ओम प्रकाश यादव । रौतहट । बैशाख २६ गते
रौतहटमा जारी निषेधाज्ञाको व्यापक उल्लंघन भइरहेको पाइएको छ । दोश्रो लहरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा गत बैशाख २४ गते शुक्रवार राति १२ बजेदेखी बैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश लागु गरिएको छ । कोरोना संक्रमण तिव्र गतिमा बढेपछि रौतहट प्रशासनले जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो । रौतहट प्रशासनले निषेधाज्ञामा अवधीमा सार्वजनिक यातायातका सवारी साधनहरु बस, टयाक्सी, जीप, टेम्पो र निजी सवारी साधनमा चार र दुई पांग्रे सवारी साधन चलाउन पुर्ण रुपमा रोक लगाएको छ तर रौतहटमा प्रशासनले लगाएको निषेधाज्ञाको पाल्ना हुन सकेको छैन । निषेधाज्ञाको अवज्ञा गर्दै रौतहटमा निर्वाध रुपमा मोटरसाइकल, टेम्पो र जिप सञ्चालन भइरहेको देखिएको छ । गाडी चलाउन रोक लगाइएपनि जिल्लामा विभिन्न कामको बहाना बनाएर सबभन्दा बढी मोटरसाइकलबाट सर्वसाधारणहरु पहिला जस्तै आवत जावत गरिरहेको पाइएको छ । जिल्लाको शहरी क्षेत्र भन्दा ग्रामिण भेगमा मोटरसाइकल, टेम्पो, अटो र जिपबाट सर्वसाधारणले आवत जावत गरिरहेका छन । प्रहरीको आँखा अगाडिबाट निर्वाध रुपमा सवारी साधन गुडिरहदा समेत प्रहरीले हेरेर मात्र बस्ने गरेको देखिएको छ । निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालय रौतहटले कुनै पनि व्यापार व्यवसाय बन्द नगर्न आदेश दिएको छ तर सो आदेशको पनि विपरीतको कार्य भइरहेको छ । प्रशासनले पसलहरु खुल्ला राख्न दिएको आदेशको विपरीत गएर केही प्रहरीले नै पसलहरु बन्द गराएका छन । जिल्लाको गरुडा, शिवनगर लगाएत ठाउँमा स्थानीय प्रहरीले सबै किसिमको पसलहरु बन्द गराएर सर्वसाधारणलाई दुख दिने काम गरेको पाइएको छ । गाडीहरु चलाउनेलाई नियन्त्रणमा लिइ कार्यवाही गर्नुपर्नेमा प्रहरीले पसलहरु बन्द गराउन बढि उद्धृत रहेको व्यापारीहरुले बताएका छन । यसैविच निषेधाज्ञाको अवज्ञा गर्ने हजारौ सवारी साधनलाई रौतहट प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा लगाएतका प्रहरी युनिटहरुले अहिलेसम्म निषेधाज्ञालाई अवज्ञा गर्दै चलाउने हजारौ सवारी साधनलाई नियन्त्रणमा लिएर कार्यवाही गरेको छ । निषेधाज्ञा अवधिमा होटल तथा रेस्टुरेन्ट, ब्युटिपार्लर, कपडा पसल, जिमखाना, शैक्षिक संस्था, टयूसन सेन्टर र हाट बजारहरु पुर्ण रुपमा बन्द गरिएको छ भने औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प, उद्योग कलकारखाना, अन्य सबै ब्यापार व्यवसाय, खाद्यान, फलफुल, तरकारी, दुधडेरी, ग्यास पसल र शैलुन खुल्ला नै रहेको छ । निषेधाज्ञामा सार्वजनिक यातायातका सवारी साधनहरु बस, टयाक्सी, जीप, टेम्पो र निजी सवारी साधनमा चार र दुई पांग्रे सवारी साधन चलाउन पुर्ण रुपमा बन्देज गरिएको छ । यसबाहेक अत्यावश्यक सवारी साधनलाई चल्न दिने निर्णय गरिएको जनाइएको छ । जारी भएको निषेधाज्ञा आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग एन २०२० अनुसार कार्यवाही गर्ने जिल्ला प्रशासन कार्यालय रोतहटले जनाएको छ ।