सञ्जय साह ‘मित्र’
रामायणयुगको मुख्यतः सिरध्वज जनकको समयमा रौतहट कथित मिथिलामा थियो कि थिएन ? यसबारे केही चर्चा गरिसकेका छौँ ।
अहिलेसम्मको उत्खननमा रौतहटको पतौरामा जति प्राचीन अवशेष भेटिएको छ, त्यत्ति जनकपुरीको पुराणहरूमा आंकलन गरिएको छ । र, पुनः के भन्न सकिन्छ भने इतिहास तिनीहरूको लेखिएको छ जो इतिहासमा विजेता बने । र, सम्झना तिनीहरूको हुन्छ जसले कुनै कारणले प्रसिद्धि पाएको हुन्छ । हैनभने इतिहासमा सामान्य राजा वा राज्यको आलोचना पनि पाइँदैन ।
अलिकति द्वापरको महाभारतयुद्ध भन्दा केही समय पहिलेको अवस्थालाई हेरौँ ।
जतिखेर हस्तिनापुरमा पाण्डव र कौरव जन्मँदै थिए, त्यत्तिबेला गोकुलमा कृष्ण । यसबेलाको भौगोलिक अवस्था र प्रमुख राजाहरूको चर्चा गर्ने हो भने हस्तिनापुरमा धृतराष्ट्र, मथुरामा कंश, मगधमा जरासन्ध र विराटदेशमा राजा विराट । विराटदेशलाई नै सम्भवतः मत्स्यदेश पनि भनिएको हो, यद्यपि यसमा विवाद रहेको छ । हस्तिनापुरको राज्यलाई पनि पृथ्वी, संसार तथा भारतवर्षको रूपमा स्वीकारिएको छ भने सोही बखत मथुराका राजा कंशलाई पनि संसारका स्वामी, पृथ्वीको मालिक वा भगवानकै रूपमा वर्णन गरिएको छ । यता मगध नरेशलाई पनि झन्डै पृथ्वीपति नै भनिएको छ जबकि यी तीन राज्यहरू एकै समयमा तीन शक्तिशाली राज्यहरू हुन् । शक्तिशाली राज्य र तिनका राजाको वर्णन गर्ने क्रममा यस्ता उपाधिहरू तिनका नजिकका कवि–लेखकहरूले दिने गरेका छन् । हस्तिनापुर राज्यलाई हिमालयदेखि सागरसम्म विस्तार भएको बताइन्छ र सोही समयमा मथुरालाई सम्पूर्ण पृथ्वीकै राज्य भएको चिनाइन्छ । बिहेपूर्व कंशले सबैभन्दा शक्तिशाली राज्य भनेर मगधलाई स्वीकारेका छन् । यति कुरा त स्पष्ट छ कि लेखकको मनोविज्ञान र प्रशंसा चातुर्यमा राज्यको सीमा र राजाको महत्व बाहिर आउने गरेका छन् । वास्तवमा यी राज्यहरू गंगा नदीभन्दा दखिन छन् । गंगाभन्दा उत्तरको भूगोलको विषयमा खासै चर्चा नै गरिएको पाइँदैन । उत्तरका प्रमुख राज्यमा विराटदेशको चर्चा भने पाइन्छ ।
रामायणकालमा गंगाभन्दा उत्तरको क्षेत्र जति चर्चामा छ, महाभारतकालमा तुलनात्मक कम देखिन्छ । यद्यपि रामायणमा सजिलै लंकासम्मको चर्चा पाइन्छ । महाभारतयुगभन्दा पहिलेको रामायणयुगमा यति धेरै चर्चित रहेको भूगोल गुमनाम भएको होइन, देखिएको हो जुन वास्तवमा लेखकको नजरमा पर्न नसकेको हो वा यस क्षेत्रमा कुनै भयंकर युद्ध हुन सकेन वा यो क्षेत्र विजेताको क्षेत्र बन्न सकेन ।
पतौराको गर्भमा रहेको अतिप्राचीन अवशेष वैशालीसित मिल्ने किसिमको रहेको छ । वैशालीमा पनि केही वर्ष पूर्व अतिप्राचीन शिवलिङ्ग फेला परेको जहाँ विशाल मन्दिर बनाइएको छ । सतहभन्द डेढ मनुस गहिरो शिवलिङ्ग देखिन्छ । पतौरा र वैशालीमा भेटिएको शिव मन्दिरको समय पनि एकै हुनुपर्छ लगभग । पतौराको धरतीभित्रको अवशेष पनि करिब सोही समयको हुनुपर्छ ।
