सञ्जय साह ‘मित्र’
Fatalism and Development ꞉ Nepal’s Struggle for Modernization भन्ने पुस्तक (पृष्ठ १७) मा डोरबहादुर विष्टले लेखेका छन् ः किराती राजा यलम्बरले महाभारत युद्धमा भाग लिएका थिए । नेपाली वंशावलीहरूले काठमाडौंका किराती राजाले महाभारत युद्धमा भाग लिएको उल्लेख गरेका छन् । किरातीहरूले कौरवको पक्षबाट युद्धमा भाग लिएको उल्लेख पाइन्छ ।
नयनाथ पौडेलले सम्पादन गरेको भाषावंशावली (भाग १ पृष्ठ ४८) मा यलम्बर नभई किराती राजा पंवीले सैन्य समूहसहित कुरुक्षेत्रको युद्धमा पाण्डवको पक्ष लिएर अर्जुनको नेतृत्वमा लडेको जनाइएको छ । शिलान्यास नेपाल निर्माणको नालीबेली भन्ने पुस्तक (पृष्ठ २१७) मा सुजित मैनालीले लेखेका छन् ः गोपाल वंशावलीमा पंवीको नाम पंवः छ । उनले ४६ वर्षसम्म राज गरेको पाइन्छ ।
यी तथ्यहरूबाट के पनि अनुमान लगाउन सकिन्छ भने हुन सक्छ किरातमा पनि अनेक राजा थिए वा सानातिना गाउँ हेर्नेलाई पनि स्थानीयले राजा भनेको हुन सक्छ किनभने किरातहरू मूलतः आसामका राजा भागदत्तको सेनामा थिए भन्ने उल्लेख पाइन्छ । राजा भागदत्त प्राग्ज्योतिषका राजा थिए । महाभारतमा प्राग्ज्योतिष भनिएको राज्य अहिलेको आसाम हो । प्राग्ज्योतिषराज भागदत्त कौरवको पक्ष लिएका थिए । सम्भवतः यसैबाट किरात भन्नासाथ कौरवको पक्षबाट युद्ध लडेको भन्ने धेरैले उल्लेख गरेका हुन सक्छन् ।
अब रामायणकालको मूल्याङ्कनतिर जाऔँ ।
इतिहास जहिले पनि विजेताको हुन्छ । विजेताले आफ्नो अनुकूल इतिहास लेख्न लगाउँछन् वा विजेतालाई प्रसन्न पार्न लेखकले तिनको बढाइचढाइ गरेर लेख्छन् । विगतमा यही भएको छ । अधिकांश इतिहासको प्रकृति यही देखिन्छ । यद्यपि आधुनिक युगमा इतिहासको पुनमूल्र्याङ्कन हुन थालेको छ ।
लेखकले आफ्नो स्वार्थ पनि इतिहासमा घुसाएको पाइन्छ ।
अनि न आदि भूमि रौतहटका स्थानहरू कतै उल्लेख भएको पाइँदैन ।
कुनै वेला उपत्यकाको बेपार उत्तरमा तिब्बतसित र दक्षिणमा पाटलीपुत्रसित सिधा हुने गर्दथ्यो । बागमतीको किनारै किनार पाटलीपुत्र र नेपाल उपत्यका जोडिएका थिए । पाटलीपुत्र चाहिँ बंगाल र कोशलसित सिधा जोडिएको थियो गंगाको जलमार्गमार्फत ।
मैथिलीका प्रसिद्ध साहित्यकार तथा भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव एक कार्यपत्रमा लेख्छन् – “नेपालमे बज्जिका भाषाक ३ हजार वर्ष पुरान इतिहास अछि ।
ज्गबलन क्बलन (हुआङ साङ) एक प्रख्यात चीनक यात्री किछ दिन समनपुर रौतहट मे रहल आर बागमती नदी होइत भारत जाएके क्रम मे कहने अछि कि बज्जिका एहि क्षेत्रक भाषा अछि ।”
