उपेन्द्र गोले रौतहट । असार १६ गते
रौतहटका २ नगरपालिकाका नगर प्रमुखको पद पुनर्वाहली भएसँगै मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले बुधबार पुन पदभार ग्रहण गर्नु भएको छ । बुधबार एक कार्यक्रमका साथ साहले नगरपालिकाका कामकाज औपचारिक रुपमा सम्हाल्नु भएको छ । रौतहटको मौलापुर र कटहरिया नगरपालिकाका नगर प्रमुखले दल त्याग गरेको जनाउदै रौतहटका २ नगर प्रमुखसहित ७ जनाको पद रिक्त भएको निर्वाचन आयोगले गत असार ११ गते एक सुचनामार्फत जनाएको थियो । सोही अनुसार मंगलबार कटहरियाका उपप्रमुख नुरजहा खातुनले एक कार्यक्रमकाबिच कार्यावाहक प्रमुखको कार्यभार समेत सम्हाल्नु भएको थियो । तर सर्वोच्च अदालतले मंगलबार नै दुबै नगरपालिका मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहको पद पुनर्वाहाली गरि दिएको थियो । पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै रौतहटका दुबै नगर प्रमुखको पद पुनर्वाहाली भएको हो । न्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै नगर प्रमुख पदमा पुनर्वहाली गरिदिएको छ । आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी काम कारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ । नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा नगर प्रमुख साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । यसअघि पनि विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधि अन्तरिम आदेशबाट पुनर्वहाली भएका छन ।