सिरध्वज जनकको समयमा सम्भवतः पतौरा कुनै राज्यको राजधानी थियो । जहाँ शिवपूजक राजा थिए र राजदेवीको पनि पूजा हुन्थ्यो । दरबारको अवशेष र शिव मन्दिरको अवशेष फेला परिसकेका छन् । यसको पूर्वी सिमाना सिरध्वजको राज्यको सिमासित जोडिएको थियो र पश्चिमी चाहिँ गण्डकसित । दक्षिणमा यसको सिमानाबारे केही किटान गर्न सकिन्न किनभने समय समयमा परिवर्तन भइरहन्थ्यो । उत्तरमा भने निसन्देह वनखण्ड र पर्वत हुनुपर्दछ । अहिलेसम्म पनि मौलापुर डिह, सोनवा डिह, बैरिया डिह, औरही डिहबारे अध्ययन हुन सकेको छैन । यस्तै एउटा डिह गेडहीको आँट पनि हुनुपर्छ जसबारे पछि कुनै एक अंकमा प्रकाश पार्नेछु । सम्भवतः राजधानीलाई चारैतिरबाट सुरक्षा दिन पहराको लागि अग्लो भवनसहितको सुरक्षाकिल्ला बनाइएका थिए । बारा जिल्लामा रहेका १२ गढीमध्ये केही यसै राज्यका सुरक्षागढी हुनुपर्छ जुन पतौराको ध्वंशपश्चात् जब सिमरौनगढ स्थापना हुन्छ तब यसका गढीका परिणत भए ।
हैनभने पतौराको इतिहास कसरी धरतीमा विलीन हुन पुग्यो ? सन् १०९७ मा सिमरौनगढमा नान्यदेवले राजधानी स्थापना गरे । सन् १०९७ भन्नु विक्रम सम्वत् ११५४ हुन आउँछ । कागजपत्रले के देखाउँछ भने वि.स. १११४ मा ईशनाथ महादेवको मन्दिर स्थापना भएको छ जसलाई इ.स.मा गर्दा १०५७ हुन आउँछ । अब कुन कुरामा ध्यान दिनु आवश्यक छ भने जब सन् १०५७ (वि.स.१११४) मा ईशनाथ महादेवको स्थापना भएको विषयमा स्थानीयलाई जानकारी छ, कागजपत्रमा पनि उल्लेख पाइन्छ र मन्दिरको अवशेष अहिलेसम्मै रहेको छ भने पतौराको बारेमा किन कतै इतिहास, किंवदन्ती वा जनश्रुति वा अन्य स्रोत मौन छन् ? यसबाट यो अनुमान लगाउन सजिलो हुन्छ कि यहाँ कुनै राजाको राज्य थियो र कुनै प्राकृतिक वा राजनैतिक कारणले इतिहासमा विलीन हुन पुग्यो जसरी वैशालीको राज्य विलीन हुन पुग्यो र तथ्यहरूले विस्तारै वैशालीबारे किन बोल्न थाले भने वाल्मीकि रामायणमा त्यहाँको राज्य र राजाको बारेमा सुरक्षित पारिएको छ । त्यहाँ यदि राम नपुगेका भए र सम्राट अशोकले स्तम्भ नबनाएका भए त्यहाँको इतिहास के हुन्थ्यो ? यदि लुम्बिनीमा सम्राट अशोकले स्तम्भ नबनाएको भए लुम्बिनीको इतिहास आधुनिककालमा बाहिर आउँथ्यो कि इतिहास हराइसक्थ्यो ? सम्भवतः समृद्ध कुनै राज्यको इतिहास हराएको छ र यहाँ कुनै प्रसिद्ध राज्यको राजधानी अति प्राचीनकालमा थियो र त्यो राज्यमा विशेष कुनै मौलिक घटना हुन सकेन वा पुराणसित सम्बन्ध रहन सकेन वा पौराणिककालमा यसको कुनै अर्कै नाम थियो जो अहिले गुमनाम भएको छ वा जसको पौराणिक नाम अहिले कसैले हरण गरिसकेको छ । यहाँका राजा शिवपूजक थिए, वैशालीजस्तै । वैशालीबाट गएकाहरूले नेपाल उपत्यकामा पनि शिवपूजन परम्परालाई कायम राखेका थिए । अहिले पनि यस क्षेत्रमा शिवको विशेष पूजा प्रचलनमा रहेको छ ः मधानी, लखराँओ, धानको मोर चढाउने, भन्टाको भार चढाउने आदि अन्यत्र पाइँदैन ।
पतौरा कुनै जमानामा पतझर वन रहेको हुनुपर्छ । पतवराबाट पतौरा, पतरौलाबाट पतौरा आदि कुनै पातसँगै सम्बन्धित भएर पतौरा तथा पथरा भएको हुनुपर्छ । यसै गरी मौलापुर मलाई लाग्छ राजाको मूलपुर हो । राज्यको राजकाज सञ्चालन हुने राजगृह चाहिँ पतौराको मन्दिरको छेउमा र मूल बासस्थान चाहिँ मूलपुर हुनुपर्छ । यही मूलपुर चाहिँ कालान्तरमा मौलापुर भएको हो । अर्को अनुमान यो पनि हो कि शिवजीको जट्टालाई मौला भनिन्छ । शिवको जट्टाको नामबाट मौलापुर भएको हुन सक्ने अनुमान पनि स्वाभाविक हो ।
नामकरणभन्दा पनि स्थान र इतिहासको पक्षलाई विशेष ध्यान दिनु आवश्यक छ । अलिकति आसपासको क्षेत्रलाई विचार गरौँ ।
श्रीमद्भागवतअनुसार पूर्वी चम्पारणको केसरिया सत्ययुगमा महाराज वेनको राजधानी थियो । यसै गरी मोतिहारीनजिकको लखौरा भक्तराज ध्रुवका पिता उत्तानपादको राजधानी मानिन्छ । एक ठाउँमा यो उल्लेख पाइन्छ कि महाभारतको समयमा यो सम्पूर्ण क्षेत्र राजा विराटको थियो । बौद्धकालीन समयमा भगवान बुद्ध महापरिनिर्वाणको लागि गइरहेको समयमा पूर्वी चम्पारणको लौरिया भन्ने स्थानमा आफ्नो मुण्डन गराएका थिए । लौरियाको प्राचीन नाम लौहित्यनगर हो । लौहित्यनगर महाराजा पद्यमनन्दको पहिलो पुत्र सम्राट चन्द्रगुप्त मौर्यको जन्मस्थल तथा सम्राट अशोकका पितामहको पनि जन्मस्थलको रूपमा प्रसिद्ध रहेको छ । चम्पारणको इतिहासको अध्ययन गर्दा राजा जनक (सिरध्वज)को समयमा चम्पारण तिरहुत प्रदेशको अंग रहेको उल्लेख पाइन्छ । अहिले पनि पूर्वी चम्पारण बिहारको तिरहुत प्रमण्डलको एक जिल्ला हो । स्मरणीय त यो पनि छ कि मोतिहारीभन्दा झन्डै अठाइस किलोमिटर दक्षिण–पश्चिममा रहेको छ अरेराजको शिवमन्दिर । यसलाई प्राचीन मन्दिरको रूपमा लिइन्छ र अरेराजको मन्दिरलाई महाभारतकालीन शिव मन्दिरको रूपमा स्वीकारिन्छ ।
भनिन्छ, कसैको इतिहास र संस्कृतिलाई सम्पूर्ण नष्ट गर्नुछ भने सबैभन्दा पहिले ब्रेनवाश यसरी गर्नुपर्दछ कि मानसपटलमा आफ्नोपनप्रति विश्वास नै नरहोस् । अहिले यस्तै भइसकेको छ । अध्ययन नै नगर्ने, अध्ययन गरे पनि अर्काको लागि अध्ययन गरिदिने, आफ्नोप्रति विश्वास नगर्ने, आफ्नो इतिहास र संस्कृतिको खोजी नगर्ने । अरुले जे भनिदिएको हुन्छ, त्यसैमा आँखा चिम्लेर विश्वास गरिदिने वा कसैको अन्धभक्त भइदिने ।
यसरी कसैले सोचेका छौँ ? ः यस भूमिमा आर्यनहरूको आगमनभन्दा पहिले नै द्रविडहरू आइसकेका थिए ।
यदि यस दृष्टिकोणले यस क्षेत्रको अध्ययन गर्ने हो भने सबै पुराण र पौराणिक ग्रन्थलाई एकातिर राखेर नवीन ढंगले पो अध्ययन गर्नुपर्छ कि ?
रौतहटको इतिहास घोर अन्धकारमा । घोर अन्धकारमा आँखा चिम्लनु र खोल्नुमा के भिन्नता रहन्छ भने आँखा खोल्नेलाई विश्वास हुन्छ कि मैले आँखा खोलेको छु र केही देखिने भएमा जहाँ जे देखिन्छ त्यो देखिहाल्छ तर चिम्लनेले यो बुझ्दछ कि आँखा चिम्लनु र बन्द गर्नु उस्तै हुन्छ । हो, घोर अन्धकारमा आफूसित भएको अलिकति प्रकाशले रौतहटको इतिहास खोजी गर्दैछु । अपत्यारिलो अन्धकारयुगमा यस्तै देखिएको छ अहिले ।