सञ्जय साह ‘मित्र’
नजिकको तीर्थलाई हेला गर्नु पनि मानवीय स्वभाव हो । नजिकको तीर्थको सबै कुरा थाहा हुन्छ, यसै कारण केही हो जस्तै लाग्दैन । यसको महत्व बुझ्ने र बुझाउने मनोवैज्ञानिक प्रवृत्ति पनि उच्चस्तरको सकारात्मक रहँदैन । सामान्य भएको जस्तो बुझिने किसिमको मात्र हुन्छ । जसले गर्दा धेरै अवसरलाई थप उपलब्धिमूलक बनाउनबाट रोक्न पुग्दछौँ र अवसरलाई स्मरणीय बनाउने अवसर पनि अवसर बनेर आउँदो रहेछ ।
हेटौँडा मलाई मेरो माइतीजस्तो लाग्छ । माइती पुग्ने अवसर आउँदा चेलीको अभ्यन्तरमा हुने औत्सुक्य, प्रतीक्षाको पलपलको मनोवैज्ञानिक प्रतीक्षा तथा स्फूर्तिको आभाषित मग्नताले मलाई छोइरहन्छ हेटौंडा पुगाइको सन्दर्भले । हरेक पटकको माइती पुगाइको अनुभूति आफैंमा नवीन हुने गर्दछ । मैले २०६१ मा हेटौँडा छाडेपछिको त्यहाँ पुगाइ यस्तै हुने गर्दछ ।
खासै कुनै अवसर त होइन तर कोरोना महामारीको दशैं भने छ । मधेसी समुदायको दशैं त विजयादशमीसँगै सकिएको छ तर पूर्णिमा आइनसकेकोले पहाडी समुदायमा अझै दशैं सिद्धिइसकेको छैन । हेटौँडामा एउटा सामान्य काम पनि छ – मित्र राम अविकासलाई भेट्नु पर्ने ।
सामान्य अवस्था भए त हेटौँडा बजारमै भेटिन्थ्यो तर अविकासको लागि अलिक असामान्य अवस्था छ । अविकासकी अर्धाङ्गिनीले स्कुटर रोक्दै गर्दा दुवैजना लड्न पुगेर सामान्य घाइते भएका छन् । हातमा साधारण ब्यान्डेज लगाइएको छ अविकासको । यसले गर्दा अविकासलाई बाइक चलाउन चिकित्सकले रोकेका छन् । अनुषा पनि सामान्य घाइते भएको अवस्था छ । यस्तो समयमा हटियाबाट हेटौँडा बोलाउनु भन्दा उनको डेरामै गएर भेट्नु नै श्रेयस्कर । अनि त्यहीँ डेरामा बिहानको खाना खाने गरी गरुडाबाट एकाबिहान निस्कछौँ ।
निस्कन्छौँ भन्नुको मतलब हो – श्रीकृष्णलाई सारथि बनाएर उनकै बाइकरुपी रथमा सबार छौँ दुवैजना । एकाबिहानै जाडो हुँदो रहेछ । चन्द्रपुरको जङ्गलले जाडोको मात्रा अलिक बढाएको छ ।
आज असोज शुक्ल द्वादशी हो, २०७७ को ।
एकैपटक चिया खान रोकिन्छौँ तिन नम्बर पुलमा । चिया खाएर उकालो यात्रा सुरु हुन्छ । दश बजेतिर हेटौँडा नपुग्दासम्म अविकासको फोन तारन्तार आइरहन्छ – खाना खान ढिलो भइसक्यो भनेर ।
बाटोमा म र श्रीकृष्ण छलफल गरेका छौँ – मकवानपुरगढी घुम्ने भनेर । श्रीकृष्ण छन् जिज्ञासु स्वभावका । इतिहास, संस्कृति र साहित्यप्रति गहिरो रुचि राख्छन् । पृथ्वीनारायण साहले नेपालको एकीकरण गर्नुभन्दा पहिले हामी मकवानपुर राज्यकै प्रजा थियौँ र हाम्रो राजधानी मकवानपुरगढी नै थियो । हाम्रा राजा त्यहीबाट हामीमाथि शासन गर्दथे र मकवानपुरका राजाले मधेसी संस्कृति मान्दथे । त्यहाँ अझै पनि राजदरबारको अवशेष रहेको छ भनेपछि श्रीकृष्णको उत्सुकता बढेको थियो । अझ त्यहाँ त भगवान कृष्णको मूर्ति र मूर्तिलाई सिक्रीले बाँधिएको छ भनेर बताउँदा मेरो सारथि श्रीकृष्ण एकछिन विस्मित भएका थिए । किन बाँधिएका हुन् कृष्ण ?
