटहा थाना बस्ने मोहन गिरीका २२ वर्षीय छोरा करण कुमार गिरी र सोही स्थानका रामेश्वर रायका ३५ वर्षीय छोरा लालबाबु राय रहेका छन्।
भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय रुपैयाँ १ लाख ८ हजार ५ सय तथा एउटा मोबाइल बरामद भएको डीएसपी गौतमले बताएका छन्।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। डीएसपी गौतमका अनुसार बरामद रकमको स्रोत तथा उनीहरू नेपाल प्रवेश गर्नुको उद्देश्यबारे समेत आवश्यक अनुसन्धान भइरहेको छ।
