रेणु गुप्ता
कोरोना अयखष्म १९ ले आज विश्वलाई नै रुवाएको छ । प्रत्येक दिन हजारौंको संख्यामा लासहरु जलिरहेका छन् र आफन्तहरुले रुने, कराउने बाहेक केही पनि गर्न नसकिरहेको अवस्था आज हाम्रो सामु उभिएको छ । प्रकृति कति कठोर बन्न सकेकी होलिन् ? एउटी आमा जसले जन्माएको सन्तान चिरनिद्रामा छ, अब ऊ कहिले नफर्किने गरी यो संसारबाट बिदा भएको छ कोरोनाको कारण तर उसका आफन्तहरु उसलाई भेट्न पाइरहेको अवस्था छैन् । भनिन्छ मर्दाको मलामी र जिउँदाको जन्ती भनेर चिनिने छिमेकीलाई पनि आज समस्या पर्दा हामी घरबाट निस्किन, र कुनै सहयोग गर्न सक्ने अवस्थामा छैनौँ । एक छिनको लागि प्रकृतिले हामीलाई कति स्वार्थी बनाइ दिएको महसुस गर्न सकिन्छ । दुःख, सुखमा काम दिन आफ्न्तसित पनि भावनात्मक सहयोग बाहेक केही लिन–दिन सकेका छैनौ हामी । समय ज्यादै निर्दयी भैदिएको आभास भएको छ । अहिले हामी जो जहाँ छौँ परीक्षाको घडीमा छाँै । यस्तै समय केही दिन अझै रहिरहने हो भने हाम्रो बीचमा को रहने हो र को नरहने हो भन्न सकिन्न । यसले त वृद्घ पनि भनेको छैन, बालक भनेर पनि चिनिरहेको छैन, न त यूवा, प्रौढ नै भनेको छ । जस कसैमाथि पनि आफ्नो बल देखाउन सफल छ यो ।
प्रत्येक दिन जिल्लाले संक्रमितको संख्या, निको भएकाहरुको संख्या र मर्नेहरुको संख्या प्रकाशित गरिरहेको अवस्था छ । डाटा हेर्दा आङ्ख जिरिङ्ख हुने अवस्था छ । लकडाउन छ, केही हदसम्म भीडभाड कम होस् र निकै कम संख्यामा मानिस यसबाट प्रभावित होऊन् भनिए पनि जसको लागि पुलिस प्रशासन खटेको छ आफ्नो ज्यानको परवाह समेत गरेका छैनन् र अहोरात्र जनताका लागि आफ्ना अमूल्य समय खर्चिएका डाक्टर, पुलिस, प्रशासनले लाख बिन्ती गर्दा पनि मान्छे अटेरी भएका छन् र ज्यान गुमाउनेको संख्यादेखि लिएर संक्रमित हुनेको संख्या रात–दिन बढिरहेकै छ । बजार, चोक, पसलहरुमा भीडभाड देखिएकै छ, माक्सको प्रयोग न्यून छ, कतिले माक्स प्रयोगमा ल्याएकै छैनन् भने कतिले राम्रोसित नाक, मुख छोपिने गरी लगाएका छैनन् । आफ्ना दैनिक कामहरु अन्य बेलाको जस्तै यस भयावह परिस्थितिमा पनि गर्दै आएका छन् । प्रश्न उठ्छ दैनिक ज्यालादारी गरी खाने बाँच्नेका लागि के गर्ने ? कतिपय यस्ता मानिसहरु पनि छन् जसको घरमा लकडाउनले गर्दा चुल्हो नबलने अवस्था पनि सृजना हुन सक्छ । त्यस्ताहरु लकडाउनलाई मान्न तयार हुँदैनन् र पनि कामै गर्दा पनि सावधानी अपनाएर काम गर्नु पर्छ । काम गर्नै त रोकिएको छैन तर सावधानी नअपनाउँदा भने झन् अप्ठ्यारो परिस्थिति आउला कि भन्ने चिन्ता सबैतिर देखिएको छ ।
टिभीका विभिन्न च्यानलहरु र फेसबुकजस्ता सामाजिक सञ्जाल अनि अनलाइन र एफएमहरुले दिनभरि जसो कोरोनाकै समाचार प्रसारण गरी रहेको सत्य हो । समाचारमा विश्वास गर्ने सम्वेदनशील मन भएका मानिसहरु भने झनै आत्तिइसकेका छन् । जता जाऊ कोरोनाकै चर्चा, सञ्चार माध्यमहरुले प्रसारण गर्ने समाचारमा कोरोनाको संक्रमण तथा मर्ने र निको हुनेको संख्याले मानिस पूरै एक किसिमले तनावमा छ । गरुडा–२, रौतहट बस्ने मंजु सहनी भन्छिन् –एम्बुलेन्सको आवाज सुनेर होस् वा मोबाइलको घण्टी बज्दा निकै डर लागेर आउने गरेको छ । यस्तो अरु बेला हुँदैनथ्यो । आफ्न्तहरु तथा साथीभाइहरुले आफुले कसैलाई कोरोना पोजेटिभ देखाएको थाहा पाएका छन् भने फोनबाट सुनाउँछन् । कतिजना यो गाउँ त्यो गाउँमा म–यो भनेर सुन्दा त मेरो शरीर एक छिन स्थीर भैदिराछ, केही सोच्न सकिरहेकी छैन् । भर्खरै छिमेकी कोरोनाले गर्दा नै बितेको त्यो पनि बिर्सिन सकेको छैन । जति खेर पनि सम्झना आइ नै राखेको छ । मनभित्रबाट एकदमै डराएको छ । यस्तो समाचार सुन्न नपरोस् र छिट्टै अवस्था ठीक भैहालोस् भन्ने