मोबाइलको घन्टी बजिरहेको छ । जवाफ फर्काउँछु – हाम्रो सल्लाह भयो, माथि डाँडामा पुगेर गढी हेरेर आउने अनि खाना खाने । कृष्णको दर्शन श्रीकृष्णलाई गराएर अनि खाना खाने कुराले अविकास अलिक अविचलित हुन्छन् । हामी पनि भोकै छौँ, सँगै खाने भनेर ।
तपाईँहरु खाँदै गर्नुहोस्, हामी दर्शन गरेर फर्केपछि मात्र खाना खान्छौँ । यस्तो किसिमको दृढतापूर्ण जबाफले “हस्”को सूचक पाएपछि हामीलाई पनि सजिलो हुन्छ ।
हेटौँडाबाट १६ किलोमिटर पूर्वमा अवस्थित छ मकवानपुरगढी । महाभारत पर्वत शृङ्खलाको तल्लो पहाडको दक्षिणी टुप्पोमा रहेको मकवानपुरगढी वर्तमान संरचनाको गढी गाउँपालिकाअन्तर्गत पर्दछ । यसै ठाउँको नामको आधारमा गाउँपालिकाको नाउँ रहेको छ । यसको ऐतिहासिकता र सान्दर्भिकतालाई गाउँपालिकाको नामले सम्मान दिएको छ ।
कुनै ठाउँको नाम किन वा कसरी रहन गयो ? यसको उत्तरले एकातिर ऐतिहासिकता दर्शाउँछ भने अर्कोतिर वर्तमानको सान्दर्भिकतापूर्ण महत्वलाई झल्काउँछ । ठाउँको नाम यत्तिकै रहन पुगेको हुँदैन र कुनै पनि नाम वर्तमानमा जे प्रचलित छ र त्यहीँ नामसित जोडिएको इतिहास नै अन्तिम हुन्छ भन्ने होइन । इतिहास त्यो भन्दा पुरानो पनि हुन सक्छ तर वर्तमानमा प्रचलनमा रहेको नामसँगको ऐतिहासिकता जान्न पाउनु पनि ठूलो कुरो हुन्छ ।
हेटौँडाबाट कान्तिराजपथ हुँदै पूर्वतिर सुन्दर हरियाली र सुन्दर पिचको नागबेली घुमाउरो उकालो सडक चढ्दै गर्दा श्रीकृष्णको प्रश्न आउँछ – किन त्यहाँ मन्दिरमा कृष्णलाई सिक्रीले बाँधिएको छ ?
त्यहाँ दरबारको बिचमा कृष्णप्रति अत्यन्तै धेरै आशा र भरोसा गरेर मन्दिर र मूर्ति स्थापना गरी बिहान बेलुकी पूजा गर्नुको मुख्य कारण रक्षा गर्छन् भन्ने न हो । भगवानबाट गरिने आशा त त्यही न हुन्छ ? कुनै दिन कसैले के देखेछन् भने भगवान कृष्णको मूर्तिमा तोरीको फूल टाँस्सिएको छ । भोलिपल्ट अझ लुगामा पनि तोरीको फूल टाँस्सिएको देखा परेछ । दिनदिनै तोरीको फूल मूर्तिमा टाँस्सिएको देखापर्न थालेपछि त्यहाँका पुजारी र अन्यलाई शंका लागेछ – हो न हो, राति राति कृष्ण तोरीबारीतिर जाँदा रहेछन् । राति हाम्रो, हाम्रो किल्लाको र राज्यको रक्षा गर्ने भगवान नै तोरीबारीतिर जान थालेपछि हाम्रो रक्षा कस्ले गर्ने ?
