’
महाभारत युद्धमा आफन्तहरूको हत्या भएको र आफन्तसँगै अन्य धेरैको अकाल मृत्यु भएको भन्दै यस पापबाट मुक्तिको लागि महादेवका पूजा गर्नुपर्ने निष्कर्ष निकालिन्छ । महादेवमा पनि साक्षात् महादेव पशुपतिनाथको पूजा सर्वाधिक उपयुक्त हुने सल्लाह हुन्छ । अन्यत्र शिवलिङ्गको पूजा हुने र पशुपतिनाथ साक्षात् भगवान शिव भएकाले त्यहीँ पूजा गर्नुपर्ने सल्लाह हुन्छ । पशुपतिनाथको पूजा गरे पापबाट मुक्ति पाइने आचार्य, पुरोहित, ऋषिसमेतको सुझावपछि पाँच भाइ पाण्डव र कृष्ण पशुपतिको लागि प्रस्थान गर्दछन् । साथमा केही सेवक र सैनिक पनि हुन्छन् ।
महाभारत र चुरेको मध्यवन तथा बागमतीको किनारसित पाण्डव परिचित हुन्छन् । लाक्षागृह काण्डपछि वनक्षेत्रमा धेरै समय पाण्डवहरूको यतै बितेको हुन्छ । भीमको बिहे भएको वर्तमान नगर हेटौंडा हो र घटोत्कचको जन्मस्थल पनि यही क्षेत्र हो । बनवासकालमा धेरै समय पाण्डवहरूले बिताएको क्षेत्र पनि हो यो । बाह्र वर्षको वनवासपछि अज्ञातवास रौतहटको समनपुरबाट सुरु गरेका थिए । समनपुरमा उनीहरू अज्ञात भएका थिए । एउटा सुरुङ खनेर सुरुङभित्र प्रवेश गरी त्यस सुरुङको मुख बन्द गर्न एउटा ढुङ्गा हालेका थिए भीमले । आजसम्म त्यस ढुङ्गालाई भीमेश्वर महादेव भनी पूजा गरिन्छ समनपुरमा । (यससम्बन्धी थप जानकारी मेरो कृति छठ पबनी उद्भव र विस्तारमा रहेको छ ।) महाभारत युद्ध सकिएपछि सपरिवार हिडिम्बिकालाई भेट्न पनि सकिन्छ । अब केही डर पनि छैन । यी सबै संयोग मिलेको हुन्छ । काका विदुरको काँधमाथि राज्य रेखदेख तथा सञ्चालनको कार्यभार सुम्पेर धर्मार्थ र वान्धवबधको पापमोचनार्थ पशुपतिनाथतर्फ प्रस्थान गरेका हुन्छन् ।
सोही क्रममा श्रीकृष्णको आगमन रौतहट भएको हो । नुनथरमा पहिले नै शिवलिङ्ग स्थापना भइसकेको थियो । यहाँ स्वयम् भगवान शिव मृग र पार्वती मृगिनीको भेष धारण गरी वनविहार गर्ने गरेको पाण्डवले श्रीकृष्णलाई सुनाउँछन् । कृष्णले पनि पूजा गर्दछन् नुनथरमा शिवको । अब यहाँबाट विकट बाटो प्रारम्भ हुने हुन्छ । नेपालतिर लगभग सबै यात्रु यहाँ रात्री विश्राम गर्दछन् र प्रातः उत्तरदिशा प्रस्थान गर्दछन् । यहाँ शिवलाई पूजा गरी आफ्नै यात्राको सफलताको कामना गर्दछन् र बागमतीको निकारै किनार पहाड सघन वन र कठिन पर्वततर्फ पाइला बढाउँछन् । यसै गरी नेपालमा पशुपतिनाथको दर्शन गरी वा बेपार गरी फर्किनेहरूले पनि नुनथरमा महादेवको पूजा गरी धन्यवाद अर्पण गर्दछन् । श्रीकृष्णको नेतृत्वमा आएको पाण्डवसहितको टोली तोरीबारी गाउँको आसपासमा रथादिलाई राखी छाडेको लोककथन यस क्षेत्रमा अहिलेसम्म प्रचलनमा रहेको पत्रकार तथा रौतहटसम्बन्धी अन्वेषक प्रकाश तिमल्सिनाले विभिन्न सन्दर्भमा उल्लेख गरेका छन् ।
