रौतहट, १३ फागुन। रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट उम्मेदवार बनेका माधवकुमार नेपाल यतिखेर चुनावी मैदान तताउँदै मोटरसाइकलमै सवार भएर जनताको घरदैलोमा पुगेर मत माग्नमा व्यस्त रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सह–संयोजक समेत रहेका उम्मेदवार नेपालले आज बिहान गौर मा पार्टी कार्यकर्ता तथा स्थानीय बासिन्दालाई सम्बोधन गर्दै आफूले ‘अन्तिम पटक’ उम्मेदवारी दिएको उल्लेख गर्दै जित सुनिश्चित गराइदिन तारा छापमा मतदान गर्न आग्रह गरे ।
“यो मेरो अन्तिम चुनाव हुन सक्छ, त्यसैले जनताले मलाई विश्वास गरेर जिताउनुपर्छ,” उनले सम्बोधनका क्रममा भने । गौर पछि नेता नेपाल दुर्गा भगवती गाउँपालिका–भलोहिया गाँउमा मोटरसाइकल बाटै घरदैलो अभियानमा सक्रिय देखिए । उनी अधिकांश समय कार्यकर्तामाझ भेटघाट, छलफल र संगठन सुदृढीकरणमा खर्च गरिरहेका छन् ।
यसपटकको निर्वाचनमा नेपाललाई विगतको भन्दा कडा प्रतिस्पर्धा र चुनौतीको सामना गर्नुपरेको छ । स्थानीय तहमा बदलिएको राजनीतिक समीकरण, नयाँ दलहरूको सक्रियता र मतदाताको बदलिदो मनोविज्ञानले चुनावी समीकरण रोचक बनेको छ ।
यद्यपि, लामो राजनीतिक अनुभव, संगठनको आधार र विकासका एजेन्डालाई अघि सार्दै नेता नेपाल चुनावी मैदानमा मजबुत उपस्थितिका साथ अघि बढिरहेका छन् ।