अहिले निषेधाज्ञाको समयमा सामान्यावस्थाजस्तो यातायात संचालन हुन सकेको छैन । अहिले कोरोनाको कठिन दिनका बीचमा वातावरण दिवस मनाइरहेका छौँ । निषेधाज्ञाले गर्दा र अझ कोरोनाले गर्दा वातावरणमा प्रदूषण केही कम भएको देखिएको हो । यद्यपि वातावरणको अर्थ एक दिन वा केही दिनको मात्र नभई हरेक दिन हुँदै वर्षभरिको र कुनै एक ठाउँको मात्र नभई हरेक ठाउँसँगै विश्वभरि वा पूरा पृथ्वीकै वातावरण हो भन्ने बुझ्नु आवश्यक छ । विश्व वातावरण दिवसका दिन हरेक नागरिकले आफ्नो वातावरण ठिक छ कि छैन ? आफू बस्ने घर, आफ्नो कार्यालय वा कार्यथलोदेखि लिएर आफ्नो समाजको भौतिक वातावरणको बारेमा चासो राख्नु पर्छ र सचेत हुनुपर्छ । वातावरण स्वच्छ नभए जीवन सरल हुन सक्दैन । जीवनलाई सरल र स्वस्थ्य बनाउन वातावरण स्वच्छ हुनु आवश्यक छ । वातावरणको स्वच्छताले गर्दा विश्वका सबै मानिसको स्वास्थ्य र पृथ्वीमा जीवनको पनि आश रहन्छ र यदि वातावरण खराब भयो भने केही दिन हामीले हाम्रो आकाशमा धुम्मिएको जस्तो जुन परिस्थिति भोगेका थियौँ, त्यस्तो विषाक्त वातावरण नहोला भन्न सकिन्न । वातावरणप्रति हरेक किसिमले सचेत हुनु जरुरी छ । वातावरणप्रति विश्वकै चासो रहेको छ । यसै कारण हरेक व्यक्तिले पनि यसप्रति चनाखो हुनुपर्छ । वातावरण स्वच्छ बनाउनु हरेक व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक र राष्ट्रिय दायित्व हो । यो मानवीय दायित्व पनि हो । अहिले भर्खर सरकारले ल्याएको आगामी वर्षको लागि बजेटमा चालिस माइक्रोनभन्दा कमको प्लास्टिकको प्रयोगमाथि प्रतिबन्ध लगाएर वातावरण संरक्षणको क्षेत्रमा एउटा क्रान्तिकारी काम गरेको छ । यसलाई कार्यान्वयन गर्न सकियो भने नेपालमा प्लाष्टिकबाट हुने जल, थल, वायु तिनै थरिको प्रदूषणलाई कम गर्न निकै ठूलो सहयोग पुग्ने देखिन्छ । हरेकले कम्तीमा एउटा रुख रोप्नुपर्छ र त्यसले विश्वको वातावरणमा सकारात्मक योगदान दिइरहेको कुरालाई मनमा लिँदै त्यसमाथि गर्व गर्नुपर्छ ।