अध्यात्मको ठूलो स्थान समाजमा रहेको छ । अध्यात्म ज्यादै गहिरो र सतहमा देखिने धर्म तथा धार्मिक गतिविधि भए पनि उच्च बौद्धिकवर्गमा अध्यात्म शब्द बढी प्रचलनमा रहेको छ । अध्यात्मलाई सतही रूपमा बुझ्नेले यसैकारण धर्म भन्ने गरेका छन् । धर्मलाई त कर्तव्यको रूपमा लिन्छन् कतिपयले । यदि धर्मलाई कर्तव्यको रूपमा मान्ने हो भने अध्यात्मको अर्थ संकुचनभन्दा माथि उठ्छ । अध्यात्म भनेको धर्मको गहिराइ हो कि धार्मिक गतिविधिको गहिराइ हो ? सनातनदेखि भनिँदै आएको धर्मको पनि मर्म बुझ्ने भावनाको उच्चतम रूप पो अध्यात्म हो कि ? यस विषयमा अनेक थरि मत हुन सक्छ तर आजभोलि वैज्ञाानिक अध्यात्मवादको चर्चा पनि सुनिन थालिएको छ ।
गीता पढ्नेले अध्यात्मभित्रको वैज्ञानिक दृष्टिकोण पनि पढ्छन् । रावणको वैज्ञानिक दृष्टिकोण पनि निकै माथि रहेको थियो तर धार्मिक आडम्बरहरूले वैज्ञानिकतालाई कम महत्व दिँदै गयो र कालान्तरमा आडम्बरमात्र बाँकी रह्यो तथा विज्ञानलाई अध्यात्मको र अध्यात्मलाई विज्ञानको विपरीत अर्थमा लिन थालियो । अहिले पनि कतिपयले विज्ञानलाई अध्यात्मको विपरीत वा अध्यात्मलाई विज्ञानको विपरीत मान्ने गरेका छन् ।
के भनिन्छ भने जो गतिशील छ उही बढी टिकाउ हुन्छ । आडम्बर गतिशील हुन सक्दैन तर विज्ञान त गतिशील छ । यसकारण एकातिर आडम्बरका क्षेत्रहरू विस्तार हुँदै गए र अर्कोतिर तथ्य र तर्कमा विश्वासका दायराहरू फराकिलो हुँदै गयो । आडम्बरमा तर्कको स्थान हुँदैन तर चेतनाले त तर्क खोज्छ । यसकारण आडम्बरवादीहरू कमजोर हुँदै गए र विज्ञानले विकास गदेै गयो ।
विज्ञान र अध्यात्म एउटै होइन यसकारण मानिसले भौतिकवादी र अध्यात्मवादी भनेर विरोधी मान्छन् । बालबालिकालाई विपरीतार्थी शब्दका रूपमा यसलाई शिक्षण गराइन्छ । तर अहिले वैज्ञानिक अध्यात्मवादको चर्चा चल्नुले फेरि यसलाई बहसमा ल्याएको छ कि अध्यात्म र विज्ञान दुई ध्रुव नै हुन् त ?
एक समय नेपालका एकजना प्रधानमन्त्रीले शुभ साइत भनेर कालो बोकालाई बलि दिएका थिए । ती प्रधानमन्त्री वामपन्थी विचारधाराका थिए । वामपन्थलाई माक्र्सवादी पनि भन्ने गरिन्छ । वामपन्थ वा माक्र्सवादीहरू भौतिकवादी हुन्छन्, अध्यात्ममा विश्वास गर्दैनन् । अध्यात्मको विरोध गर्छन् र धर्मलाई मन्द विषको संज्ञा दिन्छन् । यसकारण वामपन्थी प्रधानमन्त्रीले कालो बोकोको बलि दिँदा निकै आलोचना भएको थियो । माक्र्सवाद र अध्यात्मवादको फ्युजनको संज्ञा दिएर आलोचना गर्ने गरिएको थियो । एकजनाले भौतिकवादी दर्शनको बुइ चढेर अध्यात्मको आराधना भनी लेखेका थिए । भन्नुको तात्पर्य के थियो भने जब भौतिकवादीहरूले अध्यात्मको आडम्बरमा शरणार्थी बन्न जान्छन् तब र जब अध्यात्मवादीहरू भौतिकवादी चर्चा गर्छन् तब दुवै क्षेत्रका बौद्धिकवर्गमा केही नयाँ चिन्तनको जन्म हुन थाल्छ ।
उसो भए वैज्ञानिक अध्यात्मवादको प्रयोजन के हो ? अध्यात्म दर्शनलाई प्रचारप्रसार गर्नेहरूले पनि विज्ञानका उपलब्धिहरूको भरपूर उपयोग गरिरहेका छन् । गर्नेहरूले मेसिनको पूजा पनि गरेकै छन् । कम्प्युटरको पूजा गरेको र कम्प्युटरले पूजा गर्न सिकाएको दुवै देखिन्छन् । वैज्ञानिक उपलब्धिहरूको विरोध नगरी अध्यात्मलाई विज्ञानसँगै जोडेर र विज्ञानको विकासमा अध्यात्मको पनि योगदान रहेको कुरालाई समेत दार्शनिक किसिमले पुष्टि गर्न खोजिएको पनि हुन सक्छ । विज्ञानबाट अलग्गिएर अब धार्मिक पसल ज्यादै समयसम्म चल्न नसक्ने देखेर अब अध्यात्मवादीहरूको ध्यान भौतिकवादी जीवनदृष्टितर्फ तानिएको पनि हुन सक्छ ।