नेपालमे बज्जिका भाषाक स्थिति शीर्षक प्रा.डा. यादवको उक्त कार्यपत्र मसित सुरक्षित छ ।
शीतल गिरीले कौटिल्यको अर्थशास्त्रमा पनि समनपुरको उल्लेख रहेको उल्लेख गरेका छन् ।
विश्व प्रतिष्ठित भाषाविद्, अर्थशास्त्री तथा यायावरको नजरमा रौतहटको कतिपय भूमि परेको देखिन्छ तर कथित प्राचीन इतिहास तथा पुराणहरूमा रौतहटलाई सांकेतिक रूपमा खोज्नुपर्ने बाध्यता छ ।
भन्नेहरूले सिधै भन्दिछन् – रामायणकालको मुख्य गरी सिरध्वज जनकको राज्य पूर्वमा कोसीदेखि पश्चिममा नारायणी र उत्तरमा हिमालयदेखि दक्षिणमा गंगासम्म थियो । जबकि वाल्मीकीय रामायणमा नै राजा सुमतिको दरबारमा राम, लक्ष्मण तथा गुरु विश्वामित्र एक रात राजकीय आतिथ्य स्वीकार गरेका थिए भन्ने कुरो लेखिएको छ । सुमति तत्कालीन विशालापुरीका राजा थिए । उनको दरबारको अवशेष अझै पनि वैशालीमा रहेको छ जुन राज्यद्वारा संरक्षित छ ।
साक्ष्यहरूको सांकेतिक विश्लेषण गर्दा जतिखेर रामको विवाह जनकपुरीमा भएको हो, त्यत्तिखेर वर्तमान रौतहटको भूमि कथित मिथिलाअन्तर्गत नरहेको देखिन्छ ।
सीतामढ़ी हिन्दी विकिपीडियाले उल्लेख गरेको छ – प्राचीन कालमे सीतामढ़ी तिरहुत का अंग रहा है ।
वृहद विष्णु पुराणको वर्णनअनुसार सम्राट जनकको हल–कर्षण–यज्ञ–भूमि तथा उर्बिजा सीता अवतीर्ण भएको स्थान सम्राट जनकको राजनगरभन्दा पश्चिम ३ योजन अर्थात् २४ माइल टाढा थियो । लक्ष्मना (लखनदेई) नदीको किनारमा अवस्थित भनिएको सीतामढी अहिले पनि लखनदेईकै किनारमा छ ।
राजा जनकले आफ्नो देशको सीमामा, सीमाभित्र र सीमाबाहिर हलो जोतेका थिए ? यी तीन किसिमकै साक्ष्यहरू पाइन्छन् । यसर्थ यो ठाउँ तत्कालीन अवस्थामा वन क्षेत्र थियो र सीमा क्षेत्रमा राजा जनकले कृषि–यज्ञ गरेका थिए भन्ने देखिन आउँछ ।
सर्लाहीको बलरा बजारनजिक भारतीय सीमावर्ती सानो बजार हो बसबिटा । यस बजारको सम्बन्ध रामायणकालसित रहेको छ । जनकपुरीमा स्वयंवरका लागि आउने अतिथिहरूलाई स्वागत गर्न अनेक स्वागतद्वारहरू बनाइएका थिए । जनकपुरी जानका लागि निर्माण गरिएका १५ वा १६ स्वागतद्वारमध्ये राज्यको सबैभन्दा पश्चिमी सीमामा रहेको स्वागतद्वार यही बसबिटामा थियो । १५औँ वा १६औँ द्वारबाटै कुन अतिथिलाई राज्यको सीमामा प्रवेश गर्न दिने वा नदिने छुट्याइन्थ्यो । यसै क्रममा आत्मज्ञानी सुकदेव ऋषिलाई पनि विवाहयज्ञमा जानुपर्ने थियो । उनलाई तत्काल प्रवेश गर्न दिइएन । द्वारपालले द्रूतगामी अश्वारुढ भई म आदेश लिएर आउँछु भनेर गए । सुकदेव मुनिसित समय पर्याप्त भयो । नदीमा (सम्भवतः बागमती) नदीमा स्नान गरेपछि शिवको पूजा गर्न खोजे । उनले राज्यको सीमाबाहिर शिवलिङ्ग स्थापना गरेर पूजा गरे । सोही ठाउँ अहिलेसम्म सुकेश्वरनाथधामको नामले प्रसिद्ध छ । यसलाई प्राचीन धामको रूपमा मानिएको छ ।
