विकिपिडिया एक स्वतन्त्र विश्वकोशको नेपाली संस्करणमा रौतहट जिल्ला भनेर खोज्ने हो भने जिल्लाको नामकरण उपशीर्षकमा यसरी भनिएको पाइन्छ ः “१७६४ मा इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आक्रमण गर्दा पहाडमा हार खानु परेपछि तीन वर्षसम्म अङ्ग्रेजहरू रौतहटका समथर मैदानमा बसेका थिए सायद, यही बसाईँको क्रममा राउतहरूको घना छाप्रो÷झुप्रो बस्तीलाई अङ्ग्रेजहरूले च्बगत ज्गत अर्थात् राउत हट भने । राउतहरूको झुपडी अर्थ दिने यही शब्द अपभ्रंश भएर रौतहट नामकरण भएको हो ।”
यो दृष्टान्त त्यत्ति तथ्यपरक लाग्दैन । सनु १७६४ भन्दा पहिले नै यस क्षेत्रलाई जनमानसमा रौतहट भनिन थालिसकिएको थियो । पृथ्वीनारायण शाहले मकवानपुर एकीकरण गरेसँगै रौतहटदेखि महोत्तरीसम्मको समस्या समाधान गर्ने औपचारिक प्रयास नै भएको देखिन्छ । राउत शब्दबाट रौत बन्न गयो भन्ने कुरा त स्वाभाविक देखिन्छ तर यसैमा पछाडिबाट आधा अंग्रेजी शब्द हट जोडिएको भन्नु स्वाभाविक लाग्दैन । त्यो पनि त्यस जमानामा जतिखेर यस क्षेत्रमा अंग्रेजीको प्रचलन नै थिएन ।
जिल्ला प्रशासन कार्यालय, रौतहटको वेभसाइटमा जिल्लाको परिचयमा यसरी लेखिएको छ ः “यस जिल्लाका अधिकांश बासिन्दाहरू राउत, यादव र यहाँ धेरै हाट बजार, बस्ती, गाउँ रहेको हुँदा राउत र हाट शब्दको अपभं्रश भई रौतहट नामकरण भएको किंवदन्ती छ । राउत थर खास गरी यादवहरूले प्रयोग गर्ने गरेकाले बस्ती बढी भई निजहरूको थरको आधारमा नै रौतहटको नामकरण भएको देखिन्छ ।”
यसै गरी किरण निधि तिवारीले रौतहट–काठमाडौ सेवा समाजद्वारा २०७२ मा प्रकाशित सनेस स्मारिकामा रौतहट जिल्ला एक परिचय शीर्षक लेखमा रौतहटको नामकरण सन्दर्भमा यसरी लेखेका छन् ः “नारायणी अञ्चलअन्तर्गतको रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरू मिलेर बनेको देखिन्छ । राउत भन्नाले खास गरी यादव (ग्वाला) जातिको थरलाई जनाउँदछ र हट शब्दको अर्थ बजार (हाट) हुन्छ । रौतहट, राउत हाट शब्दबाट अपभ्रंश भएर बनेको हो । यस प्रकार रौतहटको अर्थ यादवहरूको बस्ती भएको गाउँ भन्ने बुझिन्छ । यस जिल्लामा विभिन्न जात जाति, धर्म सम्प्रदायको मानिसको बसोबास रहेको छ यद्यपि यादव जातिको बाहुल्य बसोबास रहेको पाइन्छ ।” २०७६ मा यही संस्थाद्वारा प्रकाशित सनेस २ मा रौतहट संक्षिप्त परिचय शीर्षक लेखमासमेत तिवारीले रौतहटको नामकरण सन्दर्भमा झन्डै यही भावलाई दोहो¥याएका छन् ।
