अवस्थामा स्वास्थ्य र शरीरलाई एकै रुपमा बुझ्ने गरेको पनि पाइन्छ । वास्तवमा स्वास्थ्य र शरीर नितान्त पृथक पक्ष हुन् । कोष, तन्तु, अङ्ग र प्रणालीलाई समेटेर एउटा पूर्ण स्वरुप बनेको हाम्रो हाड र मांशपेशीको पिण्ड जे छ त्यो शरीर हो । शरीरको आकार प्रकार सबैको एकै प्रकारको हुँदैन तर यसको स्वरुप भने एउटै हुन्छ । पृथ्वीको जुनसुकै भूगोलमा बस्ने मानिसको पनि दुई आँखा हुनु एउटा उदाहरण हो भने होचो, अग्लो, मोटो, पातलो, गोरो, खैरो आदि विशेषताहरू भने वंशाणुगत गुण, वातावरण वा हावापानी र उसले उपभोग गर्ने खाद्यन्नले निर्धारण गर्छ । यसरी शरीरलाई एउटा आधारबिन्दु मानेर हेरेपछि मात्र स्वास्थ्यको कुरा आँउछ । सबै शरीर स्वस्थ हुन्छ भन्ने जरुरी छैन वा शरीर हँदैमा स्वस्थ छ भन्ने कुराको ठोकुवा गर्न पनि सकिदैन । अब कुरा रह्यो के हो त स्वस्थ शरीर । हाम्रो शरीरमा कुनै पनि किसिमको बाह्य दबाब, असर, रोगव्याधि वा असजिलोपना नहुनु नै स्वास्थ्य हो । हाम्रो शरीरमा भएका विभिन्न अङ्गहरुले आ–आफ्नो प्रकृतिअनुसार निर्वाधरुपमा काम गर्न गराउँन पाउनु नै स्वास्थ्यको अवस्था हो । अझ स्पष्टरुपमा भन्दा हामीले आनन्दको अनुभव गर्नु नै स्वास्थ्य हो । स्वास्थ्य र शरीर एक अर्काका अनन्य पक्ष हुन् । हामीले सम्पन्न गर्ने जति पनि कार्यहरू छन् ती सबै स्वस्थ शरीरका उपज हुन् ।
विश्व स्वास्थ्य संगठनले सन १९४६ मा परिभाषित गरेको स्वास्थ्यको विश्वव्यापी परिभाषा अहिले आएर आलोचना खेपिरहेको छ । सायद निकट भविष्यमा यो परिभाषा परिमार्जन हुने देखिन्छ । यसले खास गरी मानव स्वास्थ्यको तीन वटा आधारलाई प्रष्ट्याएको छ । शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य । शारीरिक स्वास्थ्यअन्तर्गत मान्छेको उचाइँ, तौल, शारीरिक वृद्धि विकास पर्दछन् भने मानसिक स्वास्थ्यअन्तर्गत मानिसको मस्तिष्कको सही प्रयोग, सोचबिचार, मनोविज्ञान, दृष्टिकोण आदि र सामाजिक स्वास्थ्यअन्तर्गत सामाजिक व्यवहार, इज्जत, मान सम्मान, दैनिकरुपमा सञ्चालन गरिने क्रियाकलाप र यसले पार्ने प्रभाव आदि पर्छन् । विश्वमा यी तीनै वटा पक्षलाई समेटेर अघि बढ्ने मान्छे सायदै भएकोले होला यो परिभाषा आलोचित भएको । उदाहरणको लागि कुनै पनि व्यक्ति शारीरिकरुपमा स्वस्थ होला तर सामाजिक काम व्यवहारमा धेरै गुनासाहरू छन् भने ऊ स्वस्थ व्यक्ति रहेन ।
