नेपाल र भारत बिचको अनियन्त्रित तथा अव्यवस्थित खुला सिमाना व्यवस्थित र नियन्त्रित गर्ने हो भने दुबै मुलुकलाई आर्थिक एवं राजनीतिक फाइदा हुन्छ। नेपाललाई झनै भारत भन्दा बढी आर्थिक फाइदा हुन्छ। कसरी? भारतको अर्थ व्यवस्था ठूलो भएकोले यी दुई देश बीचको खुला सिमानाले गर्दा हुने आफ्नो अर्थिक क्षतिलाई भारतले सजिलै बेहोर्न सक्छ तर नेपालको अर्थ व्यवस्था भारतको तुलनामा ज्यादै सानो भएकोले यी दुई देश बिचको खुला सिमानाले गर्दा हुने आर्थिक क्षति नेपाललाई बढी हुन पुग्छ। त्यसकारण नेपाल खुला सिमानप्रति भारत भन्दा झनै बढी सचेत हुनु पर्ने देखिन्छ।नियन्त्रित सिमानको भारतलाई भने नेपाल भन्दा बढी राजनीतिक फाइदा हुन्छ। नेपालमा आएर भारत विरोधी गतिविधि गर्ने व्यक्ति एवं सङ्गठनहरूलाई भारतले नियन्त्रित सिमाना भएमा प्रभावकारी किसिमले नियन्त्रण गर्न सक्छ। नाकाहरूमा राम्रो निगरानी राख्न सक्छ। नेपाल र भारत बिचको खुला एवं अनियन्त्रित सिमानाले गर्दा भारतीय सीमा नजिक रहेका नेपालका शहरहरूको आर्थिक अवस्था धरासायी हुँदै गएको हामीले देखे भोगेको कुरा हो। भारतीय सिमा नजिक रहेका धेरै नेपाली शहर एवं सदरमुकामहरू कहिले उठ्न नसक्ने गरीआर्थिक रुपमा ढलेका छन। यस्ता उदाहरणहरू अनेकौ छन। तर यहाँ केवल एउटा मात्र उदाहरण लिऊँ। गौरको चर्चा गरौ।भारतीय सिमा नजिक रहेकोले नेपाली सहर गौर आर्थिक विकासको मामिलामा जहिले पनि पछाडि नै रह्यो। गौरमा न त उद्योगहरूको स्थापना हुन सक्यो, न व्यापारको विकास हुन सक्यो। पञ्चायतकालमा गौरमा केही धान मिलहरूको स्थापना भएता पनि पछि क्रमिक रुपमा ती बन्द भएर गए। सरकारले केही संरक्षण दिएको हुनाले ती मिलहरू सानो अवधिका लागि सञ्चालनमा रहे। तर पछि धान उत्पादनमा ह्रास आएर नेपाल भारततर्फ धान निर्यात गर्न असक्षम भए पछि गौरका धान मिलहरू बन्दा भए। भारत तर्फबाट सस्तोमा चामल नेपाल आउन थाले पछि नेपालमा रहेका धान मिलहरू बन्द हुन थाले। व्यापारको क्षेत्रमा पनि गौर अगाडि बढ्न सकेन। टाँस्सिएको भारतीय सहर बैरगनियाबाट ठूलो परिमाणमा सस्तोमा गौर एवं वरपरका बजारहरूमा सामान आउने तथा त्यसरी आउने समानहरू मध्ये ठूलो परिमाणमा भंसार छलेर आउने हुनाले गौर एवं वरपरका बजारहरू कहिले आर्थिक रुपमा उभो लाग्न सकेनन। नेपाली बजारहरू भन्दा बैरगनियामा सामान सस्तोमा पाइने र भंसार शुक्क पनि नतिर्नु पर्ने वा खुला सिमानाको कारण गर्दा भंसार छल्न सकिने हुनाले गौर एव वरपरका उपभोक्ताहरूले बैरगनियाबाट सामानहरू ल्याउनु स्वभाविक थियो। तर यस्तो कार्यले गर्दा गौर र यस वरपरका बजारहरू कहिले गुलजार हुन सकेनन। ती बजारहरू झन झन गरिब भएर गए। अर्कोतिर बैरगनियाले व्यापारको क्षेत्रमा निकै विकास गर्यो। रौतहट र सर्लाहीका उपभोक्ताहरू ठूलो संख्यामा बैरगनिया पुगेर उपभोक्ता वस्तुहरू खरिद गरेर ल्याउँथे। त्यो क्रम अहिले पनि जारि छ। बैरगनिया भन्दा केही पर रहेकोले चन्द्रनिगाहपुरले गौरको