नेपालमा सबै किसिमको विविधता र विभिन्नता पाइन्छन् । नेपालको बारेमा जति धेरै जान्ने प्रयास भइरहेको छ उति नै धेरै बुझ्न बाँकी रहेको पनि देखिँदै आएको छ । नेपालमा हरेक दशकमा हुने जनगणनालाई आधार मान्ने हो भने हरेक क्षेत्रमा नवीन तथ्यहरुले यस देशलाई उज्यालोमा ल्याएको पाइन्छ । यस देशको सिमानाभित्र गरिने अन्य गणनाहरुले समेत यसको विभिन्न्ता र विविधताको क्षेत्रलाई निरन्तर फराकिलो पार्दै लगेका छन् । भूगोलमा केही सानोजस्तो देखिएला छिमेकीहरुको तुलनामा तर लघुताभित्रको विशालताले भने संसारलाई अचम्भित र आश्चर्यचकित पार्दै आएको छ ।
जहाँ पाइलैपिच्छे अनेकताको राज छ, विविधताको सुगन्ध छ र फरकपनको मौलिकपना छ । विविधता र नौलोपनाको बहुरंगी फूलबारीमा अनेक जातका मानिसहरुले आफ्नोपनलाई युगाँैदेखि बचाइरहेका छन् । यस भूतलमा आफ्नो पहिचानको अस्तित्वलाई एउटा सानो कुनोमा जीवित राखेर सदियाँैदेखि अरु विस्फारित संख्यामा रहेका पहिचानलाई हिमालझैँ हेर्दै आफ्नो शिरलाई ठाडो पारेका जाति पनि छन् भने विशाल भूगोलको चतुष्मुखी फैलावटमा फिँजाउने जातिले समेत सहअस्तित्वको सन्मार्गमा डो¥याएर आफूलाई देशको सम्मानमा समर्पण गरेका छन् । हातका औलामा गन्न सकिने संख्यामा रहेका जातिले आफूलाई राज्यले संरक्षण गरिरहेको पाउँछ भने यही धर्तीका सपूतहरुले अल्पसंख्यकको संरक्षण गरी पुर्खाहरुले समेत अगाडि बढाएको सौहार्द्रपूर्ण विविधताको सम्मान गर्दछन् ।
यस भूस्वर्गमा जातजातिको मौलिक पहिचानभन्दा अझ बढी भाषाभाषीको स्वाभाविक प्रस्फुटन पाइन्छ । एउटै जातिले अनेक भाषा बोल्ने ठाउँ यही हो । जहाँ डाँडैपिच्छे कथ्यमा विविधता, शैलीको फरकपन र शब्दशिल्पको प्रस्तुतिमा नौलोपन पाइन्छ । एउटा डाँडाको कुरो अर्को डाँडाको मानिसले नबुझ्ने ठाउँ यही नै हो । कुनै एउटा फूलबारीमा यतिका भाषाभाषीका स्वतन्त्र फूलहरु फुलेको बगैंचा संसारको अन्य कुनामा विरलै हुनुपर्छ । जहाँ एउटै हाँगारुपी टोलमा अनेक भाषारुपी फूल र भाषिकारुपी कोपिलाहरु फक्रेर देशको सुन्दरता बढाइरहेका र हरेकले एकले अर्काको गर्व र गरिमालाई उँचो बनाउने अभियानमा सक्रियता देखाएको अनौठो चलन देखाएका छन् । भाषाको सवालमा त आफूले अरुलाई चिनाउने र अरुले आफूलाई चिनाउनेजस्तो विशिष्ट परम्परा विकसित भएको छ यहाँ जसले भाषिक मौलिकता र नयाँ भाषाको विकास परम्परालाई सहयोग पु¥याएको छ ।
के छैन यहाँ ? यस धरतीले हिमाल उमारेर आकाशलाई शीतलता दिएको छ । सगरलाई छुने माथहरुले धरतीको माथलाई अझ उँभो बनाएको छ । नेपालको उत्तरी क्षेत्रमा रहेका हिमाललाई केवल कल्पनामा सीमित भएको यदि सपना देख्ने हो भने पनि यो धरती कुरुपमात्र लाग्दैन, विरसिलो र अनाहकको जस्तो भइदिन्छ । किनभने सुन्दर पृथ्वीले आफूलाई अझ सुन्दर बनाइराख्न नै हिमालयको कल्पना गरेको हो । हिमालयमा जहाँ जून मुस्कुराउँदा धरतीलाई सेताम्मे हाँसिरहेको पाउँछ । आकाशमा रातभरि ताराहरु टल्किँदा हिमालयको हिउँले गिज्याउँछ । जब धरतीलाई तिर्खा लाग्न थाल्छ तब उही हिमालयको छाती द्रविभूत भएर रसाउन थाल्छ र धरतीलाई हिउँदमा चिसो पानी दिएर आफूलाई पनि तृप्त पार्दछ । हिमालयले आफ्नो तिर्खा त बाह्रै महिना चल्ने चिसो बतासले पनि मेटाउँछ ।
जहाँ बाह्रै महिना आकाशले धरतीको दर्शन गर्न पाउँछ, पहाडको शिरमाथि जूनतारा मुस्कुराउँछ । धरतीमा फुलेको सेतो फूलप्रति सम्मोहित भई आफूमात्र हेरिरहन सूर्य र चन्द्र लुकामारी खेल्दछन् । धरतीलाई भेट्न आकाशबाट ओर्लने शीतका कणहरु सम्मोहित र आशक्त भई सेता भुवाको रुप धारण गरी यहीँ आफूलाई विलिन बनाउन चाहन्छन् । यो यही भूमि हो जहाँ आएर आफ्नो जीवनयात्रालाई फलिभूत पार्न समुद्रका जलचर पनि पशुपतिको यात्रा गर्दछन् । के पनि भनिन्छ भने यस धरतीको माटोमा टेक्ने, बाटोमा टेक्ने र पानीमा हेलिनेहरु पनि पुण्यको प्राप्ति गर्दछन् । यसैले त भनिएको पनि छ – जहाँ ढुंगा ढुंगामा देउताको बास छ ।
हुन पनि हो, यो ठाउँमा देउताहरु पनि एकबाजी आएपछि फेरि फर्केर जान बिर्सेका छन् । यसैले यहाँ हरेक ठाउँमा देवदेवीका मन्दिरहरु छन् । मानिसमा देवत्व भरिएको छ । (बुद्ध जन्मेको यही भूमिमा अझै जीवित देवी कुमारीको दर्शन गर्न पाइन्छ र यसैले यहाँ देवताहरु अझै पनि जन्मिइरहन चाहेका छन् ।) यसै भूस्वर्गलाई अझ सुन्दर बनाउन देउताहरुले खोलाको किनार सजाएका छन् । हेरौँ न हाम्रो संस्कृति र सभ्यतालाई । नदीका किनारहरुमा नै हाम्रो सभ्यताको विकास भएको गर्विलो इतिहास छ । हाम्रा देउताहरुले नदीको किनारमा नै बस्न रुचाएका छन् । त्यसैले नदीको संस्कृति हाम्रो सभ्यतासित जोडिएको छ । नदीको प्रभाव हाम्रो संस्कृतिमा परेको छ । जन्मँदा हामी बालखलाई गंगाजलले अभिषेक गर्दछौँ । मर्दा पनि पितृलाई नदी किनारमा नै अन्तिम संस्कार गर्दछौँ । प्रकृतिको काख रसाएर बगेका यहाँका पवित्र नदीहरु हाम्रो संस्कृतिजस्तै मौलिक रहेका छन् । धारण गरेर जन्मदेखि मृत्युसम्मका संस्कारहरुलाई नदीले हाम्रो असभ्यतालाई बगाएर लैजान, विकृतिलाई पखालेर सुकीर्तिलाई उज्ज्वल बनाउन सहयोग गरेको छ । मानौँ नदीहरुले हाम्रो संस्कृतिको संरक्षण गरेर हाम्रो ऋण तिरिरहेका छन् ।
हिमालयको सिरानबाट बगिरहेका नदीहरुले आफ्ना शाखा–सन्तानसहित मधेसको धरतीलाई भेट्न गरेको हतार देखेर हरिया पाखापर्वत, वनेली चराचुरुङ्गी र मृगशावकहरुसमेत अचम्मित हुन्छन् । हरियो दोसल्ला ओढेको पहाडलाई हेरेर दंग पर्दै तलतिर झरेका खोलाखोल्सीहरु उही मृगशावकहरुझै उफ्रिन रुचाउँछन् समतल फाँटमा । प्रकृति आफैँमा आफैँसित लुकामारी खेल्ने यो पवित्र भूमिमा मौसमले समेत बासस्थान बनाएर स्थायी बसोबास गर्न चाहेको अनुभूति हुन्छ । हेरौँ न, गर्मी मौसम आएपछि उखरमाउलो गर्मीले धरतीका सबै कलुषलाई मेटाएर आफूमात्र बाँच्न खोजेको देखिन्छ । गर्मी मौसमले आफ्नो प्रचण्ड रुप देखाएर जुन आनन्द पाउँछ, बाध्यताको कारणमात्र यहाँबाट फर्किन बाध्य हुन्छ । वास्तवमा गर्मी मौसम फर्किनको लागि मात्र ढिलो गर्दछ, यहाँ आउन त जहिले पनि हतारै गरेको हुन्छ । वर्षाले पनि यहीका गाउँहरुको चरण स्पर्श गर्न खोलालाई फौजी आदेश दिने गर्दछ । कहिले कटान गरेर त कहीँ डुबानमा पारेर हरेक वर्ष बढ्दो मात्रामा वर्षायामले पनि गाउँहरुको माध्यमले यहाँका मानवरुपी देवताका क्रीडास्थलहरुको स्पर्श गर्न छाडेका छैनन् । जाडोले त झन् कमाल नै देखाउँछ हरेक आगमनमा । आफ्नो हरेक पदार्पणलाई अविस्मरणीय र चिरस्मरणीय बनाइराख्न जाडो मौसमले आफ्ना पुराना सम्पूर्ण रेकर्डहरु भत्काउँदै मानौँ हरेकपल्ट गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन चाहने गरी आफ्नो क्षमतामा भएको वृद्धिलाई प्रदर्शन गरिरहेको हुन्छ ।
धरती स्वयं पवित्र हुने र स्वर्गले पनि ईष्र्या गर्ने यस पावन भूमिमा जसले आफैँ ठूलो बनेर अरुलाई सानो देखे उनी आफैं होचिए । जसले सबैलाई बराबर माने उनी आफैं सबैका दृष्टिमा सदाका लागि पूज्य बनिरहे । जहाँ कुनै आतङ्क पनि आतङ्कित बनी शान्तभूमिमा अद्वितीय आनन्दको अनुभूति गर्दछ । स्वयं शान्तिको मनमा पनि अशान्त र उद्वेलन हुँदा जुन धरतीलाई हेरेर तृप्त हुन्छ । यो पावन भूमि मेरो हो र म यो पावन भूमिको हुँ भन्दा विश्वको जुनसुकै कुनोमा रहेर पनि मानिस गर्व गर्दछ । यसलाई नमन गर्नेहरु स्वयं नमन प्राप्त गर्दछन् । धरणीको सबैभन्दा अग्लो स्थानमा रहने हामी साँच्चिकै पुण्यगामी छौँ ।
यस भूमिमा अनेक जाति, धर्म, भाषा, संस्कृति र सभ्यताले पखेंटा फिँजाएका छन् । अझै पनि आफूलाई चिनाउन र आफ्नो प्रभाव विस्तारमा लागिरहेको यथार्थिक धरातलमा कतै कुनै वैमनस्य पाइन्न । आफ्नो प्रभाव विस्तार गर्न कसैले यहाँ अरुलाई दबाएको देखिन्न र आफ्नो क्षेत्रमा कोही आएर प्रभाव जमाउन खोजेको भन्दै कसैले धपाएको पनि उदाहरण पाइन्न । ठूलो प्रभाव र हैसियत हुने जाति, धर्म, संस्कृति र सभ्यताले