दरबारमा एउटा सन्त्रासको वातावरण फैलिएछ । सबैमा एक किसिमको डर पसेछ । अब हाम्रो भगवान नै बेपत्ता हुन थालेपछि सबै त्यत्तिकै अनाथ हुने रहेछौँ । अनि पुरोहितले उपाय निकालेछन् – भगवानलाई बाँधेर राख्ने । हो, अनि कृष्णलाई सिक्रीले बाँधिएछ । साच्चै, त्यस समयदेखि कृष्णको लुगामा तोरीको फूल देखिन छाडेछ । सिक्रीले भगवानलाई बाँधेर राखिएको अवस्थामै पूजा गर्न थालिएछ । पुराणअनुसार सिक्रीले बाँधिएका बुबा र आमाबाट कारागार नै भगवान श्रीकृष्णको जन्म भएको हो । मकवानपुरगढीमा रहेको श्रीकृष्ण मन्दिरभित्र अहिलेसम्म कृष्णलाई बाँधेर राखिएको छ ।
स्वच्छ वातावरण, घमाइलो दिन । सूर्य बिस्तारै उकालो लागिरहेको छ तर पहाड र जङ्गलको वातावरणले हामीलाई लोभ्याइरहेको छ । रमाउँदै हामी केही बेरमा मकवानपुरगढी गेटमा पुग्छौँ ।
म पहिलोचोटि सम्भवतः २०५१ मा साथीहरूसित पश्चिमबाट उकालो चढ्दै पैदलै यहाँ पुगेको हुँ । दोस्रोपटक भने पूर्वी मोहोडाबाट मुख्य गरी यही राजपथ हुँदै मकवापुरगढी पुगेको हुँ । त्यत्तिबेला राजपथ नाममात्रको थियो, कच्ची । साँघुरो पनि । अहिले भने फराकिलो भएको छ । झन्डै दुई दशकपछि म पुग्दैछु ।
करिब साढे दुई सय खुड्किलो चढ्नुपर्छ । पहिले ढुङ्ग्याइलो बाटो थियो र अहिले सिंढी बनाइएको छ । सजिलो त भएको छ तर दुईतिरबाट दुईचोटि पहाड चढेको स्वाद भने पटक्कै छैन सिंढी चढाइमा ।
दुई दशकमा अलिकति व्यस्थित भएको छ गढी । मुख्य प्रवेशद्वारा नयाँ जस्तै भएको छ । गढीको चारैतिरबाट खाल्टो रहेको र खाल्टोको पारिपट्टि अग्लो पर्खाल रहेको मकवानपुरगढीमा एउटामात्र प्रवेशद्वार रहेको छ । प्रवेशद्वारमा पहिले फलेक राखिएको हुन्थ्यो र रात परेपछि फलेक झिकेर द्वार बन्द गरिन्थ्यो । द्वार बन्द भएपछि खाल्टोमा पानी भरिन्थ्यो । अहिलेको अवस्थामा पनि सामान्यरुपमा कोही मुख्यद्वारभन्दा बाहिरबाट किल्लाभित्र प्रवेश गर्न सकिने अवस्था रहेको छैन । एकदमै बलियो किल्ला र सामरिक महत्वले पनि महत्वपूर्ण किल्लाको रुपमा त्यो जमानामा यो गढी रहेको अहिले पनि बुझ्न सकिन्छ ।
अहिले मुख्यद्वारमा एउटा डरलाग्दो फलेक छैन । केही व्यवस्थित बनाइएको छ । सजिलै आवतजावत गर्न सकिने बनाइएको र मुख्यद्वारा लेखिएको पनि छ – ऐतिहासिक मकवानपुरगढी ।