तुलनामा निकै आर्थिक विकास गर्यो। यसैगरी निजगढले पनि गर्यो तर गौर सिमान नजिक रहेकोले र खुला सिमानाले गर्दा गौरले आर्थिक विकास गर्न सकेन। आश्चर्य लाग्दो कुरा त के छ भने गौर चन्द्रनिगाहपुरको तुलनामा निकै पुरानो बजार हो र यो पुरानो बजार भएको र राणाकालमा नै यसको उदय एक संगठित आर्थिक केन्द्रको भएकोले यसलाई जिल्लाको सदरमुकाम बनाइएको थियो। तर गौर सदर मुकाम भएता पनि भारतीय सिमा नजिक रहेको र नेपाल भारत बिच अनियन्त्रित खुला सिमाना भएकोले यो शहर आर्थिक रुपमा कहिले माथि उठ्न सकेन। कुनै समयमा गौर आर्थिक रुपमा निकै गुलजार थियो किनभने जिल्लाभरिका मानिसहरू विभिन्न कामले गौर पुगथ्ये। ठूलो परिमाण कृषकहरूले गौर आएर धान बिक्री गर्थ्ये।नेपाल र भारत बिच खुला सिमाना रहे सम्म नेपालका भारतीय सिमावर्ती शहरहरूको आर्थिक विकास सम्भव छैन। भारतीय सिमावर्ती नेपाली शहर र वरपरका उपभोक्ताहरूलाई खुला सिमानाले गर्दा भारततर्फ गएर सामान गरिद गर्न नेपाली उपभोक्ताहरू सजिलो पारि दिन्छ। उपभोक्ताहरूले पनि नेपालमा भन्दा भारतमा सस्तोमा समान खरिद पाइने हुनाले भारतबाट सामानहरू ल्याउनमा जोड दिन्छन। खुला सिमानाले गर्दा तस्करी गरेर पनि भारतबाट नेपालमा सामान भित्र्याउन सजिलो हुन्छ। अर्कोतिर, नेपाली बजारहरू आर्थिक रुपमा अस्तित्वबाट लोप हुँदै गइ रहेका छन।नेपाल र भारत बिचको सिमाना खुला र अनियन्त्रित रहेसम्म भारत भन्दा नेपालमा सस्तो रहेका सामानहरू तस्करीको माध्यमबाट भारत पुग्छन र नेपालमा ती समानहरूको अभाव हुन पुग्छ। यसैगरी नेपाल भन्दा भारतमा सस्तो भएका समानहरू तस्करीको माध्यमबाट नेपाल आउँछन र तिनेल नेपाल उत्पादनहरू बिक्री हुने वातावरण रहन दिंदैनन। समग्रमा, नेपालको आर्थिक विकासको लागि नेपाल भारत बिचको सिमाना नियन्त्रित एवं व्यवस्थित गर्न आवश्यक छ। यी दुई देशहरू बिच हुने आवागमनलाई व्यस्थिति गर्न पासपोर्टको व्यवस्था हुन अति आवश्यक छ। नेपाल र भारत बिचको सिमाना खुला रहेसम्म नेपालले गरिबीबाट छुटकारा पाउन कठिन छ। यस आलेखमा भने नेपाल र भारत बिच रहेको खुला सिमानाले गर्दा नेपाली जनताको स्वास्थ्यमा पर्ने गम्भीर असर बारे विशेष चर्चा गर्न खोजिएको छ। भारतका विभिन्न स्थानहरू कोरोना सङ्क्रमणको नराम्रो चपेटमा परे। अहिले पनि ती स्थानहरूको जन जीवन यो सङ्क्रणले गर्दा अस्तव्यस्त छ, भयग्रस्त छ। खास गरी दुई स्थानहरू दिल्ली र महाराष्ट्रमा कोरोना–सङ्क्रमणले आफ्नो तान्डव नै देखायो। भारतमा कुन स्तर मानवीय क्षति भयो त्यो हामीले देखे सुनेको कुरा नै हो। तर जति बेला भारतका विभिन्न शहरहरू कोरोना सङ्क्रमणको चपेटामा पर्न थालेका थिए त्येति खेर नेपालका विभिन्न स्थानहरू सुरक्षित थिए। तर जब नेपालबाट रोजगरीका लागि भारतका विभिन्न शहरहरूमा गएका नेपालीहरू स्वदेश फिर्न थाले र ती फिर्नेहरू मध्ये कोरोना सङ्क्रमित हुनेहरूले आआफ्नो स्थानहरूमा भारतबाट ल्याएको कोरोना भाइरस अरूमा सार्न थाले