‘‘आ! यो लकडाउन त कहिले सकिएला जस्तो भयो ! कोरोनाले के गर्छ थाहा भएन यस्तै चाल हो भने मानसिक बिरामी चाहीँ भइन्छ ।बरु अफिस खुले त एकछिन भएपनि आनन्दले सास फेर्न त पाइन्थ्यो । यो पका , त्यो पका , यस्तो खाने, उस्तो खाने भान्छबाटै अम्किनैपाइँदैन भनेको ।’’ संयुक्त परिवारमा बिहानदेखि बेलुकासम्म घरको कामले आजित भएकी साथीको भनाइ हो यो । “परिवारमा सात सदस्य छन् ।बूढी सासु बुढी हुनुहुन्छ । सासु ,ससुरा देवर, नन्द र श्रीमान् । नन्द र देवरको अनलाइन कक्षा छ ।सासुको टाउको जहिल्यै दुख्छ ।श्रीमान्ले सघाउन खोज्दा उल्टो मुख फुल्छ । म त दिक्क भइसकें न माइत जान पाइन्छ ।’’ साथीको गुनासो सुनेपछि यस्तो लाग्यो यो मेरी साथीको गनगन मात्र होइन । लकडाउनको समयमा अधिकांश महिलाहरूको साझा भोगाइ हो । संसार ठप्प भएर घरभित्र थुनिएको समयमा सबैभन्दा चलायमान भान्छा भएको छ । भान्छासँगै घरका अरु कामले महिलाहरुको व्यस्तता अझ बढ्दो छ । पत्यार नलागे घर या परिवारभित्र नियालेर हेरौँ त साविकको भन्दा को व्यस्त छ ? को फुर्सदिलो?
एकवर्ष अगाडि कवि सिमा आभासले पोस्ट गरेको एउटा स्टाटस पढौँ –‘‘उहिल्यैका कुरा ः एउटी बुहारी बिरामी भइछन । मेलामा जान सकिनछिन । अनि बुहारीलाई घरमै राखेर अरु सबै मेला जाने भएछन । मेला जाँदै गर्दा बिरामी बुहारीलाई माया गर्दै भनेछन , “ बुहारी तिमी यसरी हतपत ढलि हाल्ने मान्छे हैना । अब केही दिन घरमै आराम गर । “ फेरि थपेछन , “ जातेर आएका गारुलाईबिहानबेलुका पुग्ने घाँस काट्नु । जुठा भाँडा गरेर पँधेराबाट तीन गाग्री पानी ल्याउनु । सामल तुल्याएर बेलुकालाई खाना बनाउनु । अरुकेही नगर्नु । “
यही स्टाटसबाट प्रस्ट भइन्छ घरभित्रको काम के हो ? भान्छाको काम , सरसफाइ, पुजाआजा , कपडा धुलाई लगायतका घरभित्रका सबै काम घरभित्रका काम हुन् । घरभित्रको काम कसको ? शीर्षक सुन्दा कतिपयलाई लाग्न सक्छ यो पनि कुनै प्रश्न हो ? कुनै छलफल गर्नुपर्ने या सोच विचारगर्नुपर्ने विषय हो र ! जरगजाहेर छदैँ छ नि घरभित्रको काम महिलाको हो । आइमाइको हो ।
क्लबहाउसमा बहस चलिरहेको थियो । शीर्षक थियो ’भान्छाको काम कसको ? ’ सुचना र प्रविधिको पहुँचमा रहेकादेशविदेशका युवा पुस्ता, विद्वान् वर्ग आदिले पालैपालों आफ्ना अभिव्यक्तिहरु , अनुभवहरु व्यक्त गरिरहेका थिए । अधिक वक्ताहरुको राउटै आसय रह्यो सिद्धान्तत भान्छाको काम महिला पुरुष दुवैको हो तर व्यवहारत अझैपनि आधुनिक समाजका नवपुस्ताले पनि भान्छाको काम गर्दा असहज महसूस हुने गरेको स्विकार गरे । अधिकांश महिलाहरुले मात्र भान्छाको काम गर्नुपरेको र गर्दैआएको व्यहोरामा सहमती जनाए ।
घरको काम त्यस्तो काम हो जुन कामलाई कामै मानिदैन । केही घण्टा निश्चित कुनै अफिसमा काम गरेर आउने एकाघरकी एउटीबुहारी कामकाजी ठानिन्छे भने सोही परिवारलाई बिहानदेखि बेलुकासम्म ढाड सोझो नपारी सबै आवश्यकता परिपूर्ति गर्ने अर्कीबुहारीलाई ’यिनले केही काम गर्दिनन् ’ भनेर भनिन्छ । हेयको दृष्टिले हेरिन्छ । न त कामको मुल्याङ्कन छ न त सम्मान ! छ त कहिल्यैनसकिने थकान । अझै जागिरे महिलाहरू दोहोरो चपेटामा छन् । घरको जिम्मेवारी एकातिर कार्यालयको