कामना पनि गर्दछिन् उनी । हो पनि कतै चिनेजानेको, कतै आफ्न्त त कतै नाता नपरे पनि मानवताको नाताले पनि कसैमाथि समस्या परेको सुन्दा हामी आफूलाई थामेर राख्नु त कठिनै काम हो नि हैन र ? बिरामीहरु अस्पतालमा बेड नपाएर ज्यान गुमाउन बाध्य छन्, अक्सिजन नपाएर ज्यान गुमाइरहेका छन् । तीव्र गतिमा बढेको कोरोनाका बिरामीलाई थाम्न अस्पतालहरुलाई पनि निकै कठिन परिरहेको बेलामा आफ्नो सुरक्षा आफै गर्नु बाहेक अरु केही भरपर्दो उपाय भने देखिँदैन । यस्तो माहामारी बढ्दै गइरहेको समयमा आयसुलेशनको पर्याप्त ब्यवस्था गर्नतिर सम्बन्धित सबै पक्षको ध्यान जानु जरुरी छ । अरु कामभन्दा पनि कोरोना संक्रमितलाई कसरी बेड, अक्सिजन, एम्बुलेन्स सेवाहरु उपलब्ध गराउन सकिन्छ सो बारे सोच्नु आवश्यक छ । जो घरमा छौँ ती ब्यक्तिहरुका लागि पनि रमाइलो वातावरण कसरी सृजना गर्ने, उनीहरुमा आत्मविश्वास कसरी बढाउने तथा यो माहामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने कुराको जानकारी पनि गराउन जरुरी देखिन्छ । यसबाट मानसिक रुपमा प्रभावित हुनेमा बढी संख्यामा बालबालिका र वृद्घवृद्घाहरु छन् । उनीहरुलाई घरधन्दा कम हुने र बालबालिका टिभी, मोबाइलमा ब्यस्त भए पनि बुढाबुढी मान्छेहरु पुरै एक्लो महसुस गरिरहेका छन् । यसले गर्दा पनि उनीहरुमा मानसिक तनावहरु देखा परिरहेका छन् । वृद्घवद्घालाई हामी आफ्नो समयबाट केही समय निकालौं र वहाँहरुलाई केही रमाइला कुराहरु गरिदिएर वहाँहरुको एक्लोपनलाई कम गर्ने प्रयास गरौँ, त्यस्तै पुजापाठका कामहरु, भजन कीर्तनहरु तथा घरमा भएका स–साना बालकहरुसित खेलेर, रमाएर समय बिताउन सकिन्छ भने बालबालिकाहरुलाई एकछिन स–साना काममा लगाएर, खेल्ने समय मिलाइदिएर, अभिभावकहरु पनि उनीहरुसित सँगसगै खेलिदिएर, केही सृजनात्मक काममा लगाएर पनि सहयोग गर्न सकिन्छ । सकेसम्म अनावश्यक कामले बाहिर ननिस्किने, अति आवश्यक काम परेमा मात्र बाहिर निस्कौंँ, दुरी कायम गरौं, माक्स, सेनिटाइजरको प्रयोग गरौ, साबुन र पानीले पनि हात धोइराखौँं । पर्याप्त मात्रामा झोलिलो पदार्थको सेवन गरिराखौँ । सावधानी अपनाउन सके पनि हामी कोरोनालाई जित्न सक्ने हुन्छौं र जति सक्दो यसको भ्याक्सिन उपलब्ध गराउन पाए राम्रो । विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरु पनि भ्याक्सिन पाउन सकेका छैनन् भने सर्वसाधारणहरु को त कुरै छाडौं ।
यस्तो विकराल अवस्थाले आजको समयलाई मात्र प्रभावित बनाउँदैन । यसले भोलिका दिनमा लामो समयसम्म असर पार्ने र मान्छे आफन्त गुमाएकोमा शोक र चिन्तामा डुबेकै छन् । यसबाहेक पनि विभिन्न किसिमका मानसिक रोगबाट प्रभावित बन्न सक्ने, बिजनेस, व्यापार, घाटामा भएपछि थप चिन्तामा पर्ने जस्ता अवस्था आउँदैन भनी भन्न सकिन्न् । कोरोनाले निम्त्याएको यो भयावह स्थितिमा हामी सबैमा आत्मबल र विश्वासको खाँचो छ, हामी बलियो बनौं र अरुलाई पनि हिम्मत र विश्वासका साथ रहन आग्रह गराँैं । कोरोनाले विश्वमा नै तनाव सिर्जना गरेकोले एक अर्कामा सुखदुःखका कुराहरु बाँडौँ । समयले सबैलाई सताएको छ र त्यसमा हामी पनि परेका छौँ भनेर एक अर्कालाई सान्त्वना दिऔँ । सबै पक्षले आफुबाट हुन सक्ने सहयोगका लागि अगाडि बढौं । मानवताको धर्मलाई पालना गर्दै एकअर्कालाई यस्तो कठिन परिस्थितिमा सहयोग, मायाममता र भावनात्मक सहयोग गर्न कोही पनि पछाडि नपरौं । आशा गरौं, यस्तो भयावह परिस्थितिबाट देश, विदेशमा रहेका सबैले छिट्टै राहत पाउने छन् । सबै आ–आफ्ना काम व्यवहारमा छिट्टै फर्किन पाऔं र भोलिका दिनमा आउन सक्ने मानसिक समस्याबाट हामी सबै जोगिऔं । देशलाई हुन सक्ने ठूलो क्षतिबाट जोगाउन हामी सबैको कर्तब्य हो ।