अल्परुपमा रहेका जाति, धर्म, संस्कृति र सभ्यतापालकको सम्पत्ति, भूमि, नारी र सर्वस्व लुटेको, अपहरण गरेको, धपाएको इतिहास नभएर यहाँको सभ्यता र संस्कृतिको इतिहासले सहअस्तित्वको परम सुन्दर संस्कारको राजमार्ग तयार पारेको छ । यहाँ आफैँले आफ्नो विस्तार र विकास गर्ने क्रममा अरुको विनाशको कल्पनै नगर्ने जुन अद्वितीय परम्परा रहेको छ, यसले देशको गरिमा र गर्वलाई सगरमाथाभन्दा उँचो बनाएको छ जसलाई विश्वले शिर उठाएर सदैव सलाम गरेको छ ।
इतिहास, संस्कृति, धर्म र देवताका साथै अनेक गर्वहरुको प्यारो जन्मभूमि नेपालको पाइला पाइलामा गर्व गर्न स्वयं जन्मदाताहरु पनि आफ्नो छातीलाई फराकिलो बनाउँछन् । अन्तर्मनको शिरलाई ठाडो पारेर आफ्नै रङ्ग र रक्तले देवत्व प्राप्त गरेको देखेर मातापिताहरु दङ्ग छन् । जहाँ मातापितालाई देउताभन्दा पनि ठूलो मानेर श्रद्धा र सम्मान हुन्छ, यही भूमिमा सन्तानप्रति मातापिता पनि गर्व गर्दछन् । मातापिताले साधारण ठानेको सन्तानले बुद्धत्व र कुमारीत्व प्राप्त गरिरहेको यस भूमिमा तेतीस कोटि देवताको बास छ । यस पावन धरतीलाई कसैले इतिहासमा यसै कारण आफ्नो अधीन पार्न सकेन । धरतीको जन्म भएदेखि यो भूमि आफैँमा अजुठो छ र पवित्र छ । कसैले बिटुल्यान नपाएको यहाँको शासनाधिकारी स्वयं आफू नै बनिरहने गौरव नेपालीलाई मात्र प्राप्त छ । धरणी जन्मेदेखि स्वतन्त्र यस भूगोलको वीरताले विश्वलाई अनेकतामा एकताको, विविधतामा समानता र समभावको पाठ सिकाएको छ । स्वतन्त्रता र स्वाधीनताको कोशीय अर्थ त विश्वले नेपालबाट नै सिकेको छ । अरु कैयनलाई आफ्नो स्वतन्त्रता र स्वाधीनताको लडाइमा नेपालीले साथ दिएका छन् । विश्वको रक्षामा पनि आफ्नो प्राण अर्पण गरेका छन् कैयन नेपालीले । अद्यपर्यन्त पनि विश्वको कुना कुनामा नेपाली युवक शान्तिका निम्ति समर्पित छन् । नेपालले कहिल्यै पनि आन्तरिक शान्ति वा बाह्य आक्रमणमा कसैको याचना गरेको छैन । इतिहासमा यदाकदा भएका सानातिना आन्तरिक गडबडीको घडीमा विदेशी हतियारधारीलाई नेपालीलाई शान्त पार्न अह्राइएको छैन ।
सर्वत्र अङ्गमा गर्व र गरिमाको पवित्र भष्म लेपनको आत्मरतिको सुन्दर इतिहास बोकेको यस धरतीमा जन्म लिने, पाइला टेक्ने र यसलाई कुनै पनि दृष्टिले सकारात्मक सहयोगको हृदय बोक्ने जो पनि धन्य छन् । जुन धरतीलाई देखेर आकाश, सूर्य, चन्द्र, तारा र ग्रहहरुसमेत अन्तर्हृदयदेखि श्रद्धानत हुन्छन्, यसप्रति समर्पितलाई देखेर श्रद्धाले भरिन्छ मन, यसका सम्पूर्ण अभियन्तालाई मेरो अन्तर्मनदेखि अत्यन्त श्रद्धापूर्वक सम्मानसहित हार्दिक सलाम छ ।