आज गणतन्त्र दिवस हो । देशमा गणतान्त्रिक व्यवस्थाको औपचारिक घोषणा भएको दिन । देशले गणतन्त्र प्राप्त गरेको अति विशिष्ट दिन । यस ऐतिहासिक दिनलाई ल्याउनका लागि ज जसले जहाँ जहाँबाट योगदान दिए ती सबैलाई श्रद्धापूर्वक सम्मान छ र ती महान् सपूतहरु जसले यस देशमा गणतन्त्र ल्याउनका लागि सहादत प्राप्त गरे, तिनीहरुप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली । गणतन्त्र यस देशका नागरिकको निकै पहिलेदेखिको चाहना थियो । देशमा क्रियाशील तत्कालीन अवस्थाका सबै दल मिलेर नै देशमा गणतन्त्र ल्याएको हो । गणतन्त्र घोषणा भएको दिन यस देशका सबै नागरिक खुसी भएका थिए । काठमाडौँको टुँडिखेलमा त अहिलेसम्मकै सबैभन्दा बढी मानिस जम्मा भएका थिए भनिन्छ । काठमाडौँबाहेक देशका अन्य सहर तथा सदरमुकाममा पनि गणतन्त्रलाई स्वागत गर्न लाखौँ मानिस सडकमा उत्रिएका थिए । गणतन्त्रको स्वागतमा दीपावली गरिएको थियो ।
अहिले गणतन्त्र कार्यान्वयनमा आइसकेको छ । जसरी सबै दल र नागरिक समाज मिलेर देशमा गणतन्त्र ल्याएका थिए र गणतन्त्र आउँदा जसरी सबै खुसी भएका थिए त्यसरी नै सबै मिलेर यस देशलाई खुसी बनाउनु परेको छ । गणतन्त्र आएको यतिको दिन बितिसक्दा पनि यस देशमा राजनैतिक खिचातानीको संस्कार भने हराएको छैन । गणतन्त्र आउनुभन्दा पहिले र आइसकेपछि मूलतः राजनीतिक दलहरुको प्रवृत्तिलाई हेर्ने हो भने खासै फरक आएको देखिँदैन । यसले गर्दा देशका नागरिकमा केही निराशा देखिन थालेको छ ।
अहिले देश कोरोनाको महामारीले गुज्रिरहेको छ । हरेक जेठ १५ का दिन देशले गणतन्त्र मनाउँदै आगामी आर्थिक वर्षको बजेट ल्याउने गरेको छ । आज पनि आगामी वर्षको बजेट आउँदैछ व्यापक विवादका बीच । विवाद र राजनैतिक खिचातानीको समयमा आइरहेको बजेटले कम्तीमा कोरोनाबाट नागरिकलाई मुक्त गराउने सपना लिएर आए हुन्थ्यो भन्ने अपेक्षा सर्वसाधारणको रहेको छ । गणतन्त्र दिवसको दिन आउने बजेटले सबैको अपेक्षा पूरा गरोस् । गणतन्त्र दिवसको सबैमा हार्दिक मंगलमय शुभकामना ।