प्रधानमन्त्री केपि शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेनन् । आफैले विश्वासको मत लिन आह्वान गरेको संसदको विशेष अधिवेशनबाट प्रधानमन्त्री अल्पमतमा परेका छन् । संसदमा उपस्थित कूल सदस्यको बहुमत सदस्यको आफूमाथि विश्वास रहेको देखाउन वा आफूमाथि रहेको विश्वासको परीक्षण गर्न प्रधानमन्त्रीले आह्वान गरेको विशेष संसद अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेपछि उनी स्वतः पदमुक्त भएका छन् र अब देश नयाँ राजनैतिक मोडमा पुगेको छ ।
अब के हुन्छ ? सामान्यता दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बन्ने सम्भावना छ । अहिले एक दलको सरकार हुँदा त यति झमेला थियो भने विगतमा दुई वा बढी दलको सरकार हुँदा कस्तो अवस्था हुन्थ्यो भन्ने कुरो पनि सबैले देखेको छ ।
संसदमा कुनै एक दलको बहुमत अब रहेको अवस्था छैन । संसदको सबैभन्दा ठूलो दल फेरि पनि एमाले नै हो । अहिले संसदमा वर्तमान प्रधानमन्त्रीको पक्षमा जति सांसदको समर्थन देखिएको छ, यो संख्या आफैँमा पनि कुनै एक दलको हैसियतले सबैभन्दा ठूलो संख्या हो । दुई वा तीन दलको सरकार बनेमा पनि एमाले एक्लै अत्यन्त शक्तिशाली प्रतिपक्ष रहने निश्चित छ । संसदीय व्यवस्थामा प्रतिपक्षको पनि ठूलो भूमिका हुने हुन्छ । फेरि यो पनि अडकल काटिदैछ कि तीन दलले संसदमा बहुमत साबित गर्न सजिलो छैन । यदि तीन वा बढी दलको सरकार गठन हुन्छ भने तीस दिनभित्र संसदमा फेरि बहुमत साबित गर्नुपर्ने हुन्छ । यदि साबित भएन भने ?
यसै कारण विश्लेषकहरु भन्न थालेका छन् कि देश नयाँ राजनैतिक मोडमा प्रवेश गरेको छ ।