रथ, केही सैन्य, हतियार, परिधान र सेवक तथा अन्य सामग्रीहरू छाडेर जान र लैजान मिल्ने सामग्रीसहित लिएर पाण्डवसहित श्रीकृष्ण जुन ठाउँमा पूर्ण तीर्थ यात्रीको भेष धारण गरेका थिए तीर्थाटन तथा क्षमापूजापश्चात् सोही ठाउँ भएर फर्के होलान् भन्ने सामान्य अनुमान रहेको छ । यही बाटो भएर फर्केको विषयमा कहीँकतै कुनै चर्चा पङ्क्तिकारले सुनेको छैन । तर यस धरतीमा श्रीकृष्णले पाइलो टेकेको र एक रात बिताएको सन्दर्भ धेरै प्रसङ्गहरूमा आउने गरेको छ । पौराणिक विषयवस्तुका चर्चित आख्यानकार आचार्य चतुरसेनको धर्मो रक्षति भन्ने ग्रन्थले पनि यस कुरालाई पुष्टि गर्ने सङ्केत गरेको छ । कालान्तरमा यससम्बन्धी अन्य अनुसन्धानहरू विश्वास गर्न सकिन्छ तर हेटौंडा सहरको नामकरण, हिडिम्बिका (भुटनदेवी) मन्दिर, फुर्केचौरदेखि नवलपुरसम्मको समथर भूभागको सम्बन्धमा रहेको जनश्रुति आदि साक्ष्यले श्रीकृष्ण र रौतहटको सन्दर्भलाई केही हदसम्म पुष्टि गर्ने आधारहरू दिन्छन् । महाभारत युद्धमा विराट तथा वर्तमान नेपालको पहाडी क्षेत्रका विभिन्न राजाहरूले महाभारत युद्धमा कौरव र पाण्डव दुवै पक्षबाट युद्ध लडेका प्रसङ्गहरू पनि यसका साक्ष्य हुन् ।
हुआङ साङ (-Huang Sang_ ) र रौतहट
हुआङ साङ (Huang Sang) जसलाई जनजिब्रो वा अन्य केही सन्दर्भमा हुएन साङ पनि भनिएको पाइन्छ, चिनियाँ यात्री हुन् । उनको यात्रा वर्णनले नेपाल र भारतको इतिहासमाथि प्रकाश पार्न धेरै सहयोग गरेको छ ।
यी चिनियाँ यात्री कान्तिपुरबाट पाटलीपुत्र जाने क्रममा बागमतीको बाटो नै अपनाएका थिए । प्राज्ञ तथा मैथिली भाषाका साहित्यकार एवम् भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादवले सर्लाहीको बलरामा आयोजित एक कार्यक्रममा नेपालमे बज्जिका भाषाक स्थिति शीर्षकमा मैथिली भाषामा कार्यपत्र प्रस्तुत गर्दै चिनिया यात्री साङ केही दिन रौतहटको समनपुरमा रोकिएको उल्लेख गरेका छन् । उनी बागमती हुँदै भारततिर जाने क्रममा समनपुरमा केही दिन रोकिएको बताएका छन् । सन्दर्भ र स्रोतको हवाला दिँदै प्रा.डा. यादवले यो पनि उल्लेख गरेका छन् कि चिनियाँ यात्री साङले यहाँको भाषा बज्जिका रहेको बताएका छन् ।
तत्कालीन भाषाको स्वरूप कस्तो थियो भन्ने विषयमा त केही ज्ञात पाइन्न तर यसबाट यो स्पष्ट हुन आउँछ कि रौतहटमा हुआङ साङले पनि पाइला टेकेका छन् । रौतहटको इतिहासको लागि यो एउटा उपलब्धि हो । यतिमात्र नभई यस दृष्टान्तले रौतहट र चीनको सम्बन्ध रहेको भन्ने आधार पनि दिन सफल भएको छ । रौतहटको ऐतिहासिक सन्दर्भको लागि यो निकै महत्वपूर्ण पक्ष हो ।
