४१ वटै वडामा घण्टी हार्छ’ : रास्वपा सांसद चौधरीको भनिएको अडियो सार्वजनिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २७, मंगलबार (१७ घण्टा अघि)
  • ४२६ पटक पढिएको
४१ वटै वडामा घण्टी हार्छ’ : रास्वपा सांसद चौधरीको भनिएको अडियो सार्वजनिक

रौतहट, २७ असोज।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरीको भनिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। अडियोमा पार्टीको कार्यशैली र संगठनात्मक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आगामी निर्वाचनमा क्षेत्रका ४१ वटै वडामा पार्टी पराजित हुन सक्ने दाबी गरिएको सुनिन्छ।

भाइरल अडियोमा पार्टीको वर्तमान कार्यशैली नसुध्रिए रौतहट क्षेत्र नम्बर १ का कुनै पनि वडामा रास्वपाले जित हासिल गर्न नसक्ने आशय व्यक्त गरिएको छ। अडियोमा पार्टीको संगठनात्मक अवस्था कमजोर हुन सक्ने भन्दै नेतृत्वको कार्यशैलीप्रति प्रश्नसमेत उठाइएको छ।

‘४१ वटै वडामा जित्न सकिँदैन’

अडियोमा भनिएको छ, “आउने समयमा १ नम्बर क्षेत्रका ४१ वटा वार्डमध्ये एउटा वार्डमा पनि नजित्ने गरी माइन्ड मेकअप गरेर राख। पार्टीको जुन रवैया छ, यसले ४१ मा एउटा वार्ड पनि जित्न सकिँदैन।”

अडियोमा आगामी निर्वाचन आउन करिब १० महिना बाँकी रहेको उल्लेख गर्दै पार्टीको अवस्था नसुध्रिए चुनावका बेला स्थानीय मतदातामाझ जानसमेत कठिन हुन सक्ने आशय व्यक्त गरिएको छ।

त्यस्तै, पार्टीको चुनाव चिह्न ‘घण्टी’ कै आधारमा मात्रै निर्वाचन जित्न सकिन्छ कि सकिँदैन भन्ने विषय आगामी १० महिनाभित्र स्पष्ट हुने भनाइ पनि अडियोमा सुनिन्छ।

अडियोमा भनिएको छ

“धेरै दिन बाँकी छैन, अब १० मिनेटको समय छ। चुनावको समय आएपछि रौतहटको मान्छेहरूलाई अनुहार देखाउन पनि गाह्रो हुन्छ। म त फेरि आफ्नै नामबाट चुनाव लड्छु भन्ने आशा पनि गरेको छैन, र त्यो परिस्थिति नहोस्। यदि तिमीहरू सन्तुष्ट छौ भने आशा गर, तर चुनाव लडेपछि सङ्गठन पूरै सफा हुन्छ, धेरै समय लाग्दैन।”

अडियोको आधिकारिकता पुष्टि हुन बाँकी

आफ्नै पार्टीका सांसदको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाको स्थानीय संगठन र नेतृत्वको कार्यशैलीबारे विभिन्न प्रश्न उठेका छन्। यद्यपि, अडियोको आधिकारिकता स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

यस विषयमा सांसद राजेश कुमार चौधरी वा राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको जानकारी उपलब्ध छैन। अडियोको वास्तविकता, सन्दर्भ र अभिव्यक्तिको आधिकारिकताबारे सम्बन्धित पक्षको प्रतिक्रिया आएपछि थप स्पष्ट हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस