आईसीयूको पूरा नाम इन्टेन्सिभ केयर युनिट अर्थात् सघन उपचार कक्ष हो, यस वार्डमा गम्भीर खालका बिरामीलाई राखिन्छ । तर किन आईसीयूमै भन्ने कुरा भने आम मानिसलाई थाहा नहुन पनि सक्छ ।
यससँग सम्बन्धित विज्ञानलाई क्रिटिकल केयर मेडिसिन भनिन्छ। रक्तचाप कम भएर औषधि प्रयोग गनुपर्ने, मुटुको रोगी, निमोनिया भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थालगायत सिकिस्त बिरामीलाई आइसियूमा राख्ने गरिन्छ । नियमित रूपमा चिकित्सकको निगरानीमा राख्नुपर्ने बिरामीलाई आइसियूको आवश्यकता पर्छ ।
किनकि यस्ता रोगले विस्तारै शरीरका अन्य अंगमा पनि असर गर्न थाल्यो भने त्यो अंगले गर्नुपर्ने काम गर्न छोड्छ, जसलाई मेडिकल भाषामा अर्ग्यान फेल भनिन्छ । यस्तो भएमा बिरामी अझ सिकिस्त हुने जोखिम हुन्छ । त्यसैले जुन अंगले काम गर्न छोडेको छ, त्यसलाई मद्दत पुर्याउन उपकरण जडान गरेर आईसीयूमा राखेर उपचार गरिन्छ।
-सामान्यतया बिरामीको अवस्था हेरेर २४ देखि ७२ घन्टासम्म ९ अवलोकन समय० आइसियूमा राख्न सकिन्छ । हेमोडाइनामिक कन्डिसन अर्थात् सबै अंगले राम्रो काम गरेको अवस्थामा आइसियूबाट जनरल वार्डमा सार्न सकिन्छ ।
-शरीरका प्रमुख अंगः मुटु, फोक्सो, मिर्गौला, कलेजोमा गम्भीर समस्या भएमा आइसियूमा राखिन्छ । फोक्सोमा अक्सिजनको मात्रा कम भएमा बाह्य स्रोतबाट अक्सिजन प्रदान गरिन्छ । बिरामीलाई अवस्था हेरेर १२ देखि १४ लिटरसम्म दिन सकिन्छ । त्यति गर्दा पनि शरीरमा अक्सिजनको मात्रा कम भएमा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।
-मुटुको चालमा हुने गडबडी, टाउकोमा लागेको चोटको कारण होस गुमाउन सक्ने अवस्था भएमा, शरीरमा दुर्घटनाबाट लागेको चोट, शरीरबाट बढी रगत बगेमा वा प्रेसर नियन्त्रण नभएमा आईसीयूको आवश्यकता पर्छ ।
आइसियूमा राखिने बिरामी निको हुने सम्भावना एकदम कम हुन्छ भन्ने आमधारणा पनि छ । तर, यो गलत हो ।
जनरल वार्डमा किन यस्ता बिरामीको उपचार गर्न सकिंदैन ?
गम्भीर बिरामीलाई सेकेण्ड-सेकेण्डमा हेरबिचार गर्नुपर्ने हुन्छ । रोगअनुसार उपचार गर्नुपर्ने हुन्छ । अन्य रोगका बिरामीबाट टाढा राख्नुपर्ने हुन्छ । किनकि यसले गर्दा बिरामीको अवस्था अझ बिग्रिने वा संक्रमण हुने जोखिम हुन्छ । साथै बिरामीको हरेक क्रियाकलाप पनि निगरानी गर्नुपर्ने हुन्छ । यी सबै कुरा जनरल वार्डमा सम्भव नहुने भएकाले आईसीयूको आवश्यकता पर्छ ।
आईसीयूमा अक्सिजन स्याच्युरेसन, ब्लड प्रेसर, ईसीजीको सेकेण्ड-सेकेण्डको अवस्था निगरानी गरिएको हुन्छ, जुन जनरल वार्डमा सम्भव हुँदैन । जस्तै, कसैको शरीरमा अक्सिजन स्याच्युरेसन घट्यो भने तुरुन्तै अक्सिजन पूर्तिको लागि भेन्टिलेटरमा राख्न सकिन्छ । त्यस्तै ब्लड प्रेसर घट्दै गएको छ भने आइना ड्रक चलाउनुपर्ने हुन्छ । मुटुको चाल गडबडी, जसलाई सडेन्ट कार्डियक अरेस्ट जसमा मुटु अचानक र अप्रत्यासित रूपमा पम्प गर्न बन्द हुँदा हुन्छ । यस्तो भयो भने मस्तिष्क र अन्य अंगमा रक्त प्रवाह बन्द हुन्छ । त्यसैले गम्भीर बिरामीलाई आईसीयूमै राखेर उपचार गर्ने गरिन्छ ।