नबिन यादव राजविराज साउन २२ गते ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा दुईवटा पुल निर्माण योजनामा लाखौं बजेट निकाशा भएपनि काम भने नभएको पाईएको छ । गाउँपालिकाको वडा ७ मंसापुरस्थित जिता खोला तथा वडा नम्बर ३ स्थित तिलाठी–सकरपुरामा झोलुङ्गे पुल निर्माण योजनामा कामै नगरी लाखौं बजेट निकाशा भएको हो । मंसापुरमा झोलुङ्गे पुल निर्माणका लागि कूल २९ लाख, १९ हजार, ७ सय ५६ रुपैया बजेट बिनियोजन गरिएकोमा कामै नगरी १६ लाख ३७ हजार पेस्की निकासा गरिएको पाईएको छ । यसैगरी वडा नम्बर ३ स्थित तिलाठी–सकरपुरामा झोलुङ्गे पुल निर्माण योजनाका लागि २ करोड ८२ लाख ८० हजार १ सय ५० बिनियोजन गरेकोमा ७० लाख निकासा गरेको पाएको छ कागतमा झोलुङ्गे पुल निर्माण गरि बजेट निकासा गरे पनि काम भने नभएको तिलाठी कोईलाडी गाउँपालिका ७ का बिनोद रामले जानकारी दिए । लाखौं बजेट निकासा भयो, उनले भने– काम भने फिटिक्कै भएको छैन । तिलाठी कोईलाडी गाउँपालिका ७ का सकलदेव खंगले पुल निर्माणमा बजेट आएको कुरा आफुलाई जानकारी नभएको बताए । उनले पुल निर्माण नहुँदा आवत जावतमा समस्या भएको बताउँदै पानीमा डुबेर खोला तर्नुपर्ने बाध्यता रहेको जानकारी दिए । यसैगरी तिलाठी–सकरपुरामा समेत पुल निर्माणको काम नभएको स्थानीयले बताएका छन् । झोलुङ्गे पुल निर्माण हुनेबारे सुन्नुमा आएको थियो एक स्थानीयले भने तर काम भने भएकै छैन । तिलाठी–सकरपुरामा पुल निर्माण कार्यका लागि उपभोक्त समिति निर्माण भएपनि काम भने नभएको उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र मुखियाले जानकारी दिए । पेस्कीबापतको बजेट निकासा गरी गाउँपालिकाले आफ्नै खातामा राखेको उनले जानकारी दिए ।तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले कोरोना महामारी तथा बाढीका कारण पुल निर्माण कार्य नभएको बताए । उनले उपभोक्ता समिति अन्तिम समयमा गठन भएकोले काम गर्न समस्या भएकोले छिट्टै पुल निर्माणको कार्य शुरु हुने बताए । सकरपुरामा उपभोक्तबाट काम नभएपछि टेन्डरद्वारा पुल निर्माण गर्ने तयारी भईरहेको अध्यक्ष सिंहले बताए ।