जी.सी.हरि
जन्मभूमि र कर्मभूमिमा कुन बढी गह्रौ होला भनेर तुलोमा राखियो भने के हुन्छ होला ? बराबर वा तल–माथि ? यो नितान्त आत्मानुभव गर्ने पक्ष हो । जसको भौतिक वजन निकाल्न सायदै सकिएला । म रौतहटमा पाइला टेक्दाको समयमा मध्यमाञ्चल विकास क्षेत्र नारायणी अञ्चलमा पर्ने रौतहट अहिले आएर प्रदेश दुईमा पर्ने आठ जिल्लामध्येको एक पृथक विशेषताले भरिपूर्ण जिल्लाको रुपमा प्रख्यात छ । बहुदलीय राजतन्त्रात्मक शासन प्रणाली भएको अवस्थामा रौतहट प्रवेश गरेको म अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुग्दा सत्र वर्ष पार गरिएछ । रौतहट, रौतहट नै र म, म नै छु । परिवर्तन भयो त कहाँ भयो ? संविधानमा, शासन व्यवस्थामा, पाठ्यपुस्तकमा, मिडियामा, विचारमा आदि । अहिलेको प्रदेश पाँच अन्तरगत पर्ने प्यूठानले काठमाडौँ पठाएको मलाई रौतहटले कर्मथलोका रुपमा चिनायो । रौतहट जिल्लाका बारेमा म बोल्नु पर्दैन । यहाँको भूगोल, वातावरण, कार्यकर्ता, नेता, पूर्व मन्त्री र प्रधानमन्त्री, उद्योगपति, साहित्यकार, पत्रकार, इतिहासकार, भाषाविद्, शिक्षक÷प्राध्यापकलगायत नेपथ्यमा बोल्नेहरु नै काफी छन् । यहाँ ढेला बोल्छ भनिन्छ भने मान्छेको त कुरै नगरौँ । जसले गर्दा मलाई पनि बोल्ने बनाएको छ, पढ्ने बनाएको छ, पढाउने बनाएको छ, समस्यासंग जुध्न सक्ने बनाएको छ, मान्छेले आफूलाई परिआएको अवस्थामा के र कतिसम्म गर्छन् भन्ने कुराको पाठसमेत सिकाएको छ । कतिपय अवस्थामा त रुने बनाएको छ भने त्योभन्दा अझ बढी हाँस्ने बनाएको पनि छ । र अन्तमा हातमुख जोर्ने जीवनको एउटा महत्वपूर्ण आधारस्तम्भ पनि तय गरिदिएको छ । म धन्य छु रौतहटसँग ।
यसरी रौतहटसंग मेरो सामीप्य बढ्दै गयो । जिल्लाभरि जताततै त नभनौँ तर लगभग यहाँको मोटामोटी वस्तुस्थितिको नक्सा मानसपटलमा छर्लङ्गै बसिसकेको छ । कतिपय अवस्थामा रहरले त कतिपय अवस्थामा कहरले पनि बाध्य बनाउँदै लग्यो । पेशाले म शिक्षण गर्छु । एउटा शिक्षकले पढ्नु पर्छ पढाउनका लागि । औपच।रिक रुपबाट भन्नु पर्दा सरकारले तोकेको मापदण्डअनुसार पाठ्यपुस्तकको सारांश विद्यार्थीमा हस्तान्तरण गर्नु गराउनु शिक्षकको प्रमुख धर्म हो भने त्योभन्दा महाधर्म भनेको धर्म, समाज, चालचलन, रीतिरिवाज, भाषा, साहित्य, भेषभूषा, भूगोल आदिलाई नबुझेसम्म त्यसले अपेक्षित उद्देश्य प्राप्तिमा अवरोध खडा गर्ने भएकोले गर्दा पनि एउटा शिक्षक यी विविध पक्षमा जानकार हुनै पर्ने हुन्छ जुन सामाजिकीकरणको दिशानिर्देश पनि हो । शिक्षा, जीवन र व्यवहारलाई समीकरण गर्न जानिएन भने खोक्रो भाषणले मात्र केही हुनेवाला छैन भलै पाठ्यक्रम देशको माटो सुहाउँदो होस् कि नहोस् । हरेक घटनालाई जीवन, व्यवहार र प्रयोगसँगसँगै अगाडि बढाउन सकेमा मात्र त्यो सार्थक बन्ने हो । अन्यथा त्यो निरर्थक हुन्छ । गुणस्तर भन्ने कुरा कुनै पनि विद्यार्थी वा मान्छेमा हुन्छ न कि उसको सर्टिफिकटमा । मात्र सर्टिफिकटले बाटो देखाइदिन्छ भने हिड्ने ऊ आफै हो ।
