आज विश्व उच्च रक्तचाप दिवस हो । आज विश्व दूरसञ्चार दिवस पनि हो ।
उच्च रक्तचाप अहिले धेरै मानिसमा देखा पर्न थालेको छ । खानपान ध्यान दिन नसक्दा तथा शारीरिक व्यायाम पनि नहुँदा उच्च रक्तचाप हुने गरेको धेरैको विश्लेषण रहेको छ । केहीमा वंशानुगत कारणले पनि हुने गरेको सुनिन्छ । अन्य कारण पनि हो तर मुख्यरुपमा जीवनशैलीलाई नै उच्च रक्तचापको कारण मान्न थालिएको छ ।
अहिले कोरोनाको कारण धेरै मानिस घरमै बस्न बाध्य छन् । झन् निषेधाज्ञा र लकडाउनले गर्दा अधिकांश मानिसले शारीरिक श्रम तुलनात्मकरुपमा कमै गर्न पाएका छन् । घरमा त्यत्तिकै बस्नुपर्दा गतिशील मानिसलाई अनेक किसिमको चिन्ता हुने हुन्छ । यस अवस्थामा उच्च रक्तचापका बिरामीले आफूलाई धेरै संयमी बनाउनु आवश्यक छ । अहिलेको विषम परिवेशमा आफूलाई संयमतापूर्वक सम्भव भएसम्म नियमित व्यायाम गरेर र खानपानमा ध्यान दिएर आफूलाई सन्तुलित राख्नु परेको छ ।
कोरोनालाई विस्तारै मानव समुदायले जित्ने कुरामा शंका छैन । एक दिन विश्व नै कोरोनामुक्त हुने छन् । यस विश्वासप्रति आशावान रही उच्च रक्तचाप भएका मानिसहरुले आफूलाई सन्तुलित राखौँ । हरेक अँध्यारोपछि उज्यालो आउँछ र कठिन समयपछि सरल समय आउँछ । फेरि सामान्य समय आउला भन्ने आशा राखौँ । संयमित बनी सन्तुलित भोजन गरौँ र घरमा बसेको समय कुनै तनाव नलिएर उच्च रक्तचापलाई सामान्य बनाउनतिर ध्यान दिऔँ । अहिलेको समयको माग यही नै हो ।