जिम्मेवारी अर्कातिर परिवारको उचित सहयोग नपाएकै कारण कसैले जागिर नै छाडेका छन भने जागिर गर्नेहरु पनि मानसिक र शारीरिक रुपमा कमजोर भएको अवस्था छ । एकल परिवारका महिलाको आफ्नै पिडा छन् भने संयुक्त परिवारमा पनि बुहारी अफिसबाट आउछे र खाजा बनाउँछे भनेर बुहारीको बाटो हेरेरबसेको देखिन्छ । ‘मैले त खाना पकाएकै छैन ! लुगा कसरी धुनु ? छिमेकीले देखे के भन्लान् ? केटाकेटीलाई खुलाउने काम त आइमाइको पो हो त ! ’ श्रीमानहरूको यस्ता बेतुकका तर्क देखि निराश भएर भ्याइ नभ्याइ सबै काममा श्रीमतिहरू नै खटिरहेका हुन्छन् ।
‘आज त मेरो हजुरले यसो पकाउनु भो । यो काम गर्नु भो । ’ फेसबुकका भित्तामा फोटो सहित टाँसिएका यस्ता क्याप्सनले अचम्मलाग्छ । श्रीमान्ले कहिलेकाहीँ पकाएको खाजा नास्ता र धोएको श्रीमान्कै कपडालाई मेरो श्रीमान्ले गरेको सहयोग भनेर श्रीमतिहरुखुसी भैदिनुपर्ने बाध्यता छ ।
श्रीमतिहरू पनि श्रीमति हुनुपूर्व छोरी थिए । जन्मको आधारमा हेर्ने हो भने छोराछोरी उसैगरी जन्मने हो । जन्मजात झाडू पोछा बोकर छोरी जन्मेकी होइन । छोरीलाई टिपिकल छोरी बनाएर बुहारी र श्रीमतिका निम्ति तयार गरेको हाम्रो समाजले हो । युगौँदेखिग्रसित पितृसत्तात्मक सोचले हो । तर याद राखौं अबका छोरीहरु कथित छोरीमात्र भएर हुर्केका छैनन् ।
घरबाहिर जतिसुकै समता र समानताको कुरा गरेपनि असली परीक्षा दैनिक जीवनमा हुन्छ । व्यवहारमा हुन्छ । ‘मलाइ मिठो खान मनपर्छ पकाउन आउँदैन । मेरी श्रीमतिको हातमा जादु छ । मिठो पकाउँछिन् । महिलाहरू त मल्टीट्यालेन्टेड हुन्छन् । एकैचोटी धेरै काम गर्नसक्छन् । ’ यस्तै भनेर फुर्काएर महिलाहरुलाई घरेलु श्रमिक मात्र ठान्ने या फकाइ फुल्याई घरको काम महिलाको जिम्मामा मात्र छाड्ने विद्वान् वर्गका पुरुषहरु देखेर दुख लाग्छ । यसो होइनकी सबै पुरुषहरू असहयोगी छन् । केही पुरुषहरू पनि छन् जो सहयोगी छन् । श्रीमति हुन या घरका अन्य महिला सदस्यसबैलाई हरेक कार्यमा सहयोग गर्छन् । घरको काम होस् या श्रीमतिको करियर उनीहरू दरिलो खम्बा बनेर उभिदिन्छन् । तर तीपुरुषहरुलाई पनि समाजको भय हुन्छ । अरुले के भन्लान् ? कतै कथित जोइटिङ्ग्रे भइन्छ कि भनेर सावधानी भने अपनाइरहन्छन् ।
महिलामा भएको प्रजननको क्षमता महिलाको प्रगतिको बाधक बन्ने समय सकिदैँ छ । कार्यालयहरु महिलामैत्री बन्दै छन् । महिनावारी , गर्भाधान एवं प्रसव , यी सारा जैविक घटनाहरुले महिलाको क्षमतालाई ह्रास गरेर घरभित्र मात्र सिमित गर्ने समय सकिदैँ छ। गर्भ निरोधक साधन र रजस्वलाको रगत सोस्न प्याडहरु महिलाको प्रगतिको सारथी बनेका छन् । समयसँगै धेरै अवस्थामासकरात्मक परिवर्तन भएको छ । अब परिवर्तन हुने पालो तपाईं हाम्रो हो । घर कसको ? घरभित्र बस्ने परिवारका सबै सदस्यको । त्यसो भए घरभित्रको काम चाहीँ किन आमाको मात्र ? किन श्रीमतिको मात्र ? घरभित्र पनि सहकार्य गरौँ । स्वस्थ र खुशी परिवार बनाउन ठूला कुरा केहीँ चाहिंदैन । खुशीहरु स साना चिजमा लुकेका हुन्छन । जीवनको सबैभन्दा ठूलो सम्पत्ति परिवार हो । स्वस्थ परिवार समुन्नत जीवनको आधार हो । घरभित्र पनि सहकार्यको वातावरण सृजना गरेर खुशी बनौँ । खुशी बनाऔँ ।