नेपालमा कोरोना सङ्क्रमणको स्थिति भयावह हुन पुग्यो। छोटो अवधिमा नै कोरोना सङ्क्रमण नेपालभरि फैलियो। अहिले नेपाल, खुला सिमानाले गर्दा, कोरोनाको सङ्क्रमणमा नराम्रो गरि फँसेको छ। यस रोगबाट ग्रसित भएर नेपामा मृत्यु हुनेहरूको संख्या दिन प्रति दिन बढ्दो स्थितिमा छ। गरिबी र स्रोत एवं साधनहरूको अभावले गर्दा कोराना सङ्क्रमण नियन्त्रण गर्न नेपाललाई ज्यादै कठिन हुँदैछ। यो सङ्क्रमण लामो समयसम्म चल्ने देखिन्छ। मृत्यु हुनेहरूको सङ्ख्यामा झनै वृद्धि हुन भय देखिएको छ।खुला सिमानाले गर्दा नेपालले स्वासथ्यको क्षेत्रमा गम्भीर मानवीय क्षति बेहोर्नु पर्नेछ। र त्यो स्थिति अहिले नै देखिन थालेको छ। अस्पतालहरूमा स्वास्थ्य सुविधा एवं आक्सिजनको अभाव छ। नेपाल र भारत बिच खुला सिमाना नभएको भए, भारतबाट आउनेहरू आथि निगरानी राख्न सकिएको भए, भारतबाट नेपाल आउनेहरूको व्यस्थित किसिमले स्वास्थ्य परीक्षण गरेर नेपाल प्रवेश गर्न दिइएको भए, भारतबाट सङ्क्रमित भएर नेपाल आउनेहरूलाई ‘आइसोलेसन’ मा राख्न सकिएको भए भारतबाट नेपाल प्रवेश गर्नेहरूले यसरी कोरान सङ्क्रमण नेपालभरि फैलाउन सक्ने थिएनन। कोराना सङ्क्रमण छोटो समयमा यसरी नेपाल भरि गम्भीर र डरलाग्दो किसिमले फैलिने थिएन। नियन्त्रित, व्यवस्थित एवं पासपोर्ट सहित नेपाल र भारत बिचको सिमानालाई निगरानीमा राख्ने हो भने नेपाललाई स्वास्थ्य क्षेत्रमा आउने विभिन्न जोखिमबाट पनि जोगाउन सकिन्छ। नेपालीहरूलाई अनेक किसिमका सरुवा रोगहरूबाट जोगाउन सकिन्छ। नेपाल तुलनात्मक रुपमा भारत भन्दा भौगोलिक रुपमा सानो भएकोले नेपाललाई अनेक किसिमका सरुवा रोगहरू नियन्त्रण गर्न सजिलो हुन्छ तर भारतलाई हुँदैन। उल्टो भारतबाट छोटो समयमा अनेक सरुवा रोगहरू खुला सिमानाको कारणले गर्दा नेपाल भित्र प्रवेस गर्ने छन।
सिमाना नियन्त्रण गरेर, पासपोर्ट व्यवस्था लागु गर्दैमा नेपाल र भारत बिचको ‘बेटी रोटी’ को सम्वन्ध समाप्त हुँदैन। झनै बलियो भएर जान्छ। भारत र नेपाल बीच जस्तो घनिष्ट सम्बन्ध छ त्यस्तै दुई टाँस्सिएका छिमेकीहरू अमेरिका र क्यानाडा बिच घनिष्ट सम्बन्ध छ। यी दुई देश बिच सम्बन्ध प्रगाढ भएता पनि यी दुई देशका सिमाहरू खुला छैनन। पासपोर्ट व्यवस्था लागू गरेर, सिमाना व्यस्थिति गरेर दुई देश बिचको सम्बन्धलाई झनै मजबुत तुल्याइएको छ। नेपाल र भारत बीच धार्मिक, सामाजिक, सांस्कृतिक समानता भएझै अमेरिका र क्यानाडा बिच समानता छ। भारत र नेपाल बिचको खुला सिमानालाई अनियन्त्रित र पासपोर्ट रहित राखेर मात्र यी दुई देश बिचको ‘बेटो रोटी’ सम्बन्धलाई बलियो तुल्याउन सकिन्छ भन्ने पुरातन सोंच भने अब हामीले त्याग्नु पर्छ। छोटो समयमा नेपाल भित्र कोराना सङ्क्रमण भारतबाट आएर फैलिएकोले खुला सिमाना अब हाम्रो लागि अति नै अहितकर छ, खास गरी स्वास्थ्यको क्षेत्रमा ज्यादै अहितकर छ, भन्ने कुराको पुष्टि हुँदैन र ?
विश्वराज अधिकारी
akoutilya@gmail=com
Friday, May 14, 2021