शम्भु जनकपुरधाम बैशाख ३० गते ।
प्रादेशिक अस्पताल पुर्याइएको तिनघण्टासम्म पनि भेन्टिलेटर उपलब्ध नहुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर(१९ बेङ्गाशिवपुर बस्ने ४५ वर्षीय उमेश शर्माको ज्यान गएको छ ।
बिरामीलाई अस्पताल ल्याएपछि त्यहाँ ड्युटीमा रहेका स्वास्थ्यकर्मीले बिरामीलाई अक्सिजन लगाएर त्यतिकै छोडि आफ्नो काममा व्यस्त भएको र बिरामीको मृत्यु भइसक्दा समेत परिवारजनलाई कुनै जानकारी नगराएको मृतकका आफन्तको गुनासो छ ।
मृतकका छोरा शत्रुधन शर्माले बुवालाई लिएर बुधबार साँझ ५ बजे नै प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा आएपनि राति ८ बजेसम्म अस्पतालले भेन्टिलेटर उपलब्ध नगराउँदा आफ्नो बुवाको मृत्यु भएको बताए ।
उनीहरूले वार्डमा रहेका स्वास्थ्यकर्मीलाई जति आग्रह गरेपनि कसैले कुनै सुनुवाई नगरेको आरोप समेत लगाएका छन् ।
यता, ड्युटीमा रहेका एक स्वास्थ्यकर्मीले बिरामीको सेचुरेशन लेभल ५२ मा रहेको अवस्थामा आफूहरूले भेन्टिलेटरको व्यवस्था मिलाउन परिवारजनलाई जानकारी गराइसकेको बताएका छन् ।
परिवारजनले समयमै भेन्टिलेटरको व्यवस्थापन गर्न नसक्दा बिरामीको मृत्यु भएको उनले दाबी गरे ।
बिरामीको मृत्यु भएपछि अस्पतालको ड्युटीमा खटेका प्रहरीले परिवारजनलाई दबाब दिएर मृतकको कोरोना परिक्षण नै नगराई राति नै मृतकको शवसहित उनीहरूलाई त्यहाँबाट घर फर्काएका थिए ।
यसअघि मंगलबार मात्रै प्रादेशिक अस्पतालस्थित कोभिड(१९ विशेष अस्पतालमा चिकित्सकको लापरवाहीका कारण महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगा बस्ने ५३ वर्षीय कोरोना संक्रमित सुखचैन महतोको मृत्यु भएको थिए ।
सामाजिक विकास मन्त्रालयले शुक्रबार मात्रै प्रादेशिक अस्पतालमा ८ वटा नयाँ भेन्टिलेटर जडान गराएको थियो ।
समाचार संकलनका लागि पुगेका सञ्चारकर्मी घनश्याम मिश्रसँग समेत प्रहरीले अभद्र व्यवहार गरेका थिए ।
अस्पतालका पूराना भेन्टिलेटरहरु बिग्रिएपछि मन्त्रालयले अस्पताललाई ८ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराएको थियो ।कोरोना संक्रमित भएपछि उपचारका लागि कोभिड विशेष अस्पताल पुगेका महतोले समयमै उपचार पाउन नसक्दा मृत्यु भएको थियो ।