धनका गरिबभन्दा मनका धनी नेपाली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ३१, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
धनका गरिबभन्दा मनका धनी नेपाली
                

जी.सी. हरि
सामान्य रुपमा भन्नुपर्दा कसलाई धनी र कसलाई गरिब भन्ने कुरा मापन गर्ने आधार देश, काल, परिस्थिति र अवस्थाअनुसार फरक फरक हुन्छ होला । भारतको सन्दर्भमा हेर्ने हो भने त्यहाँ ए.पि.एल (एबोभ पोभर्टी लेभल) र बि. पि. एल (बिलो पोभर्टी लेभल) गरी छुट्याएको पाइन्छ । सोहीअनुसार सरकारले मापदण्ड तयार पारेको हुन्छ । रासनकार्ड प्रदान गराउने आधार नै यही हो भारतमा । यसरी कुनै पनि राज्यले आफ््ना नागरिकहरुको आर्थिक अवस्थाका साथसाथै विविध पक्षलाई आधार मानेर सम्पन्न वर्ग र विपन्न वर्ग गरी छुट्याउँदा नागरिकलाई कुन तौरतरिकाले जीवन जिउने भन्ने कुराको एउटा भरपर्दो आधार स्तम्भ खडा हुन्छ र नागरिकहरु पनि सोहीअनुसार आफूलाई तत्कालीन परिवेशसंग समायोजन गर्दै जान्छन् । रासनकार्ड वितरण गर्न सक्नु भारत सरकारको एउटा अत्यन्तै उच्चतम सफलता हो । विश्वको जनसंख्याको हिसाबले दोश्रो ठूलो मुलुक भारत सम्पन्न मुलुक भएर पनि गरिबीको हिसाबले पनि त्यति नै चुनौती खेपिरहेको मुलुक हो । आर्थिक उन्नति, औद्योगिक विकास, यातायातको सुबिधा, मालसमानको निर्यात, शस्त्र अस्त्रको उच्चतम व्यवस्थापनलगायत अन्य थुप्रै पक्षमा भारतले आफूलाई एक सम्पन्न मुलुक बनाइसकेको अवस्था पनि छ । त्यसै गरी नेपालको उत्तरी छिमेकी मुलुक चीन पनि भारतभन्दा कम छैन । विश्व व्यापारमा अग्रपंक्तिमा रहेको मुलुक चीन पनि आर्थिक रुपमा सम्पन्न मुलुक मानिन्छ । चीनको राज्य नीति अरुभन्दा फरक छ । स्वभावैले चीनले आफ्नो सम्पन्नतामाथि त्यति विज्ञापन गरेको देखिदैन । भारत र चीन जस्ता विशाल दुई सम्पन्न मुलुकका बीचमा अवस्थित एउटा सानो मुलुक नेपाल गरिब हो कि धनी हो भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । क्षेत्रफल र जनसंख्याको हिसाबले अति नै सानो मुलुक भएर पनि वहुधार्मिकता, वहुजातीयता, वहुभाषिकता, वहुसाँस्कृतिकतालगायत वहुभौगोलिकताको हिसाबले अति नै सुन्दर, शान्त र विशाल मुलुक विश्वका घुम्नै पर्ने दश स्थानभित्र यो पर्नुले एउटा अत्यन्तै गर्वको महसुस गराउँछ । नेपाल वास्तवमै स्वर्गकै टुक्रा हो भन्ने कुरा विश्वका भ्रमण गर्ने प्रकृतिका तमाम मानिसहरुले स्वीकारिसकेका छन् । र नेपाल साँच्चिकै स्वर्ग पनि हो । अब कुरो रह्यो नेपाल धनी मुलुक हो कि गरिब मुलुक हो त ! यसलाई कसरी मापन गर्ने गरिएको छ त ? यी विषय जो