आज अन्तर्राष्ट्रिय परिवार दिवस हो । अहिले देश कोरोनाको भयावह परिस्थितिले गुज्रिरहेको छ । यस कारण अहिले देशको अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । विषम परिस्थितिमा देश रहेको छ महामारीको कारण । यस कोरोना महामारीले गर्दा विश्वका धेरै परिवारहरू घरबाहिर निस्कन नसकेर घरभित्रै सीमित हुन पुगेका छन् ।
विश्वमा परिवारका मानिसबीच मेलमेलाप हुनुपर्दछ । हाम्रो परिवारमा को को छन् ? सबैको स्थान र सम्मान कस्तो छ ? हामी सबै कहाँ कहाँ छौँ आदिजस्ता प्रश्न र पक्षबारे आजको दिन चर्चा हुनु स्वाभाविक हो । कोरोनाले कुनै एक ठाउँमा रहेका परिवारका सदस्यबीच एक किसिमले मिलन गराएको अवस्था हो । धेरै समयपछि परिवारका सदस्यहरु एक साथ मिलेर बस्न पाएका छन्, खान पाएका छन् र यस महामारीको चरम अवस्थामा पनि एक अर्काको भरथेग गर्न पाएका छन् ।
परिवार दिवस भएकोले हरेक व्यक्तिले परिवारमा आफ्नो भूमिका कस्तो हुनुपर्दछ र वर्तमान कोरोना महामारीको अवस्थामा आफ्नो थप जिम्मेवारी के हो भनेर बुझ्नुपर्ने आवश्यकता पनि रहेको छ । यस महामारीको समयमा सबैभन्दा सजिलो त हुन्छ कि कोरोना महामारीको समयमा स्वास्थ्य मापदन्डलाई पालना गरेर र बिना कुनै काम घरबाहिर ननिस्केर संयमित भई घरभित्रै रहेर यस दिवसलाई सार्थक बनाऔँ । घरपरिवारका सबै सदस्य एक साथ मिलेर आज अन्तर्राष्ट्रिय परिवार दिवस हो र हामी यसरी अन्तर्राष्ट्रिय परिवार दिवस घरभित्रै मनाएका छौँ भनेर फोटो पनि सार्वजनिक गरौँ । जसबाट घरभित्रै रहन प्रेरणा र प्रोत्साहन मिल्नेछ सबैलाई ।