एउटा शिक्षक सामाजिक इन्जिनियर पनि हो । समाजलाई कुन दिशातर्फ मोड्ने भन्ने कुरा उसमा निहित हुन्छ । महिना र वर्षौवर्षसम्म सयौँ र हजारौँको संख्यामा विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भनेको सभ्य समाज निर्माण गर्नु पनि हो । यसका लागि एउटा शिक्षकले विभिन्न पक्षसंग समीकरण गर्दै जानु पर्ने हुन्छ । पहिलो र प्रत्यक्ष समीकरण भनेको विद्यार्थी र शिक्षकको हुन्छ । रौतहटको समग्र भूगोलको प्रतिनिधित्व गर्ने गरी विद्यार्थी स्कूल वा कलेजमा आउने भएकोले आफ्नो समीकरण बलियो बन्नु बनाउनु पर्ने भएकोले त्यो प्रक्रियामा लगभग भिजियो । यसका साथसाथै विद्यार्थीका अभिभावकसँगको समन्वय, सरसल्लाह र सुझाव बिना पनि त शिक्षण सिकाइ प्रभावकारी नहुने भएकोले गर्दा अहिलेसम्म आइपुग्दा हजारौँ अभिभावकसँगको समीकरण छ । एकदमै नजिकको नाता छ यहाँका अभिभावकसँग । टिमवर्क पनि त्यत्तिकै महत्वपूर्ण पक्ष भएकोले आफ्नो विद्यालयलगायत जिल्लाका विभिन्न विद्यालय÷कलेजमा अध्यापन÷प्रध्यापनरत शिक्षक÷प्राध्यापकसँग पनि बलियो र अटुट समीकरण बन्यो । सहयोगी हातहरु पनि थपिदै गए ।
समीकरणको अर्को पक्ष भूगोलसँग पनि भयो । दक्षिणमा सदरमुकाम गौर–दसगजा, उत्तरमा महेन्द्र राजमार्गभन्दा माथि मकवानपुरको तल्लो भाग चुरे भावरसम्म, पूर्वमा वाग्मती र पश्चिममा अरुवा खोलासम्म आफ्नै लाग्छ । व्यापारिक केन्द्र पनि अछुतो रहेन । पुरानो बजार समनपुर, कटहरियालगायत गौर, गरुडा, चन्द्रनिगाहपुर पनि आफ्नै बजार बन्दै गए । साहु–महाजनसँगको नजिकपनले गर्दा पनि जीवन जिउन त्यति अप्ठ्यारो परेन । धार्मिक आस्था पनि त्यत्तिकै अर्को महत्वपूर्ण पक्ष हो । शिवनगर, पौराइबाबा, राजदेवी, मौलापुरलगायत अरु थुप्रै स्थानहरुको नाम लिदा पनि श्रद्धाले शिर झुक्छ ।
अर्को एउटा छोड्नै नसकिने पक्ष हो भाषा साहित्य । यो बडो अचम्मको कुरा रहेछ । मातृभाषा नेपाली भएर पनि अहिले आएर पछिल्लो समयमा रौतहट, बारा, सर्लाही र भारतको वैशाली, मजफरपुरलगायत बिहार राज्य समेट्ने गरी बोलिने बज्जिका भाषाको पनि स्थानीय तहदेखि माथिल्लो तहसम्मका पत्रपत्रिकामा आफ्नो विचार सम्प्रेषण गराउनुले छुट्टै आनन्द प्रदान गराउँछ । यसका लागि बज्जिका शिरोमणि तथा एक सफल