सर्वसाधारणले सीता भनेर चिन्ने र मुख्य गरी मर्यादापुरुषोत्तम रामकी पत्नी भनेर चिन्ने जानकी यस देशको राष्ट्रिय विभूति पनि हुन् । जानकीको भूगोल हो । जानकीको जन्म भएको मानिएको ठाउँ भारतको सीतामढी जिल्लाको पुनौरा भन्ने स्थान हो जुन सीतामढी सहरसँगै जोडिएको छ । त्यो ठाउँ भनेको बज्जिका मातृभाषी ठाउँ हो र सीतामढीको भाषा, संस्कृति तथा हाम्रो भाषा र संस्कृतिमा कुनै भिन्नता नै छैन । सीताको जन्मदेखि लिएर आदर्शका धेरै मिथकहरु हाम्रो समाजमा विद्यमान छ । रामायणमा वर्णन गरिएकी सीता एकातिर हाम्री छोरी वा बहिनी हुन् भने अर्कोतिर हाम्रो आस्था र श्रद्धाको धरोहर जगत्जननी हुन् । हामीले जब रामलाई भगवान विष्णुका अवतार मान्दछौँ भने सीतालाई लक्ष्मीको अवतार पनि मान्दछौँ । नेपालको राष्ट्रिय विभूति सीतासित हाम्रो राष्ट्रियताको, संस्कृतिको, भाषाको र अन्य धेरै किसिमको नाता रहेको छ । र, यस क्षेत्रमा हिन्दु धर्मावलम्बी धेरै भएकाले सबै किसिमको नाताभन्दा निकै माथि आस्था, श्रद्धा, सम्मान तथा गौरवको सम्बन्ध रहेको छ । वैशाख शुक्ल पक्षको नवमी तिथिका दिन धरतीबाट उत्पन्न भएकी सीताको आदर्श विश्वभर फैलिएको छ । आज संसारले सीतालाई अनेक शुभ विशेषताहरुले पूजा गरिरहेको समयमा सम्भव भएसम्म उनका योगदानहरुको चर्चा हरेक नागरिकले गर्नु आफ्नो परम कर्तव्य ठान्नु पर्दछ । सीताजस्तो नारीलाई संसार रहेसम्म कसैले बिर्सन सक्दैन तथा कोही बिर्सन खोज्छन् भने पनि बिर्सिन दिइनु हुन्न किनभने वास्तवमा जानकी नामलाई कुनै युगले बिर्सन सक्दैन । संघर्ष, त्याग, आदर्श, नैतिकता, धर्म आदिकी प्रतिमूर्ति जानकीको जन्मदिवसको पावन अवसरमा सबैमा बधाई ।