कौटिल्य र रौतहट
कोटिल्यको अर्को नाम चाणक्य हो । कूटनीति वा राजनीतिको क्षेत्रमा चाणक्य भनेर चिनिने कौटिल्य नै हुन् । नीतिज्ञ चाणक्यको राजनीति, अर्थनीति, कृषि, समाजनीति आदि क्षेत्रमा निकै ठूलो ख्याति छ । यसै गरी अर्थशास्त्रको क्षेत्रमा पनि चाणक्यलाई महान विचारकको रूपमा लिइन्छ । संसारले कूटनीतिको क्षेत्रमा चाणक्य र अर्थशास्त्रको क्षेत्रमा कौटिल्य भनेर चिनिएका आफ्नो युगका महान विचारकको वास्तविक नाम विष्णुगुप्त हो । उनी पाटलीपुत्र (पटना)मा जन्मिएका थिए र तक्षशीला गुरुकुलबाट दीक्षित थिए । उनी त्यही आचार्य पनि भएका थिए । उनी चाणक्यको रूपमा नन्दवंशको शासनलाई नै पल्टाउने सामथ्र्य चन्द्रगुप्तमा भरेका थिए । चन्द्रगुप्त यिनै महान कूटनीतिज्ञको सहायताले सम्राट बनेका हुन् भन्ने कुरो घामझैं छर्लङ्ग छ इतिहासमा । चन्द्रगुप्त मगधका सम्राट भएपछि चाणक्यले अर्थशास्त्र लेखे । यही अर्थशास्त्रलाई कौटिल्यको अर्थशास्त्र भनेर विश्वले चिनेको छ । प्रागैतिहासिक विषयका निबन्धकार शीतल गिरीले कौटिल्यको अर्थशास्त्रमा पनि समनपुर (रौतहट)को उल्लेख रहेको वा संकेत रहेको उल्लेख गरेका छन् । यो यसकारण पनि सम्भव छ कि पाटलीपुत्र र कान्तिपुर (नेपाल)को व्यापार निकै पहिलेदेखि चल्दै आएको थियो । मगधको राजधानी चन्द्रगुप्त मौर्यकै समयमा पाटलीपुत्र पनि रहेको उल्लेख कतैकतै पाइन्छ । पाटलीपत्र राजधानी भए वा नभए पनि एक व्यापारिक स्थलको रूपमा प्रसिद्ध भइसकेको थियो । पाटलीपुत्रबाट कान्तिपुरका लागि हिँडेको बेपारी वा कान्तिपुरबाट पाटलीपुत्रका लागि प्रस्थान गरेको बेपारीको दृष्टिमा समनपुर पनि एक केन्द्र भएको र कौटिल्यले सुनेको वा आफैंले देखेको पनि हुन सक्छ, अर्थशास्त्रमा यस स्थलको नाम उल्लेख गरेको हुनुपर्छ । यसलाई स्वाभाविक मान्नु उचित होला ।
रौतहट धेरै क्षेत्रमा पछाडि छ तर पुराण र इतिहासका कतिपय सन्दर्भमा भने रौतहटले सम्मान पाएको देखिन्छ । कालान्तरमा यस्ता सम्मान र गर्वमाथि इतिहासको धुलो पर्दै गयो र इतिहासका अनेक पक्ष धुमिल भए । अन्य अनेक पौराणिक सन्दर्भ पनि हुनुपर्छ । ऐतिहासिक सन्दर्भका विशिष्ट क्षणहरू तथ्यमा रहे पनि स्थानीय भने पूर्णतया अज्ञात रहेको पनि पाइएको छ । रौतहटको इतिहासको दुर्बल पक्ष यही हो । तथ्यलाई नजर अन्दाज गरी अनुमानलाई स्वीकार्नु हुँदैन । र, साक्ष्यहरूले पनि इतिहास बोलेको सुन्नुपर्छ, साक्ष्यको बोली बुझेर इतिहासको पुनर्सिर्जन पनि गरिनुपर्छ ।