शिक्षक, लेखक, साहित्यकार, इतिहासकार तथा पत्रकार सञ्जय साह “मित्र” प्रति आभारी छु भने प्रविधितर्फ उद्धव बडालसँग । यो सँगसँगै जोडिएर आउने अर्को पक्ष चाडपर्व र भेषभूषा पनि हो । यस क्षेत्रमा विशेष महत्वकासाथ मनाइने तर विस्तारै ओझेलमा पर्दै गएका पर्वहरु जितिया, आइतबार पबनी, शतुवान, जुडशीतललगायत मुख्य पर्व होली, छट, दुर्गापूजा, दीपावली, इदले पनि जीवनमा केही पेज थपाएको छ । सोहीअनुसार पहिरिने भेषभूषाप्रति पनि परिचित भएँ । वास्तवमा तराई मधेसमा मनाइने यस्ता चाडपर्वहरुका बारेमा प्रत्यक्ष सहभागी भएँ । यस अवसरमा खाइने खुवाइने परिकारको यादमात्र गर्दा पनि अहिल्यै मुख रसाउँछ ।
मौसम र जलवायुसँग पनि साक्षात्कार गरियो । हिउँदमा अति नै जाडो तथा शीतलहर, हप्ताँैसम्मको घामविहीन दिन चन्द्रमाविहीन रात र बर्खामा प्रचण्ड गर्मी र सोही समयको बाढी र डुबानले दिने समुन्द्रको झल्को पनि जीवनका उकाली ओराली बने । जिल्लाका कुनै पनि ठाउँमा पुग्दा कोही न कोही चिनेको मान्छे भेटिनु वा कतै चिनेको देखेको जस्तो लाग्यो भनेर प्रसंग सुरु हुनुले पनि लाग्छ नेता बन्नु पर्ने रहेनछ । त्यसकारण शिक्षक र इन्जिनियरमात्र होइन एक नेता पनि भइएछ भन्ने भान हुन्छ । अनेक समीकरण बन्दै बनाउँदै गइयो । यहाँका गाउँघर, धारा, इनार, खोला, पोखरी, झरना, रुखवृक्ष, पशुपंक्षी, यातायात, पसल, होटल, मठ–मन्दिर, मस्जिदलगायत अरु तमाम पक्ष पनि जीवनका अभिन्न अङ्ग बने र अन्तमा त्यही नै शिक्षण रहेछ ।
यसरी रौतहटमा यी विविध पक्षबीच प्रत्यक्ष र प्रयोगात्मक समीकरण बन्यो कर्मभूमिका नाममा । यही समीकरण जन्मभूमिमा पनि नबनेको होइन तर त्यो प्रयोगात्मक बन्न भने सकेको छैन । स्वतस्फूर्त जे छ त्यो त्यही नै छ । यो भनेको जीवनको अमूल्य कमाइ पनि हो । आज यसरी हेर्दा एउटा जिल्ला र देश मात्र नभएर सिङ्गो विश्व मानव जाति पृथ्वीका के कस्ता ठाउँ विशेषमा आफ्नो समीकरण गरिरहेका होलान् भन्ने पक्ष पनि एक अनुसन्धानकै विषय हो । राजनीतिक वा प्रशासनिक हिसाबले विभिन्न सिमाना छुट्याइएता पनि पृथ्वी त एउटै नै छ । जो जहाँ छ पृथ्वीमै छ । पृथ्वी कसैको आफ्नो पेवा पनि त होइन । सबैको साझा हो । विविध कारणबस मान्छेको स्वभाव, रङ्ग, तौल, उचाइ, भाषा, र सिमाना न फरक होलान् तर महिला महिला नै हो र पुरुष पुरुष नै हो । त्यसो नभए पृथ्वीको एक धु्रवको पुरुष वा महिलाको स्वरुप अर्को ध्रुवको महिला पुरुषको भन्दा फरक छ त ? छैन । मात्र मान्छेमा एक किसिमको अहम् भने विद्यमान छ त्यो हो– घमण्ड । यो मेरो यो तेरो, मेरो जात तेरो जात, त्यसै गरी धर्म, नाता एक होइन अनेक । जुन राम्रो होइन ।