अब हामी वर्तमान स्वास्थ्यका बारेमा चर्चा गरौँ । स्वभावैले कुनै व्यक्ति वाह्य समस्याबाट ग्रसित नभई पूर्णरुपमा शारीरिक तथा मानसिक तबरले आनन्दित भएर बाँच्न चाहन्छ जुन कुरा स्वाभाविक पनि हो । अहिले आएर विश्वव्यापीरुपमा दोश्रो र तेश्रो लहरमा फैलिएको कोरोनाको माहामारीले साह«ा मान्छे आक्रान्त छन् । हुन त यस भन्दा पहिले र यद्यपि अहिले पनि यो भन्दा बढी मृत्युदर भएका रोगहरू वा घटनाहरू अरु थुप्रै छन् । तर यस माहामारीले सिर्जना गराएको जुन अवस्था छ यसले संक्रमित मान्छे त स्वतस्फूर्तरुपमा पीडित छ नै साथै मृत्यु पनि भइरहेको छ जुन दुःखद पक्ष हो तर जो व्यक्ति यो रोगबाट सुरक्षित छ ऊ शारीरिकरुपमा स्वस्थ त होला तर मानसिकरुपबाट हेर्दा ऊ मरेर बाँचिरहेको अवस्था छ । वास्तवमा दिनले तीन वर्ष नपुगे पनि पात्रो अनुसार यसले तीन वर्ष खाइसक्यो र अझै कति वर्ष खाने हो यसको भविष्यवाणी गर्ने स्वास्थ्यकर्मी, बैज्ञानिक वा अरु कुनै पनि व्यक्ति प्रष्ट भएको देखिदैन । सरुवा रोग हो यो र यसको प्रकृति एकबाट अरुमा सर्नु हो । विडम्वना ! एउटै परिवारका सदस्यहरू जो सधैँ सँगै रहन्छन् उनीहरू कुनैमा संक्रमण देखिनु र कुनैमा नदेखिनुले शंका पनि उब्जाएको छ । होला यो शरीरको रोग प्रतिरोधात्मक क्षमताले पनि फरक पर्ला । शंकै शंकाको रोग हो यो । को स्पष्ट छ यसमा ? कोही पनि छैन । सबै पर्ख र हेरको सिद्धान्तमा अगाडि बढिरहेका छन् ।
अर्कोपट्टि मानब शरीर पनि एउटा यन्त्र न हो । यसले आफ्नो काम गर्ने गराउने क्रममा विभिन्न अङ्गहरूमा समस्या आउनु स्वाभाविक हो तर अवस्था यस्तो छ अहिले मानिस ती सब समस्याहरूलाई भित्रभित्रै दबाएर बस्न बाध्य छन् । फलस्वरुप कतिको त मृत्यु पनि भएको सुनिन्छ । कुनै पनि एउटा लक्षण देखापर्दा बित्तिकै मान्छेलाई तनाब सुरु हुन्छ । केही हदसम्म त ऊ जीवनको अन्तिम दिनको कल्पनासमेत गर्न पुग्छ किनभने राज्यले प्रदान गराएको स्वास्थ्य सुविधा थाहै छ । यी लक्षण कुनै नयाँ होइनन् जुन वषौँवर्षदेखि मान्छेले पचाउँदै आएका छन् र अहिले पनि नपचाएका होइनन् । अलिकति व्यक्ति वा मिडियाले पनि सचेतना अभिवृद्धि गरी सुरक्षित हुन सघाउनुको सट्टा चाहिने भन्दा बढी अफवाह फैलाएर त्रसित गराएको अवस्था पनि छ । सम्वन्धित पक्षले पनि वास्तविकतामा टेकेर सकारात्मक र आशालाग्दा कुराहरू प्रबाह गर्नु पर्ने हो । पीडित पक्षलाई सघाउनु, मानवीयता देखाउनु पर्ने अवस्थामा पराइको त कुरै छाडौँ आफ्नै रगतको नाता पर्नेलाई पनि तीन फिट वरैबाट हेरेर बस्नु पर्ने अवस्था छ । कस्तो अवस्था आयो यो । कतिसम्म झेलिरहने यो । सबैमा डर र त्रासको वातावरण व्याप्त छ । अघिपछि एउटा रोग परीक्षण गराउन जाँदा पाँच वटा रोग परीक्षणको रेफर गर्ने चिकित्सकहरू अहिले बिरामी आउदा भाग्छन् । तर यो सबैमा होइन । कतिपय स्वास्थ्यकर्मीहरू बिरामीलाई बचाउँदै गर्दा आफू नै मृत्युवरण गर्न पुगेका पनि छन् । वास्तवमा उनीहरू साक्षत भगवान् नै भएर अस्ताए । मृत्युपर्यन्त पनि पुजिइरहने छन् ।
