धेरै स्थानीय तहले नियमानुसार विहीवार नगर अधिवेशनमा बजेट पेश गरेका छन् । बजेट पेश गर्ने समयमा मन्तव्य व्यक्त गर्ने अधिांकांश वक्ताहरुले आफ्नो कार्यकालको अन्तिम बजेट भएको बताएका छन् । हुन पनि हो, यो अन्तिम बजेट हो अहिलेका स्थानीय सरकारका लागि, यदि समयमा स्थानीय तहको निर्वाचन भयो भने । यसकारण अहिलेको बजेट धेरै हदसम्म पहिले अपेक्षा गरिएअनुसार वितरणमुखी नै भएको देखिएको छ । वितरणमुखी बजेट हुनु भनेको बजेटको परिधिमा रहेर कसरी हुन्छ, मतदातालाई बढी प्रभावित पार्नु हो । अधिकांश पालिका सरकारले यही कुरालाई मध्यनजर गर्दै सम्भव भएसम्मको बजेट मतदाता लोभ्याउनलाई विनियोजन गरिएको देखिएको छ । अहिलेसम्म के पनि सुनिएको थियो भने बजेट एकातिर हुन्छ र कार्यान्वयन अर्कोतिर हुन्छ । बजेटको कार्यान्वयनमा सन्तुलन हुँदैनथ्यो । जुन बजेट प्रस्तुत गरिएको छ र जसरी अहिले भनिँदैछ कि अन्तिम बजेट हो, यसले धेरै हदसम्म प्रभावकारी कार्यान्वयनमा निर्भर रहन्छ कि सर्वसाधारणले कति सुविधा पाउन सके । बजेटमा सर्वसाधारणको पनि अधिकार हुन्छ भन्ने कुरो नबुझेका होइनन् स्थानीय सरकारहरुले । अहिले प्रस्तुत गरिएको धेरैतिरको बजेटको सार हेर्दा विगतका वर्षहरुभन्दा केही बढी जनमुखी भएर आएको छ । यसले गर्दा कार्यान्वयन बढी राम्रो हुन सक्यो भने बजेटले अपेक्षा गरेको प्रतिफल प्राप्त हुन्छ । धेरै ठाउँमा बजेट प्रस्तुत भइसकेपछि मन्तव्य व्यक्त गर्नेहरुले तथा बजेट सुनेर बुझ्नेहरुले दिएको प्रतिक्रिया यही हो कि बजेटले अभिव्यक्त गरेको मर्ममाथि कतैबाट प्रहार नहोओस् । बजेटको उचित कार्यान्वयन होओस् । यदि बजेटको इमानदारीपूर्ण कार्यान्व्यन हुन्छ भने सर्वसाधारणले स्थानीय सरकारको महत्व बुझ्न पाउने छन् व्यावहारिक रुपमा । हैनभने जुन बजेट आए पनि घोषणामा सीमित हुने आयो भने केही महत्व रहँदैन ।