कोहीलाई पनि चाँसोका विषय बन्न पुग्छन् । आर्थिक आँकडालाई हेर्दाखेरि पच्चीस प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेको पाइन्छ । समग्रमा भन्दा कूल जनसंख्याको एक चौथाई मान्छे गरिब हुनु भनेको पक्कै पनि राम्रो संकेत चाँहि होइन । यो एउटा आर्थिक आँकडाले देखाएको आधार हो । वास्तवमा नेपालमा को धनी को गरिब भनेर निक्र्योल गर्ने मापदण्ड सरकारले स्पष्ट पारेको अवस्था छैन् । हामी सबैका मुखबाट स्वतस्फूर्त निस्कने शव्द भनेकै नेपाल सानो र गरिब मुलुक हो भन्ने हो । गरिब हो भने कसरी र कुन हिसाबले हो वा यो मुलुक किन धनी बन्न सकेन त भन्ने प्रश्नका पछाडि लाग्नु पर्ने निकाय लागे कि लागेनन् यी सबै चाँसोका विषय हुन् । अर्कोतर्फ सन २०१९ को तथ्याङ्गअनुसार नेपालको कूल ग्रार्हस्थ उत्पादन (प्रतिव्यक्ति आय) १०७१ रुपियाँ छ । यो तथ्याङ्ग विगतको तुलनामा केही बढेको चाँहि हो । तर यो रकम प्रयाप्त हो कि होइन ? कति हुनु पथ्र्यो ? प्रतिव्यक्ति आय उच्च गराउने आधारहरु के–के हुन् ? राज्यको दायित्व के कति हो ? नागरिकको दायित्व पनि त होला । यी र यस्ता विषयमा त्यति बहस चलेको पाइँदैन । बरु सुन्ने गरिन्छ कि नेपाल गरिब देश हो तर यहाँका जनता धनी छन् । यदि जनता धनी भएको भए देश कसरी गरिब भो ? फेरि अर्को कुरा के पनि सुनिन्छ भने नेपाल रेमिट्यान्सले चलेको देश हो । देश चल्ने आधार त धेरै आइसके तर वास्तवमा देश कसरी चल्नु पथ्र्यो भन्ने कुरा पो महत्वपूर्ण हो । यी विविध पक्षमा सकारात्मक वा नकारात्मक बहस जे जसरी भए पनि नेपाल एक स्वतन्त्र सर्वगुण सम्पन्न मुलुक हो पूर्खाको पालादेखि । गरिबीलाई दुई किसिमले हेर्ने गरेको पाइन्छ । सापेक्ष गरिबी र निरपेक्ष गरिबी । सापेक्ष गरिबी भन्नाले मानिस पूर्णरुपले गरिब हँुदैन । उसका आधारभूत आवश्यकताहरु पूरा भइरहेका हुन्छन् । जीवन चलिरहेको हुन्छ । मात्र मानवीय संवेगलाई नियन्त्रण गर्न नसक्दा उसमा अरु थप लोभ, लालच र इष्र्या बढ्न गई असन्तुष्ट हुन्छ जसले गर्दा पनि गरिबीको चपेटामा परेको अनुभव गर्छ । अर्कोतर्फ निरपेक्ष गरिबी भन्नाले साँच्चिकै गरिबीको अवस्था हो । जसभित्र मानिसहरु आफ्ना दैनिक अति आवश्यक उपभोग्य वस्तुहरुको अभावमा मृत्युवरणसमेत गर्न पुग्छन् । यिनीहरु वास्तविक गरिब हुन् । अब नेपालमा समग्रमा कस्तो खाले गरिबी विद्यमान छ त ? के निरपेक्ष गरिबी जीवन बिताइरहेकाहरुको जीवन दैनिक हातमुख जोर्न नसक्दा मृत्युदर बढिरहेको अवस्था छ त, वा सापेक्ष गरिबी जीवन जिउनेहरुको जीवनस्तर उकासिदै गएको छ । यो गम्भीर विषय हो जस्तो लाग्छ । हुँदा