राजा सिरध्वज जनकको राज्यको सीमाबाहिर सुकेश्वरनाथ मन्दिरको स्थापना गरिएको थियो । कतै कतै सुकदेव ऋषिलाई सुकेश्वर मुनि पनि भनिएको उल्लेख पाइन्छ ।
त्यत्तिवेलाको अर्को सन्दर्भ पनि विचारणीय छ ।
बिहारको सीतामढी जिल्लासित सिमाना जोडिएको जिल्ला हो शिवहर । यस जिल्लाको सदरमुकाम पनि शिवहर नै हो । शिवहर एउटा सहर हो । शिवहरमा शिवको मन्दिर छ । यस जिल्लाको आस्थाको केन्द्र यस मन्दिरलाई भुवनेश्वरनाथ मन्दिर भनिन्छ जुन अतिप्राचीन मन्दिर हो । एउटा ढुंगाबाट यो मन्दिरको निर्माण भएको छ । के मान्यता छ भने नेपालको पशुपतिनाथ तथा भारतको हरिहरक्षेत्रको बीचमा यो मन्दिर अवस्थित छ ।
जब शिवधनु भाँचियो तब परशुराम रिसाए । परशुरामको रिस रामलाई चिनेपछि शान्त भयो । परशुराम त्यहाँबाट सन्तुष्ट भई आफ्नो तपस्थास्थलीतिर जाने क्रममा बाटोमा हिमालयतिर जान लागेका शिवसित भेट हुन्छ । शिवसित भेट भएको ठाउँ नै यही शिवहर हो । शिवहरमा देकुली भन्ने स्थान छ । देकुली भनेको द्विकुली अर्थात् दुई कुलको मिलन भएको जनाउने शब्द हो । परशुराम पनि विष्णुको अवतार भएको र शिवका परम भक्त भएको सन्दर्भ स्पष्ट छ । जब शिवधनुलाई कसैले भाँच्यो भनेपछि परशुराम कति रिसाएका थिए । उनलाई आवेशावतार पनि भन्ने गरिन्छ । शिव र परशुरामको मिलन भएको देकुलीधाम हो । जनकपुरीको सीमाभन्दा आफूलाई टाढा पु¥याएका परशुराम देकुलीमा आश्रम बनाएर लामो समयसम्म विश्राम गरेका थिए ।
मनको गति समान गतिमा परशुराम हिँड्न सक्ने सामथ्र्य राख्दथे । रामायणअनुसार जनकपुरीबाट परशुराम महेन्द्र पर्वततर्फ प्रस्थान गरेका थिए । शिवहरमा रहेको शिव मन्दिर एकै शिलाबाट बनेको विश्वास गरिन्छ । त्यस जमानामा यहाँ पहाड थियो कि वा पहाडको आकृतिको ठूलो ढुंगा थियो कि ? पृथ्वीलाई दानमा दिएदेखि परशुराम धरतीमा कहिल्यै रात नबिताउने प्रतीज्ञा गरेका थिए ।
के मानिन्छ भने परशुराम अद्यापि जिउँदै छन् । महाभारतमा धेरैलाई युद्धशिक्षा दिएका परशुराममाथि कल्कि अवतार भएपछि भगवान कल्किलाई पनि शिक्षा दिने उत्तरदायित्व छ भन्ने दाबी पुराणहरूको रहेको छ ।
रामायणकालको रौतहटको भूमिसम्बन्धी यदि अन्य तथ्य वा कथ्य छ भने उपलब्ध गराउन आग्रह गर्दछु । अध्ययनको क्रममा थप भेटिएमा जानकारी गराउने प्रयास गर्नेछु ।