किल्लाभित्र प्रवेश गरेपछि कृष्णको दर्शन गर्न सकिन्छ । सानो मन्दिरले अहिले पनि ऐतिहासिकताको छाप दिन्छ । मन्दिरभित्र कृष्णको नाम रहेको छ – वंशगोपाल । वंशगोपाललाई दुवैतिर बलिया खम्बाको फलामे सिक्री बाँधेर कम्मरमा बाँधिएको छ । हिन्दू र बौद्धमार्गीहरू वंशगोपाललाई बाँधिएकै अवस्थामा अहिले पनि श्रद्धापूर्वक पूजा गर्दछन् । किल्ला परिसरभित्र सिद्धेश्वर महादेव मन्दिर पनि छन् । अन्य केही देवताका मूर्ति र मन्दिर पनि छन् तर कवि भूपि शेरचनले भनेजस्तै उदास छन् ।
किल्लाभित्रको वातावरणले अहिले पनि गौरवान्वित बनाउँछ । इतिहासको संरक्षण भएको जस्तो लाग्छ । केही नयाँ कुराहरु पनि थपिएका छन् । सेतो एकदन्ते हातीको प्रतिकृति बनाइएको छ । विजयोत्सव मनाइन थालिएको छ । यी सबले एकातिर इतिहासको संरक्षण भएको अनुभव हुन्छ भने अर्कोतिर इतिहासको बारेमा जान्न चाहनेहरुका निम्ति पर्यटनको आधार पनि खडा गरेको हुन्छ ।
मेरा सारथि श्रीकृष्णले बाँधिएका कृष्णको दर्शन पाएर दङ्ग छन् । एउटा ऐतिहासिक ठाउँको भ्रमणको गौरवबोधले अनुहार धपक्क बलेको छ । म पनि सारथि श्रीकृष्णसित बाँधिएका कृष्णको पुनर्दर्शन गर्दछु । साथसाथै यहाँको इतिहासको पनि दर्शनबोध हुन्छ । कुनै दिन राजधानी भएको यो ठाउँ कसरी बिरानो छ । कुनै दिन राजा बस्ने यो ठाउँ कसरी अहिले अझ संरक्षण र प्रचारको पर्खाइ गरिरहेको छ ।
केही थान फोटाहरू खिच्छौँ ।
केही स्थानीय तामाङ बालकहरू खेलिरहेका छन् । खेलिरहेका छन् भन्दा पनि किल्लाको चारकिलाभित्र प्रवेश गर्नेहरूसित पैसा मागिरहेका छन् । मध्यकालीन दरबारमा आगन्तुकसित स्थानीयले हात फैलाएको दृश्य कस्तो खल्लो लाग्ने किसिमको छ । दुई चार शब्द तामाङ भाषामा तिनीहरूसित कुराकानी गर्न खोज्छु तर तिनीहरू आफ्नै मातृभाषा बुझ्ने किसिमका लाग्दैनन् । अन्य आगन्तुकले नै मेरा तामाङ वाक्यहरूलाई नेपालीमा अनुवाद गरी बुझाउँछन् । अब गाउँतिर पनि मातृभाषा कमजोर बन्दै गएको छ भन्ने उदाहरण हुनुपर्छ यो । दश दश रुपैया दुई जनालाई दिन्छु ।
मोबाइलको घन्टी बज्दा स्क्रिनमा अविकासको नाम देखिएपछि अलिक झस्कन्छौँ हामी । झर्न थाल्छौँ । तलको मुख्य प्रवेशद्वारमा भक्तपुरको टोली आइपुगेको छ पाँच घन्टामा । कान्तिराजपथ भएर पाँच घन्टामा आरामले मकवानपुरगढी आइपुगेको सुन्दछौँ । रहर त लाग्छ तर अहिले हतार भइसकेको छ तल झर्नलाई । हटियामा खाना सेलाइसकेको छ । अझ एकछिन बात मार्नु छ । हेटौँडामा पत्रकार भाइ गिरिजा अधिकारी पर्खेर बसेका छन् ।
ओहो । लौ, छिटो फर्कौं । अबेला भइसकेछ ।