आरके श्रीवास्तव । राैतहट । श्रावण ०३ गते
राैतहट जिल्लामा एक जना हाकिमकाे चरम लापरबाहीका कारण बेराेजगारहरू समस्यामा परेका छन् । जिल्लाको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह कमिसनको चक्करमा परेका कारण विभिन्न शिर्षकको लाखौं रुपैया फ्रिज भएको छ । आर्थिक बर्षको अन्तमा अधिकृत साहले बढी कमिसन पाउने शिर्षककाे रकम निकासा गराउनमा ब्यस्त भएकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको ६७ लाख रुपैया फ्रिज भएको हो । उक्त कार्यक्रम अन्तर्गत कटहरियाको प्राय: सबै वडाहरुमा लाखौंको लगानीमा काम भैरहेको अवस्थामा शिर्षकको पुरै रकम फ्रिज हुनु दुर्भाग्य रहेको नगर प्रवक्ता चन्दन कुश्वाहाले बताएका छन । कटहरिया ४ मा मात्रै झन्डै ७ लाख बराबरको काम भएको छ,त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ वटै वडाका अध्यक्षहरुले आआफ्नो जिम्मामा उधारो काम गराएका छन । अषाढ मसान्तको अन्तिम दिनसम्म उक्त शिर्षकको रकम निकासा हुन नसकेर फ्रिज भएको कारण कटहरिया नगरका सबै जनप्रतिनिधि समस्यामा परेको प्रवक्ता कुश्वाहाले गुनासो गरेका छन । अन्य शिर्षकको नाउँमा बिल भाउचर बनाउनमै समय फालेका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहकै लापरबाहीको कारण प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गर्ने सैयौं मजदुर ठुलो कठिनाइमा परेको जनप्रतिनिधिहरुले आक्रोश व्यक्त गरेका छन । यस विषयमा हाकिम साह सँग प्रतिक्रिया लिन खाेज्दा सम्पर्क हुन सकेन् ।