खाने र हुने खाने बीचको खाडल पनि त्यति नै टड्कारो बन्दै गएको जस्तो लाग्छ । वर्तमान परिवेश, शैक्षिक अवस्था, तालिम, रोजगार, बेरोजगार, महङ्गी, भ्रष्टाचार, अन्याय अत्याचार आदि घटनाले अबको पुस्ताको जीवन कसरी अगाडि बढ्ला भन्ने विषयमा पनि ध्यान पु–याउनु पर्ने अवस्था आएको छ । अर्कोतर्फ कस्तो अवस्था पनि देखापरिसक्यो भने गरिब दिनानुदिन झन् –झन् गरिब बन्दै गएको अवस्था छ र धनी दिनानुदिन धनी बन्दै जानुले अबका भावी पुस्ताले के गर्लान् र देशको अवस्था कस्तो मोडमा जाला भन्ने केही हदसम्मको आँकलन पनि गर्न सकिन्छ । अर्कोतर्फ साभ्रान्त वर्ग भन्नाले जो धनी छन् उनीहरुले आफू धनी भएको कारणले आफ्नो धन सम्पति छर्दै वा फाल्दै हिडेका पनि छैनन् भने जो गरिब छन् उनीहरु पनि नाङ्गो शरीर हिडेका छैनन्; बाटो–बाटोमै भोकमरीले पनि मरिरहेका छैनन् । कुनै पनि उपायले उनीहरुले आफ्नो जीबिका चलाइरहेका छन् । यहाँनेर के देखिन्छ भने धनी र गरिब कोही छैनन् मात्र जीवन जीउने कला फरक छ । कसैको सुखसंग बितेको होला त कसैको दुखसंग बितेको होला । जीवन प्रत्याशा (औसत आयु) बाँच्ने भन्ने कुरा जहाँसम्म छ त्यो कसैको आफ्नो पहुँचभित्रको कुरा होइन । निम्न वर्ग पनि लामो आयु बाँचेका प्रमाण छन् भने सम्पन्न वर्ग पनि अल्पायुमै मृत्यु भएका घटनाहरु थुप्रै छन् । समग्रमा भन्दा नेपालीहरु धनी र गरिबभन्दा पनि अनेकतामा एकता भएर बसेको पाइन्छ । यहाँ त्यस्तो कुनै किसिमको वर्गीय द्वन्द्व, जातीय द्वन्द्व, धार्मिक द्वन्द्वलगायत अन्य विविध पक्षमा विभेद गरिँदैन । व्यक्तिगत तबरबाट हेर्दा केही असमानताहरु नभएका होइनन् तर त्यस्ता असमानताहरुले समग्र परिवार, समाज र देश निर्माणमा कुनै बाधा अबरोध खडा गरेको पाइँदैन । नेपालीहरुसंग सेवाको भाव छ । मेलमिलाप छ । सहयोगी हात छन् । एकको दुखमा अर्कोको मन रुन्छ । यस्ता किसिमका संवेगहरुले गर्दा नेपालीहरुको प्रतिव्यक्ति आय कम भए तापनि वा बेरोजगारी र आर्थिक रुपले गरिब नै भए तापनि आत्मिक रुपबाट हेर्दा सबै हाँसीखुसी देखिन्छन् । सबै ठाँउमा धनले मात्र पनि त काम गर्दैन । कतिपय अवस्थामा धनभन्दा ठूलो मान्छेको विचार हुन्छ, साेंच हुन्छ र विश्वास पनि हुन्छ । यी सबैका पछाडिको राज प्राकृतिक छटाहरुको साथसाथै मानव निर्मित कृयाकलापले प्रदान गर्ने गराउने विभिन्न अवस्था, परिवेश र घटना परिघटनाले पनि अहम् भूमिका खेलिरहेको कुरालाई नकार्न सकिँदैन । त्यसकारण आज नेपालीहरु विश्वका जे जस्ता ठाउँ विशेषमा छन् यद्यपि उनीहरु मनका धनी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस