प्रतिनिधिसभामा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन खोज्दा जनता समाजवादी पार्टी (जसपा) का दुवै खेमाले समर्थन गरेको छ । पहिलेदेखि नै देउपासित सहकार्य गर्दै आएको भटराई र यादव समूह तथा पहिलेदेखि पूर्णतया विरोधमा रहेको ठाकुर र महतो पक्ष गरी जसपाका दुई खेमाले नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । प्रधानमन्त्री देउवाले माननीय ठाकुरलाई विश्वासको मत दिन पत्र पठाएर औपचारिक रुपमा सहयोगको लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको ठाकुर पक्षको भनाइ रहेको छ । सम्माननीय प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सन्दर्भमा जसपा एकमत भएको छ । जसपाभित्र फेरि दुई खेमाको एकीकरणको संयोग मिल्न गएको हो त ? निर्वाचन आयोगमा दुई खेमाले आफ्नो आधिकारिकता दाबी गरिरहेका छन् । आयोगमा मुद्दा विचाराधीन रहेको छ । दुवै पक्षले आफूलाई आधिकारिक भनिरहेको सन्दर्भमा पहिलेदेखि नै केन्द्रीय समितिमा यादव पक्षको र संसदीय समितिमा ठाकुर पक्षको बहुमत रहेको मानिएकोमा सर्वोच्च अदालतको आदेशले शेरबहादुर देउवा प्रधामन्त्रीमा नियुक्त भएपछि जसपाभित्रको आन्तरिक सन्तुलनमा केही फेरबदल भएको हो । ठाकुर पक्षका केही साँसद फेरि यादव पक्षमा गएका छन् र केन्द्रीय समितिमा जस्तै संसदीय समितिमा पनि यादव पक्षको बहुमत भएको छ । अब जब दुवै खेमा वा समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका छन् र मधेसको माग र मुद्दाका सम्बन्धमा सरकारले समाधान गर्ने तथा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने जसपा दुई खेमामा नरहन पनि सक्दछ । अब जसपाभित्रको मतभेद विस्तारै मत्थर हुने र पार्टी विस्तारै एक भएर जाने अर्थात एकता हुने संकेत हो भनी विश्लेषण गरिन थालिएको छ । यद्यपि एउटै सरकारलाई एउटै दलले दुई किसिमले समर्थन गरेको र पार्टी विभाजनको विषय अगाडि बढिसकेको तथा दुई खेमालाई मिलाउन खोज्ने पक्ष त्यत्ति सशक्त भूमिकामा नदेखिएकाले एकताको सम्भावना अझै पनि सम्भावना नै रहेको विश्लेषण पनि रहेको छ । यद्यपि जसरी देउवा सरकारलाई समर्थन गर्न जुनसुकै रुपमा भए पनि पार्टीको मत एक ठाउँमा गएजस्तै मधेसी दलको पहिचान कायम राख्न जसपाको एकीकरण आवश्यक रहेको धेरैको बुझाइ रहेको छ ।