स्पष्ट स्रोत उल्लेख नगरे पनि सनेस २ मा नै तिवारीले थप यसरी लेखेका छन् ः “… स्थानीय जिल्लाबासी श्री लक्ष्मीकान्त झाका अनुसार रौतहटमा राउत (यादव)हरूको संख्या बढी छ । त्यस्तै यहाँ हटबस्तीको संख्या पनि बाक्लै छ । यसकारण राउतहरूको बस्तीबाट रौतहट हुन गएको हो ।”
रामचन्द्र फुर्सदीले हेटौँडाको अभ्यास साप्ताहिक (वर्ष ३, अंक १६, २०६०, पृष्ठ ३) मा नारायणी अञ्चलका जिल्लाहरूको नामकरण शीर्षक लेखमा यसरी लेखेका छन् ः “रौतहटमा यादवहरूको सङ्ख्या अहिले पनि बढी छ । साथै यहाँ हाटहरूको सङ्ख्या पनि बढी छ । राउतहरूको हाटबाट राउत हाट हुँदै रौतहट नामकरण भयो भनी अनुमान लगाउन सकिन्छ ।”
अलिकति हाट शब्दबारे बुझौँ । हाट भनेको बजार हो भन्ने शब्दको प्रचलन नेपाली शब्दको विस्तार हुन थालेपछि मात्र भएको हो किनभने यस जिल्लाको कुनै पनि पुरानो बजारको नामको अगाडि वा पछाडि हाट वा हट जोडिएको पाइएको छैन । अर्को सन्दर्भ यदि सय वर्ष पुरानो बजार नै खोज्ने हो भने कति होलान् ? सदरमुकाम गौर आउनु केही समय पहिलेदेखि गौर बजार लाग्न थालेको हो । गौरभन्दा पहिले सदरमुकाम कट्टरवन थियो । जिल्लाको सबैभन्दा पुरानो बजार समनपुर हो । नेपाल एकीकरण भएको करिब अढाई सय वर्ष भएको छ, यति पुरानो समयमा यहाँ हाट बढी हुनु स्वाभाविक होइन । यसैसित जोडिएको अर्को तथ्य यो पनि हो कि राउतहरू व्यापारी जाति होइनन् । राउतहरू मुख्यतः पशुपालन र कृषि गर्ने देखिन्छन् । यी तथ्यहरूले राउतहरूसित बजारको अर्थमा हाटको सम्बन्ध स्वाभाविक होइन ।
शीतल गिरीले प्रसंगबस पुस्तक (रौतहटरश्मि प्रकाशन समूह, २०६३, पृष्ठ ६०) मा लेखेका छन् ः “पहिले पहिले यादवहरूलाई अहिर, गोआर÷ग्वारको साथसाथै राउत पनि भनिन्थ्यो । राउतहरूको बस्ती बढी भएकोले राउत बस्ती हुँदै रौतहट नामकरण भयो भनी अनुमान गर्न सकिन्छ ।” प्रागइतिहास विषयमा केन्द्रित रहेर साहित्य सिर्जना गर्ने गिरीको तर्क यादव जातिसित सम्बन्धित रहेको छ ।
राम रिझन यादवले ब्ल्याक आउट पुस्तक (प्रकाशक, लाल मधेश मासिक, काठमाडौं, प्रथम संस्करण, माघ, २०७३, पृष्ठ ६८) मा रौतहटका शहीद गौरका गहना शीर्षकमा यसरी उल्लेख गरेका छन् ः नेपालको रौतहट (बहुसंख्यक रूपमा रहेका यादव जातिले पहिले–पहिले आफ्नो थर राउत लेख्ने गरेकाले त्यसैबाट रौतहट हुन गएको) हो ।”
यो तर्क स्वाभाविक हो तर पूर्ण भने होइन किनभने सङ्ख्याको दृष्टिकोणले रौतहटको भूगोलभन्दा अन्य जिल्लामा राउतहरू बढी देखिन्छन् तर ती जिल्ला वा गाउँ ठाउँमा यसरी नामकरण गरिएको पाइन्न ।
वि.सं. ११५४ (सन् १०९७) मा तिरहुत राज्य स्थापना हुँदा यस क्षेत्रमा राउतहरूको बाहुल्य थियो । हातमा लाठी र टाउकोमा मुरेठा यादवहरूको पहिचान थिए । यादव लडाकु जातिमा गनिन्थे । धेरै परगानाको प्रधानमा यादवहरूलाई अधिकारी बनाइएको थियो र सुरक्षामा पनि भर्ना गरिएको थियो । तिरहुत राज्यमा राउतहरूको बाहुल्य मात्र नभएर राजकाजमा पनि व्यापक सहयोग थियो । वि.स. १३८१ (सन् १३२४) मा ग्यासुद्दीन तुगलकले आक्रमण गरी तिरहुतलाई ध्वस्त बनाएपछि धेरै मुस्लिम परिवार यस क्षेत्रमा बस्न थाले । यसभन्दा पहिलेदेखि नै उत्तर बिहारमा मुस्लिम समुदायको बसोबास हुन थालेको देखिन्छ । जब तुगलकले आक्रमण गरी ध्वस्त बनाए तब यस क्षेत्रका मुस्लिमहरूको मनोबल बढ्न गयो । तुगलकले आफ्ना एक मुस्लिम कारिन्दालाई केही मुस्लिम सेना दिएर यही राखी छोडी कामेश्वर ठक्कुरलाई प्रशासक बनाई दिल्ली फर्केपछि टाढा टाढाबाट पनि मुस्लिम समुदाय यस क्षेत्रमा बस्न थाले । मुस्लिम पक्ष विजेता पक्ष भएको र यादव पक्ष पराजित पक्ष भएको तथा सेनासमेत मुस्लिमको रहेकोले जहाँ मुस्लिम समुदायबाट डरको अवस्था हुन्थ्यो त्यहाँबाट यादव समुदाय पलायन हुन थाल्यो । अझ सन् १३४५ मा गंगाको उत्तरी क्षेत्र तत्कालीन उच्चकला (हालः हाजीपुर) मा हाजी इलियासले राज्य नै खडा गरेपछि बंगालतिरका मुस्लिमहरू पनि आए । सन् १३६५ शासन गरेका हाजी इलियासकै नामबाट हाजीपुर सहरको नाम रहन गएको हो भन्ने यथार्थ रहेको छ ।
मुस्लिम समुदायले भित्रभित्रै राउटलाई हटाएर बसेको क्षेत्र रौतहट हो । सन् १३२४ देखि सन् १३६५ सम्म राउतलाई हट भनिएको हो । राउत हट (राउत हटो) । राउतहरू हटेका पनि हुन् । यही राउत हट क्षेत्र कालान्तरमा रौतहट कहलिएको हो र जिल्लाको संरचनामा आउँदा राउत हट क्षेत्र रौतहट भएको हो । राउतलाई हट भनिएको र राउत हटेको क्षेत्र रौतहट भएको भन्ने तथ्य रौतहट जिल्लाको साहित्य सर्वेक्षण (वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवन, २०६४, अप्रकाशित शोधग्रन्थ) मा रामविश्वास साहले रौतहटको नामकरणको सन्दर्भमा लेखेका छन् ः “ … राउतहरूलाई हट भन्न थाले । राउतहरूलाई हट अर्थात भाग भनिएको क्षेत्र कालान्तरमा राउत हटबाट रौतहट कहलिन थाल्यो ।”
रौतहट परिचय नामक मेरो पुस्तिका (प्रकाशन, २०६६) मा पनि करिब यही तर्कलाई आधार मानेको छु ।
यसरी विभिन्न तथ्य र तर्कहरू हेर्दा राउतबाट रौतहट भएको भन्ने स्पष्ट हुन आउँछ । पहिले राउतलाई हटाइएको क्षेत्र रौतहट चिनिएको र पछि जिल्लाको संरचनामा आउँदा औपचारिक नामकरण भएको देखिन आउँछ ।