हो, आवश्यकता पनि यही छ । जीवन र जगतलाई जीवनजगत्भन्दा टाढा लैजान चाहनेहरू समाजबाट आफै टाढिन्छन् । मानिसले जे गर्छ त्यसको प्रतिफल ऊ मरेपछि स्वर्ग वा नरकमा जान्छ भन्ने कुरामा मानिसको विश्वास भए पनि वा नभए पनि यसको लागि मानिसले यो यो आडम्बर गर्दा मुक्ति पाइन्छ भन्ने भ्रमबाट निकै हदसम्म मुक्त भएका छन् । कुनै पण्डित वा आध्यात्मिक गुरूलाई दान गर्दा पुन्यको प्राप्ति हुन्छ भन्ने भ्रमबाट मानिस मुक्त भई समाजमा समस्यामा परेका वा अशक्तलाई सहयोग गर्दा केही धर्म होला वा पुन्य होला भन्ने विश्वास गर्नेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । मानिसले विद्यालय वा पुस्तकालयलाई रकम दिन हिच्किचाउँदैनन् तथा समाजमा राम्रा काम गरेकालाई सम्मान गर्न जति उत्सुकता देखाउँछन्, धार्मिक–आध्यात्मिक क्षेत्रमा काम गर्नेहरूप्रति उतिसारो उत्सुकता पाइँदैन । गरिब, दुखीलाई सहयोगको दृष्टिले हेर्नुभन्दा ठग्ने नियत बढी राखेको देखिएकोले पनि पीडितवर्गको ध्यान ढोँगीहरूतिरबाट हटेर यथार्थतिर गएको साँचो हो । यसैले वैज्ञानिक अध्यात्मवादमा ढोंग र आडम्बरविहीन तथा ठगी हुँदै नभएको धार्मिक दर्शनले स्थान पाउला भन्ने अनुमान लगाउन सकिन्छ । तर्कलाई निषेध गरेर होइन, तथ्यलाई बङ्ग्याएर होइन बरु तथ्य र कर्त दुवैलाई एकसाथ समेटेर हेर्नुपर्दछ । आँखा चिम्लेर विज्ञानमाथि पनि विश्वास गर्नु अन्धविश्वास हो र अन्धविश्वासमाथि पनि बहस गर्नु विज्ञान हो । विज्ञानले कार्य र कारण सम्बन्ध खोज्दछ । अहिले मानिसमा यही कार्य र कारण खोज्ने प्रवृत्तिको विकास हुन थालेको छ । मानिसको आधुनिक जीवनशैलीमा अध्यात्मको प्रयोग आवश्यक छ जसले मानिसलाई कुनै जडसूत्रमा नबाँधोस् ।
अध्यात्मले मानिसको बिगार गर्नु हुँदैन । मानव मानवका बिचमा जन्म वा जात वा अन्य मानवीय कारणले विभेद ल्याउनु हुँदैन । मानवलाई सर्वोच्च ठान्नु पर्दछ र मानवीय धर्म निर्वाह गर्न जान्नु पर्दछ ।
दर्शन भनेको मानिसकै लागि हुनुपर्छ । मानिसलाई केही कुराले धेरै समय बरालिनु हुँदैन । मानिसलाई बरालिने किसिमको कुनै पनि धर्म वा अध्यात्मले प्रगति गर्न सक्दैन । मानिसलाई सन्मार्गतिर डो¥याउने, असल चेतना दिने, उच्च विवेक प्रदान गर्ने, प्रज्ञाचक्षु दिने अध्यात्म पनि हुन सक्दछ र विज्ञान पनि हुन सक्दछ । हो, विज्ञान भनेको चमकधमक मात्र होइन । अध्यात्ममा पनि चमत्कार हुन्छ । विज्ञानमा पनि अन्धविश्वास हुन्छ ।
अहिलेको समयमा सबैले के भन्ने गरेका छन् भने मानिसलाई यथार्थबाट टाढा पु¥याउने कुनै आध्यात्मिक चिन्तनले प्रगति गर्न सक्दैन । अध्यात्मको क्षेत्रका धेरै कुरा मानिसले थाहा पाउनु पर्दछ । हुन त विज्ञानका सबै प्रयोग जहाँ पनि र जुनसुकै अवस्था वा क्षेत्रमा वा जसले पनि सजिलै गर्न सकिने होइन । यसको लागि निश्चित वातावरण तथा निश्चित सामग्री पनि चाहिन्छ । समय पनि लाग्न सक्छ । ठूलो त्याग र तपस्या चाहिन्छ । समय, श्रम, मस्तिष्क र अथको ठूलो लगानी चाहिन्छ । अझ धैर्य पनि हुनुपर्दछ । र अध्यात्ममा पनि यी पक्षहरु कुनै न कुनै रुपमा आवश्यक हुन्छन् नै । अध्यात्म पनि प्राविधिक हुन सक्छ । यो आत्मिक हो र हार्दिक हो तर सोचेजस्तो सजिलो भने होइन ।
विज्ञानमा आधारित अध्यात्म वा भौतिकतामा आधारित अध्यात्मवाद नै वैज्ञानिक अध्यात्मवाद हो । भौतिकभन्दा माथि पनि हुन सक्छ तर भौतिकवादभन्दा भने टाढा नहुन पनि सक्छ वैज्ञानिक अध्यात्मवाद ।