राज्यका तर्फबाट गरिएको लकडाउन र निषेधाज्ञा पनि सर्वसाधारण नागरिकले पालना गर्नु नै प–यो । हप्तौ हप्ता र महिनौ महिना मान्छे घरभित्रै बसिरहदा कसरी जीवन चलिरहेको छ भन्ने कुरा सोचनीय छ । जो व्यक्ति आर्थिक रुपमा सम्पन्न छ उसले खाद्यान्न, अर्थलगायत अन्य जति पनि अत्यावस्यक वस्तुहरुको जोहो गरेको हुन सक्छ तर जो विपन्न वर्ग छ वा दैनिक ज्यालादारीमा आफ्नो जीवन चलाएको छ उसको अवस्था के होला ? हो, राज्यले राहतका नाममा केही सहुलिएत दिएको देखिन्छ तर त्यो कति कार्यान्वयन भयो त भन्ने कुरा अनुसन्धानको विषय छ अब । विभिन्न व्यक्ति, संघ–संस्था, अझ गैर सरकारी संघ–संस्थाले पनि आ–आफ्नो तर्फबाट सहयोग गरिरहेका छन् । यो सकारात्मक पक्ष हो । दुःख लाग्दो कुरा राहतमा, औषधिमा, खोपमा, विविध सामग्रीमा कमिसन, भ्रष्टाचार देखा पर्नुले सरकार नागरिकप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रष्ट छ । यस्तो विषम परिस्थितिमा मानवीयता देखाइ सक्दो सहयोग गर्नुको सट्टा केही सीमित यातायात व्यावसायी र अन्य व्यापारीहरुले फाइदा उठाइरहेको कुरा मिडियामा छ्याप्छ्याप्ती नआएका होइनन् । यो चरम् अत्याचारको पराकाष्ठा हो । मान्छेले मानवता बिर्सिएर कमाएको धनले एकदिन पछुतो पक्कै हुन्छ तर मान्छे क्षणिक फाइदामै रमायो । मतलव म पनि एकदिन खाली हात प्रकृतिको रीतअनुसार चल्नु पर्छ भन्ने कुरा बिस्र्यो ।
अहिलेको यस विषम परिस्थितिमा प्रायः ज्याला मजदूरी गर्ने, निजी व्यापार, विजिनेस गर्ने समूह पीडित देखिन्छ । मान्छेमा नैरास्यता पैदा हुन थाल्यो । आत्महत्या पनि बढ्न थाल्यो । भविष्य अन्योल देखिन थाल्यो । मूल्यवृद्धि आकासिदै गयो । आम्दानीका श्रोत घट्दै जान थाले । अबको चिन्ता कसरी बाँच्ने भन्दा पनि के खाएर बाँच्ने भन्ने हो । यस अवस्थामा सकारात्मक परामर्शको जरुरी छ । वर्तमानले भविष्य सुनिश्चित गर्छ भने झै अहिलेको राजनीतिक खिचातानीबाट नागरिकले गर्ने आशा के हो ? संकेत त्यति सहज देखिदैन । अबको समय भनेको राज्यस्तरबाटै आधारभूत कुराहरुमा ठोस नीति नियम तर्जुमा गर्ने र जनस्तरबाट त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न गराउन दबाब दिदै पार्टी, जात, धर्म, भूगोल नाताका अलावा समग्ररुपमा मानवीयता कायम गर्नु अपरिहार्य देखिन्छ ।