
काठमाडौँ, २५ बैशाख। भारतको बिहार प्रहरीले करिब तीन दशकदेखि भारत–नेपाल दुवै देशको प्रहरीका लागि टाउको दुखाइ बनेका एक अन्तर्राष्ट्रिय डकैतलाई पक्राउ गरेको छ। नेपालका कुख्यात अपराधी जयराम पासवानलाई बिहारको वैशाली जिल्लामा भएको एक डकैती घटनापछि पक्राउ गरिएको हो।
प्रहरीका अनुसार जयराम पासवान प्रत्येक ठूलो आपराधिक घटनापछि मलेसिया भाग्ने गर्थे। केही महिना त्यहाँ बसेपछि पुनः नेपाल फर्किएर भारत–नेपाल सीमावर्ती क्षेत्रमा नयाँ आपराधिक घटना गराउने उनको शैली रहेको खुलेको छ।
वैशाली प्रहरीले जयरामसँगै नेपाली नागरिक भोला साह र बिहारको शिवहर निवासी राजीव सिंहलाई समेत पक्राउ गरेको जनाएको छ। उनीहरुको साथबाट चोरीका दुई मोटरसाइकल र चार थान मोबाइल बरामद गरिएको प्रहरीले बताएको छ।
गत अप्रिल २० र २१ तारिखको राति वैशाली जिल्लाको महनार थाना क्षेत्रमा एक सुनचाँदी व्यवसायीको घरमा सशस्त्र डकैती भएको थियो। योजनाबद्ध रूपमा आएको समूहले लाखौँ रुपैयाँ बराबरको धनमाल लुटेर फरार भएपछि क्षेत्रभर त्रास फैलिएको थियो।
घटनापछि वैशाली प्रहरीले विशेष अनुसन्धान टोली ९क्क्ष्त्० गठन गरेको थियो। अनुसन्धानका क्रममा सर्वप्रथम शिवहरका अपराधी राजीव सिंह पक्राउ परेका थिए। उनको बयानका आधारमा प्रहरीले जयराम पासवान र भोला साहसम्म पुग्न सफल भएको जनाएको छ।
वैशालीका प्रहरी उपरीक्षक विक्रम सिहागका अनुसार उक्त डकैतीको योजना बिहारको बेतियामा आयोजित एक विवाह समारोहमा बनाइएको थियो। सोही कार्यक्रममा नेपाल र बिहारका अपराधीहरू भेला भएर डकैतीको रणनीति तय गरेका थिए।
प्रहरीले उक्त गिरोहमा नेपालका केही फरार अपराधीसमेत संलग्न रहेको दाबी गरेको छ। त्यसपछि समूहले ज्वेलरको घरको रेकी गरी योजनाबद्ध रूपमा डकैती गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरी अभिलेखअनुसार जयराम पासवानविरुद्ध बिहारका सीतामढी, मधुबनी, शिवहर र दरभंगा जिल्लासहित नेपालमा समेत डकैती, हतियार तथा विस्फोटकसम्बन्धी २४ वटा आपराधिक मुद्दा दर्ता छन्। पक्राउ परेका अर्का नेपाली नागरिक भोला साहविरुद्ध ११ वटा मुद्दा रहेको बताइएको छ।
प्रहरीका अनुसार जयराम पासवान पहिलो पटक पक्राउ परेका हुन्। लामो समयदेखि प्रहरीलाई चुनौती दिँदै आएका उनी निकै चलाख तरिकाले अपराध गर्दै फरार हुने गरेको अनुसन्धानबाट खुलेको छ।
यद्यपि डकैतीमा लुटिएको सम्पूर्ण सामान भने अझै बरामद हुन सकेको छैन। प्रहरीले गिरोहका मुख्य योजनाकार इदरीश नटसहित अन्य फरार अपराधीहरूको खोजी जारी रहेको जनाएको छ।
प्रहरीको दाबी अनुसार उक्त गिरोह भारत–नेपाल सीमा क्षेत्रमा सक्रिय ठूलो आपराधिक सञ्जालको रूपमा काम गर्दै आएको थियो। घटनाको सफल अनुसन्धानपछि वैशाली प्रहरीले एसआईटी, डीआईयू र महनार एसडीपीओ टोलीलाई प्रशंसा गर्दै संलग्न प्रहरी कर्मचारीलाई सम्मान गर्ने घोषणा गरेको भारतीय समाचार आजतकले उल्लेख गरेको छ। नेपाली डकैत भनिएका दुवैजनाको भारतीय प्रहरीले ठेगाना खुलाएको छैन्।
